। सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान गर्ने बताएका छन् ।
छिन्नतला गीत पुरस्कार गुठीद्वारा शनिबार आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा उनले विधेयकमार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका हुन् ।
‘विधेयकमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सूचीकरण, समुदायको सहभागिता, सङ्घ, प्रदेश, स्थानीय तहबीच समन्वय, अनुसन्धान, ‘डिजिटल’ अभिलेख तथा संरक्षण कार्यक्रम सञ्चालनका प्रावधान समावेश छन्,’ सभामुख अर्यालले भने ।
संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफलका क्रममा रहेको विधेयकमा सांस्कृतिक सम्पदाको व्यावसायिक प्रयोग गर्दा सम्बन्धित समुदायको हित संरक्षण, उल्लङ्घनमा कानुनी कारबाही र दण्ड जरिवानाको व्यवस्था गरिएको उनले स्पष्ट पारे ।
‘विधेयकले लोपोन्मुख सम्पदाको संरक्षण, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको सुदृढीकरण, युनेस्कोको सूचीकरणको आधार निर्माण तथा सांस्कृतिक पर्यटन सिर्जनाको उद्योग र रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ’, उनले भने । –रासस