मुख्य समाचार
एक वर्षमा निर्माण सम्पन्न हुनुपर्ने, ६ वर्षमा ६० प्रतिशत मात्रै काम
एक वर्षमा निर्माण सम्पन्न हुनुपर्ने, ६ वर्षमा ६० प्रतिशत मात्रै काम

। गुल्मी जिल्लाको इस्मा गाउँपालिका-५ स्थित कुखुरे खोलामा निर्माणाधीन पक्की पुल समयमै सम्पन्न हुन नसक्दा स्थानीय नागरिकले वर्षौंदेखि सास्ती खेपिरहेका छन् । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल निर्माण कार्य सम्झौता भएको करिब ६ वर्ष बितिसक्दा पनि ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

पुल निर्माणमा भएको चरम ढिलाइका कारण विशेषगरी वर्षायाममा स्थानीयवासीले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता कायमै छ । पुल निर्माण सम्पन्न नहुँदा इस्मा गाउँपालिका –५ र ६ का बासिन्दा मात्रै होइन, दैनिक रूपमा आवतजावत गर्ने सर्वसाधारण, किसान, विद्यार्थी तथा सवारी साधनसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

खोलामा पानीको बहाव बढ्ने बर्खायाममा जोखिम अझ बढ्ने गरेको स्थानीयको गुनासो छ । सडक पूर्वाधार विकास कार्यालय तम्घास, गुल्मीमार्फत निर्माण भइरहेको पुल निर्माणको जिम्मा अत्रेय–भुसाल–बस्नेत जेभी, काठमाडौंले लिएको हो ।

कार्यालयका सब–इन्जिनियर लेनिस देवका अनुसार पुलको लम्बाइ २५ मिटर रहेको छ भने यसको निर्माण लागत भ्याटबाहेक २ करोड ४३ लाख ३७ हजार ७०६ रुपैयाँ रहेको छ ।


पुल निर्माणका लागि २०७७ साल माघ २१ गते सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०७८ साल माघ १७ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो ।

तर निर्धारित समयमा काम पूरा हुन नसकेपछि निर्माण कम्पनीलाई पटक–पटक म्याद थप गरिएको छ । कार्यालयका अनुसार हालसम्म तीन पटक म्याद थप भइसकेको छ भने पछिल्लो पटक २०८१ साल असोज ३० गतेसम्म निर्माण सम्पन्न गर्ने गरी समय थपिएको थियो ।

त्यस अवधिसमेत बितिसक्दा पुल अझै पूर्ण रूपमा तयार हुन सकेको छैन । पुलको अहिले ढलान गर्नका लागि काम भइरहेको छ । यहि साउनको अन्तिसम्म ढलानको काम सम्पन्न हुने सब–इन्जिनियर लेनिस देवले बताए ।

निर्माण कम्पनीले पछिल्लो समय पुलको ढलानको तयारी थालेको भए पनि कामको गति अझै अपेक्षाकृत सुस्त रहेको स्थानीयको भनाइ छ ।

स्थानीयवासीका अनुसार पुल नहुँदा सबैभन्दा बढी समस्या वर्षायाममा हुने गरेको छ । खोलामा पानी बढेपछि मानिसहरू जोखिम मोलेरै खोला तर्न बाध्य हुन्छन् ।

कतिपय अवस्थामा विद्यार्थी विद्यालय जान नसक्ने, बिरामीलाई अस्पताल लैजान कठिन हुने तथा दैनिक उपभोग्य सामग्री ल्याउनसमेत समस्या हुने गरेको उनीहरूको अनुभव छ ।

इस्मा गाउँपालिका-६ का स्थानीय होमबहादुर महतले पुल समयमै नबन्दा वर्षायाममा कुखुरे खोला आउ-जाउ निकै कठिन हुने गरेको बताए । उनका अनुसार कुखुरे खोला बजार ग्रामीण क्षेत्रका नागरिकको प्रमुख व्यापारिक केन्द्र भएकाले दैनिक आवश्यक सामग्री खरिदका लागि धेरै मानिस यही बाटो प्रयोग गर्छन् ।

तर पुल नहुँदा खोला तर्नु नै सबैभन्दा ठूलो चुनौती बनेको छ । पुल बनेपछि कृषक, व्यापारी र सर्वसाधारण सबैलाई सहज हुने उनको विश्वास छ ।

कुखुरे खोलाका अर्का स्थानीय हिरा जिसीले वर्षौंदेखि पुल निर्माण कार्य कहिले अलपत्र पर्ने, कहिले अत्यन्त सुस्त गतिमा अघि बढ्ने अवस्थाले स्थानीय निराश बनेको बताए । उनका अनुसार पुल निर्माणस्थल इस्मा गाउँपालिका-५ मा रहे पनि यसको प्रत्यक्ष लाभ वडा नम्बर-६ सहित आसपासका धेरै गाउँका नागरिकले पाउने भएकाले यसको महत्व अत्यधिक छ ।

निर्माण कम्पनीले लामो समयसम्म पर्याप्त जनशक्ति र उपकरण परिचालन नगर्दा काम ढिलो भएको हो । निर्माण कार्य बीच–बीचमा रोकिँदा नागरिकले सरकार र निर्माण व्यवसायीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

उनीहरुले पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि उल्लेखनीय सुधार हुन नसकेको गुनासो गर्दै आएका छन् । सडक पूर्वाधार विकास कार्यालयले भने निर्माण कार्यलाई छिटो सम्पन्न गराउन निर्माण कम्पनीलाई निरन्तर ताकेता गर्दै आएको जनाएको छ ।

कार्यालयका अनुसार हाल पुलको ढलानको तयारी भइरहेको र बाँकी काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । विगतका अनुभवका आधारमा स्थानीयवासी भने अझै विश्वस्त हुन सकेका छैनन् ।

पटक-पटक म्याद थपिए पनि काम पूरा नभएकाले यसपटक पनि निर्धारित समयमा पुल सम्पन्न हुन्छ भन्नेमा उनीहरू आशावादी देखिँदैनन् । पुल जतिसक्दो छिटो सम्पन्न भए मात्रै वर्षौंदेखिको सास्ती अन्त्य हुनेछ र इस्मा–५ तथा ६ का हजारौं नागरिकले सुरक्षित र सहज आवतजावतको सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित टेलिकम नजिकबाट एसएलआरको ६ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं नक्साका ४३ वर्षीय विकास महर्जन छन् । उनलाई प्रहरी चौकी जोरपाटीले पक्राउ गरेको हो । ग्यास सिलिन्डर चोरीको आशंकामा उनको कोठा जाँच गर्ने क्रममा गोली भेटिएको प्रहरीले बताएको छ । प्रहरी वृत्त बौद्धमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको ...
। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक गरिने बताएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालय र आईओएमको आयोजनामा पाँचौं ‘नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले चर्को ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन् । उनले फ्रि भिसा, ...
। सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिसको कानुनी अधिकार दिने गरी कानुन बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । नेपालका पशु चिकित्सकहरू लामो समयदेखि पशु उपचार तथा पशु औषधि सिफारिस कार्यमा व्यवहारिक रूपमा संलग्न रहेपनि औषधि ऐन, २०३५ मा रहेको अस्पष्ट एवं त्रुटिपूर्ण व्यवस्थाका कारण उनीहरूले पशु औषधि सिफारिस गर्ने स्पष्ट कानुनी अधिकार प्राप्त गर्न ...
। वैदेशिक रोजगार विभागले ५ सय ९८ म्यानपावर व्यवसायीलाई कारबाही गरेपछि उनीहरू आक्रोशित बनेका छन् । अबको १५ दिनभित्र यसअघिका माग अनुसार श्रमिक पठाइसक्ने र त्यसपछि श्रमिक पठाउन बन्द गर्नेदेखि लिएर अन्य दबाबमूलक कार्यक्रम गर्ने चेतावनी उनीहरू दिएका छन् । भारतीय विमानस्थल हुँदै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै विभागले ५ सय ९८ म्यानपावर कम्पनीलाई कारबाही स्वरूप सचेत ...
। चितवनका ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई लालपुर्जा वितरण गरेको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम