। पुजारीले नै आफ्नो नाममा दर्ता गरेको विराटनगरको मुख्य बजारमा रहेको काली मन्दिरको अतिक्रमित जग्गा र भवन स्थानीय प्रशासनले खाली गराएको छ । उच्च अदालत विराटनगरको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले घरजग्गा बिहीबार खाली गरेको हो ।
विराटनगर मेनरोडस्थित मन्दिरको पश्चिमतर्फ रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन पुजारी केशवप्रसाद ढकालले आफ्नो नाममा दर्ता गरेका थिए । त्यसअघि जग्गा मन्दिरकै नाममा थियो ।
पुजारीको निधनपछि उनकी श्रीमती उमादेवीले उक्त जग्गा बिक्री गर्न खोजेपछि मन्दिर समिति अदालत गएको थियो । अदालतले जग्गा मन्दिरकै नाममा हुने फैसला गरेपछि फैसला कार्यान्वसनका लागि प्रशासनले भवन खाली गराएको सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपालका अनुसार अब उक्त भवनलाई मर्मत गरी ‘धर्मशाला’का रूपमा सञ्चालन गरिनेछ ।