: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा ढुङ्गा हानेर आफ्नो गन्तव्यमा पुग्न नसकिने बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्ने समेत बताए ।
उनले बीपीको विचार, संस्कार र उनको दर्शनलाई २१औं शताब्दीका युवाको भावनासँग एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने संकल्प लिनुपर्नेमा जोड दिए । उनले कांग्रेसका लागि सधैँ राजनीति मात्र नभई बालश्रम उन्मूलन गर्ने र हजारौं शिक्षक उत्पादन गर्ने जस्ता दूरगामी सामाजिक विषयहरू मुख्य प्राथमिकतामा हुनुपर्ने धारणा राखे ।
क्रान्तिका लागि प्राण आहुति दिने योद्धाका साथसाथै सामाजिक रूपान्तरण र सुशासनका लागि योग्य शिक्षक र नयाँ सोच आवश्यक रहेको उनको भनाइ छ । उनले बीपीको सिद्धान्त अनुसार अगाडि बढ्नका लागि गगन थापा नेतृत्वको सिङ्गो टिम नयाँ ढङ्ग, नयाँ सोच र नयाँ संकल्पका साथ लाग्न प्रतिबद्ध रहेको बताए । देश तथा विदेशमा रहेका सबैलाई नयाँ राजनीतिक र सामाजिक यात्रामा साथ दिन उनले आह्वान गरे ।