। यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्णरुपमा अनलाइनमार्फत् सुरु गरेको जनाएको छ ।
लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सम्बन्धी सबै काम अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ ।
अब लाइसेन्स बनाउँदा सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल बनाएको छ । सेवाग्रहीले अब आफ्नो प्रदेश अनुसारको वेबसाइटमा गई अनलाइन सेवा लिन सक्नेछन् ।
लाइसेन्सका सबै सेवा अनलाइनबाटै हुने भएपछि यातायात क्षेत्रको सेवा सहज, छिटो, पारदर्शी र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ ।
विभागका निर्देशक केशव खतिवडाका अनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरण स्वत: भर्न सक्नेछन् ।
शुरुआती समयमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीको हकमा सेवाग्राहीको हकमा साबिककै प्रक्रिया अनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत् नै राखिएको निर्देशक खतिवडाले बताए ।
पूर्णरुपमा अनलाइनमार्फत् काम हुने व्यवस्थाले सेवाग्राहीलाई फारम भर्न र राजस्व तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको विभागको भनाइ छ ।