। इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा नेपाल प्रिमियर लिग (एनपीएल) को पेजमार्फत अपलोड गरिएको एक भिडियोमा पिटरसनले नेपाललाई सुन्दर देश भन्दै एक दिन अवश्य भ्रमण गर्ने बताएका हुन् ।
‘तपाईंहरूको सुन्दर देश भ्रमण गर्न एक दिन अवश्य आउनेछु। नेपालबारे धेरै राम्रो कुरा सुनेको छु’ पिटरसनले भनेका छन् ।
वन्यजन्तु संरक्षणप्रति आफू निकै प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले विशेषगरी गैँडाप्रति आफ्नो प्रेम रहेको पनि बताएका छन् ।
‘तपाईंहरूलाई थाहा छ, म वन्यजन्तु संरक्षणप्रति कति प्रतिबद्ध छु र मलाई गैँडा कति मनपर्छ। एक दिन म नेपाल आउँदैछु, त्यो दिनको म प्रतीक्षामा छु’ उनले भनेका छन् ।
पिटरसन वन्यजन्तु संरक्षण अभियानमा सक्रिय रहँदै आएका छन् र विशेषगरी अफ्रिकामा गैँडा संरक्षणका लागि विभिन्न अभियानमा संलग्न हुँदै आएका छन् ।
केही दिनअघि मात्र पिटरसन आईसीसीको हल अफ फेममा पनि समावेश भएका थिए । उनी इंग्ल्यान्डका महान् क्रिकेटरमध्ये एक हुन् ।
एनपीएलको पेजबाट उक्त सन्देशसहितको भिडियो राखिएको हुँदा उनी एनपीएलका बेला आउन सक्ने सम्भावना देखिन्छ । यसअघि एनपीएलको पहिलो सिजनमा वेस्ट इन्डिजका महान् क्रिकेटर ब्रायन लारा नेपाल आएका थिए ।
यस्तै केही महिनाअघि इंग्ल्यान्डका अर्का क्रिकेटर एन्ड्र्यु फ्लिन्टफ पनि नेपालमा थिए । इंग्ल्यान्ड र नेपालबीच कीर्तिपुरमै टी-२०आई शृङ्खला हुने चर्चा पनि केही समय अघिदेखि भइरहेको छ ।