मुख्य समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ अघि बढाए
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ अघि बढाए

। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ अघि बढाएको छ ।

ऊर्जा मन्त्रालयले जलस्रोत विधेयकको मस्यौदामाथि सुझाव समेत मागेको थियो । जलस्रोत सम्बन्धी विद्यमान कानुन संशोधन तथा एकीकरण गर्ने उद्देश्यले तयार पारिएको उक्त विधेयकका केही प्रावधानले जलविद्युत् आयोजनाको लगानी जोखिममा पर्ने भन्दै निजी क्षेत्रका ऊर्जा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

यसअघि तयार पारिएको जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभा पुगेको थियो । तर, २ असार २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकमार्फत उक्त विधेयक फिर्ता लिने निर्णय सरकारले गरेको थियो ।

विधेयकको प्रारम्भिक मस्यौदा ३१ जेठ २०८१ मा तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संसद्मा दर्ता गराएका थिए । त्यसबेला विधेयकमा विदेशी स्वार्थसमेत जोडिएको आशंका सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका थिए ।

वर्तमान ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा मन्त्रालयले नयाँ मस्यौदा तयार गरी सर्वसाधारणबाट सुझाव संकलन गरिरहेको छ ।

ऊर्जा व्यवसायीका अनुसार विधेयकका दफा १५, १६, २३, ३० र ३१ लगायत प्रावधानले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटाउने र निजी क्षेत्रको लगानी जोखिममा पार्ने सम्भावना छ ।

आयोगको सहमति अनिवार्य

विधेयकको दफा १५ र १६ मा जलस्रोत उपयोगका लागि जल तथा ऊर्जा आयोगको भूमिका विस्तार गरिएको छ । संविधानले संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोत अधिकार बाँडफाँट गरे पनि विधेयकले अधिकार केन्द्रिकृत गर्ने प्रयास गरेको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको छ ।

दफा १५ मा जलस्रोत उपयोग सम्बन्धी मापदण्ड आयोगको सिफारिसमा नेपाल सरकारले तय गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै संघ, प्रदेश र स्थानीय तहका निकायले समेत जलस्रोत उपयोग गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

दफा १६ अनुसार नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आफ्नो क्षेत्राधिकार भित्र जलस्रोत उपयोग गर्न तथा अनुमति दिन सक्नेछन् । तर, सरकारी निकाय बाहेक कुनै व्यक्ति, संस्था वा कम्पनीलाई अनुमति दिनुअघि सम्बन्धित निकायले आयोगको सहमति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यद्यपि, स्यालो ट्युबवेल, घरेलु प्रयोजनका लागि जल उपयोग, घरेलु उद्योगका रूपमा पानीघट्ट सञ्चालन, धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि पानी प्रयोग, परम्परागत सामुदायिक खानेपानी तथा सिँचाइ प्रणाली र स्थानीयस्तरमा डुंगा सञ्चालनका लागि भने आयोगको सहमति आवश्यक नपर्ने उल्लेख गरिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) उपाध्यक्ष प्रकाश दुलालले यस्तो व्यवस्था व्यावहारिक नभएको र यसबाट संविधानले परिकल्पना गरेको संघीयताको मर्ममाथि प्रहार गरेको बताए ।

उनका अनुसार आयोगमा प्रदेश वा स्थानीय तहको प्रतिनिधित्व समेत नभएकाले यसले संघीय संरचनालाई कमजोर बनाउने जोखिम छ ।

१५ प्रतिशत बहाव कायम गर्नुपर्ने प्रस्ताव

विधेयकको दफा २३ मा जलस्रोत संरक्षण सम्बन्धी व्यवस्था गरिएको छ । यस अनुसार कुनै नदी वा खोलामा निर्माण गरिएको बाँधभन्दा तल्लो भागमा नदीको न्यूनतम बहावको कम्तीमा १५ प्रतिशत वा वातावरणीय अध्ययन प्रतिवेदनले सिफारिस गरेको बहावमध्ये जुन बढी हुन्छ, त्यति परिमाणको वातावरणीय जलप्रवाह वर्षभरि अविरल कायम गर्नुपर्ने प्रस्ताव छ ।

दुलालका अनुसार यो व्यवस्था लागु भए निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको उत्पादन क्षमतामा प्रत्यक्ष असर पर्ने छ ।

हाल अधिकांश आयोजनाले कुल पानीको १० प्रतिशत बहाव कायम गर्ने गरी प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) स्वीकृत गराएर सञ्चालनमा छन् ।

तर, नयाँ व्यवस्था लागु भए कम्तीमा १५ प्रतिशत वा वातावरणीय अध्ययनले सिफारिस गरेको बढी परिमाणको पानी बाह्रै महिना नदीमा छाड्नुपर्ने हुन्छ ।

यसले आयोजनाको उत्पादन क्षमता औसतमा पाँच प्रतिशतसम्म घट्न सक्ने दुलालको दाबी छ ।

‘पुरानो मापदण्ड अनुसार लगानी गरिसकेका आयोजनाको उत्पादन क्षमता पाँच प्रतिशत घट्नु भनेको ठूलो आर्थिक क्षति हो, यसले विद्युत् खरिद सम्झौता (पीपीए) र रोयल्टीमा समेत प्रत्यक्ष असर पार्छ,’ दुलालले भने ।

विधेयकमा अनुमति प्राप्त गरिसकेका वा निर्माण प्रक्रिया अघि बढाएका आयोजनाले समेत दुई वर्षभित्र आयोगसँग पुन: सहमति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

दुलालका अनुसार यसले विद्यमान पीपीए पुन: वार्ताको विषय बन्न सक्ने र आयोजनाको स्थापित क्षमता (इन्स्टल क्यापासिटी) समेत परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ, जसले लगानीकर्तामा थप अन्योल र त्रास पैदा गरेको छ ।

बाँध सुरक्षा सम्बन्धी व्यवस्थामा प्रश्न

विधेयकको दफा ३० र ३१ मा बाँधको वर्गीकरण र सुरक्षा सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ । दफा ३० अनुसार नेपाल सरकारले आयोगको सिफारिसमा बाँधको क्षमता, संरचना, डिजाइन तथा उद्देश्यका आधारमा वर्गीकरण गर्ने छ ।

दफा ३१ मा बाँधको सुरक्षा जिम्मेवारी नेपाल सरकारले लिने व्यवस्था गरिएको छ । साथै, बाँध सञ्चालकले आवश्यक ठाने सरकारसँग सुरक्षा व्यवस्था माग गर्न सक्ने र त्यस्तो सुरक्षा उपलब्ध गराउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित सञ्चालकले नै बेहोर्नुपर्ने प्रस्ताव छ ।

दुलालले सरकारबाट सुरक्षा सेवा लिने तर त्यसको सम्पूर्ण खर्च सञ्चालकले नै बेहोर्नुपर्ने व्यवस्थामा स्पष्टता आवश्यक रहेको बताए ।

‘यदि सरकारले सुरक्षा उपलब्ध गराउँछ र त्यसको खर्च सञ्चालकले नै बेहोर्ने हो भने सञ्चालकले सरकारसँग सुरक्षा किन माग गर्ने ? र, माग नगरेको अवस्थामा जिम्मेवारी कसको हुने ?,’ उनको प्रश्न छ ।

निजी क्षेत्रको सुधार माग

विधेयकले व्यक्तिगत तथा घरेलु प्रयोजन, पानीघट्ट र परम्परागत उपयोगका लागि आयोगको अनुमति आवश्यक नपर्ने व्यवस्था गरेको छ । तर, व्यावसायिक जलविद्युत् आयोजनाका लागि भने प्रक्रिया थप जटिल र खर्चिलो बनाइएको निजी क्षेत्रको बुझाइ छ ।

ऊर्जा व्यवसायीले विधेयकका विवादास्पद प्रावधानमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

दुलालका अनुसार विधेयक यथावत पारित भए जलविद्युत् क्षेत्रको विकासमा नकारात्मक असर पर्ने र निजी क्षेत्रको अर्बौं रुपैयाँ बराबर लगानी असुरक्षित बन्ने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। खैरो हेराइनसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलबारेकी इन्स्पेक्टर निकिता मिश्राको कमाण्डमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । रोशी गाउँपालिका–९ मंगलटारमा बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको कारमा सवार २० वर्षीया युवती रितु जैसीसहित पाँच जना पक्राउ परेका हुन्। जैसीले कम्मरमा बाँधेको ज्याकेटको गोजीबाट ६०.०६ ग्राम खैरो हेरोइन बरामद भएको ...
। नेपाली कांग्रेसले विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने विगतको परम्परालाई कांग्रेसले हटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागले गर्ने कार्यहरु गर्ने सभापति गगन थापाले जानकारी गराए । उपसभापति शर्मा नेतृत्वमा रहेको प्रतिष्ठानले विषयगत क्षेत्रहरु तोकेर उपसंयोजकहरु तोकेको छ । पार्टीले ...
। प्रतिनिधिसभामा रहेका दुई वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव राखेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारले जनताका सामान्य समस्यामा पनि ध्यान दिनुपर्ने आग्रह गरेकी छन् । प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले वर्तमान सरकारले १०० दिन पार गरेको स्मरण गरिन् । उनले भनिन्, ‘सरकार गठन भएको सय दिन पूरा भएको छ । सरकारले सुशासन र प्रभावकारी सार्वजनिक सेवामा ध्यान केन्द्रीत रहेको सन्देश दिन सफल भएको ...
। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता सङ्कटमा परेको समेत आरोप लगाइन् । उनले सरकार राष्ट्रिय हितका सवालमा गम्भीर रूपमा चुकेको र ...