। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे २५ असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई अल्टिमेटम (समयसीमा) दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मामार्फत पार्टी एकताबारे २५ असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई समयसीमा दिएका हुन् ।
नेता कोइरालालाई भेट्न उपसभापति शर्मा गत बिहीबार उनको निवास धापासी पुगेका थिए । बिहीबार बिहान भएको भेटमा नेता कोइरालाले उपसभापति शर्मालाई २५ असारभित्र स्पष्ट निर्णय गर्न समयसीमा दिएको स्रोतले जानकारी दिए ।
‘बिहीबार बिहान निवासमा उहाँहरूबीच भेट भएको थियो,’ कोइरालानिकट एक नेताले भने, ‘शेखर दाइले तपाईंहरू पार्टी मिलाउने कि नमिलाउने ? असार २५ सम्म निर्णय दिनुस् भन्नुभएको छ ।’
नेतृत्वले पार्टी एकता गर्न नचाहेको नेता कोइरालाको निष्कर्ष रहेको पनि दाबी गरे । ‘नेतृत्वमा रहेकाहरू पार्टी मिलाउने मानसिकतामा नरहेको भन्ने बुझाइ शेखर दाइको छ,’ स्रोतले भन्यो, ‘विश्वप्रकाशजीसँगको भेटबाट पनि उहाँ खुशी देखिनुभएको छैन ।’
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दुई नेताबीच बिहीबार बिहान धापासीस्थित निवासमा छलफल भएको पुष्टि गरे । तर, उनले भेटका क्रममा भएको छलफलबारे भने केही खुलाएनन् ।
उपसभापति शर्मासँगको छलफलपछि नेता कोइराला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगेका थिए । दुई नेताबीच बिहीबार बिहान छलफल भएको गल्फुटार स्रोतले पुष्टि गरेको छ ।
थपलियाका अनुसार खड्कासँगको भेट पछि नेता कोइरालाले बिहीबार नै नेताहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत र एनपी साउदसँग पछि छुट्टाछुट्टै छलफल गरेका थिए ।
नेता कोइराला शनिबार पूर्वउपसभापति विमलेन्द्र निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । दुई नेताबीच झण्डै एक घण्टा छलफल भएको निधिनिकट स्रोतले जानकारी दिएको छ ।
‘खड्का निवासमा शुक्रबार भएको छलफल, पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल भयो,’ स्रोतले भने, ‘संंघीयताबारे रास्वपा महाधिवेशनमा उठेको विषयमा पनि कुरा भयो ।’