। नेपाली कांग्रेसको संस्थापनइतर समूह(देउवा)ले १५ औं महाधिवेशन ‘एकता महाधिवेशन’ हुने सम्भावना क्षीण भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्ष पार्टीभित्र बृहत्तर एकता पनि अनिच्छुक देखिएको निष्कर्ष निकालेको हो ।
‘आज हामी जुन पोजिसनमा छौं, त्यहीँ पोजिसनमा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण हुँदैगएका छन्,’ बैठकपछि नेता मीनबहादुर विश्वकर्माले भने ।
उनले अझैँ पनि झिनो आशा भने कायम रहेको बताए । उनले भने, ‘हामी के पनि विश्वासमा छौं भने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा आफ्ना प्रस्ताव हुन्छन्, केही विमति हुन्छन्, केही विमतिभित्र सहमति पनि खोज्छौं, मलाई लाग्छ नेताहरू/साथीहरूले यी कुरालाई महशुस नमिलेका कुरालाई मिलाउनुहुन्छ । त्यसका लागि समय लाग्नसक्छ ।’
‘समय लाग्छ’ भनेरै आफूहरूले धैर्य गरेर अहिलेसम्म कुरेको उनले बताए । ‘तर, एक पक्षबाट सबै गतिविधि निरन्तर अगाडि बढिरहन्छन्, त्यसबाट अधिवेशन पनि गर्छ र त्यो अधिवेशनबाट धेरै साथीहरू मूलधारबाट बाहिरिने अवस्थामा पार्टी एकता गर्ने सम्भावना कमजोर हुँदैजान्छ,’ उनले भने ।
अर्का नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले भेटमा सबै कुरा भइहाल्छ भन्ने र व्यवहारमा त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्तिले पार्टीको बृहत्तर एकतामा समस्या देखिएको बताए ।
‘अहिलेको समीक्षा के हो भने उहाँहरू पार्टीको बृहत्तर एकता गर्न ईच्छुक हुनुहुन्छ भन्ने अहिलेसम्मको अनुभवमा रहेन । तर, दुई चार दिनमा पल्टी मारे बेग्लै कुरा हो,’ डा. महतले भने ।
तैपनि अझै प्रयास गर्नुपर्छ भन्ने थोरै राखेर भन्ने समीक्षा पनि भएको उनले बताए ।
यसविषयमा डा. शेखर कोइरालासँग पनि कुराकानी भइरहेको उनले बताए । उनले अगाडि भने, ‘उहाँ र हाम्रोबीच पनि एउटै विचार छ, यसविषयमा । फरक कुराहरू छैनन्, बटमलाइन एउटै छ ।’ कोइराला बैठकमा उपस्थित नभएपछि सल्लाह भइरहेको उनले दाबी गरे ।
अहिलेको मुलुकको जोखिमपूर्ण अवस्थामा आफ्नो पक्षले पार्टीको बृहत्तर एकता नै चाहेको उनले दाबी गरे । ‘जसको हातमा बागडोर छ, उहाँहरूले नै चाहनुभएन भने अवश्य पनि समस्या त आउँछ नै । उहाँहरू मान्छेपिच्छे फरक–फरक कुरा गर्ने देखियो,’ उनले भने,‘उहाँहरू नै ठूलो पार्टी भन्दा पनि आफू अनुकुलको पार्टी चाहेको देखियो ।’