। अमेरिका र इरानबीच अप्रिलमा सुरु भएको वार्ताका क्रममा इजरायलले इरानका विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफलाई निशाना बनाउन सक्ने अमेरिकालाई डर थियो। यसै कारणले गर्दा अमेरिकाले मध्यपूर्वका केही सहयोगी राष्ट्रहरूमार्फत तेहरानलाई सतर्क रहन सन्देश पठाएको थियो।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, यदि यी दुवै वार्ताकारको हत्या भएमा युद्धविराम र शान्ति प्रक्रिया भङ्ग हुने अमेरिकालाई डर थियो। त्यस समय ट्रम्प प्रशासन होर्मुज स्ट्रेट खोल्ने र इरानको आणविक कार्यक्रममा सम्झौता गर्ने प्रयास गरिरहेको थियो।
रिपोर्टका अनुसार, पाकिस्तानमा हुने एक बैठकअघि पनि इरानमाथि आक्रमणको खतरा थियो। त्यसैकारण पाकिस्तानले इरानी प्रतिनिधिमण्डलको विमानलाई लडाकु विमानको सुरक्षा घेरामा इस्लामाबादसम्म पुर्याएको थियो।
फर्किने क्रममा पनि सुरक्षा अलर्ट प्राप्त भएपछि विमानलाई मशहदमा आपत्कालीन अवतरण गराइएको थियो र प्रतिनिधिमण्डल सडक मार्ग हुँदै तेहरान पुगेको थियो।
वासिङ्गटन पोस्टमा प्रकाशित एक सामग्रीका अनुसार, ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्न र होर्मुज जलसन्धि पुनः खोल्नका लागि उच्च जोखिमपूर्ण सम्झौताको प्रयास गरिरहँदा इजरायलले इरानका शीर्ष वार्ताकारहरूको हत्या गर्ने योजना बनाएको कुरामा वरिष्ठ अमेरिकी अधिकारीहरूले चिन्ता व्यक्त गरेका यस विषयका जानकार वर्तमान र पूर्व अधिकारीहरूले बताए।
इरानका विदेशमन्त्री अब्बास अराघची र सभामुख मोहम्मद बाकर गालिबाफको हत्या गर्ने कुरामा वासिङ्टनको आपत्ति यति तीव्र थियो कि यसै वसन्त ऋतुमा उसले मध्यस्थकर्ताहरूमार्फत इरानलाई इजरायलको हत्याको उद्देश्यबारे चेतावनी दिने असाधारण कदम उठाएको ती अधिकारीहरूले बताएका छन् ।
‘तपाईंले ती मानिसहरूलाई मार्नुभयो भने तपाईंले व्यवहारवादीहरूलाई मार्दै हुनुहुन्छ,’ एक अमेरिकी अधिकारीले भने । ती अधिकारीले इजरायलको लक्षित हत्या अभियानप्रतिको अमेरिकी दृष्टिकोणबारे कुरा गर्न अरूहरूले जस्तै नाम नबताउने सर्त राखेका थिए।
इरानले इजरायलमाथि आफ्ना सर्वोच्च नेता मोजतबा खामेनीलाई धम्की दिएको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघमा उजुरी दर्ता गराएको छ।
अमेरिकी अधिकारीहरूले थप कदम चाल्दै इरानलाई आफ्ना शीर्ष वार्ताकारहरू मारिन सक्ने चेतावनी दिने आवश्यकता महसुस गर्नुले अमेरिका-इजरायल सम्बन्धमा रहेको तनाव र इजरायली सरकारमाथि ट्रम्प प्रशासनको सीमित प्रभावलाई देखाउने विश्लेषकहरूले बताएका छन् ।
‘यसले अमेरिका र इजरायलबीच युद्धको उद्देश्यमा रहेको भिन्नतालाई र अमेरिकाले गर्न सक्ने कुनै पनि वार्तालाई विफल पार्ने इजरायली प्रधानमन्त्रीको आधारभूत दृढतालाई देखाउँछ,’ रिपब्लिकन र डेमोक्रेटिक दुवै प्रशासनलाई सल्लाह दिइसकेका अमेरिकी विदेश मन्त्रालयका पूर्व अधिकारी आरोन डेभिड मिलरलाई उद्धृत गर्दै वासिङ्गटनपोस्टले लेखेको छ ।
यसबारे वासिङ्गटनपोस्टले ह्वाइट हाउससँग प्रतिक्रिया माग्दा एक अमेरिकी अधिकारीले भने, ‘राष्ट्रपति शान्ति प्रक्रिया अघि बढोस् भन्ने चाहन्छन्।’
राष्ट्रसंघमा इरानको उजुरी
यसैबीच, इरानले इजरायलमाथि आफ्ना सर्वोच्च नेता मोजतबा खामेनीलाई धम्की दिएको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघमा उजुरी दर्ता गराएको छ।
इजरायलले इरानका सर्वोच्च नेता मोजतबा खामेनीलाई ज्यान मार्ने धम्की दिएपछि देशमा आणविक नीति परिवर्तन गर्नुपर्ने माग उठेको छ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजाईले वर्तमान परिस्थितिमा इरानले आफ्नो आणविक नीति र अमेरिकासँग भएको समझदारी पत्रका सर्तहरूको समीक्षा गर्नुपर्ने बताए।
रेजाईका अनुसार सम्झौताको धारा-८ अन्तर्गत इरानले आणविक हतियार नबनाउने वाचा गरेको थियो। तर इजरायलको पछिल्लो धम्कीपछि यस नीतिमाथि पुनर्विचार गर्ने समय आएको छ।
यसैबीच, इरानले खामेनीको अन्त्येष्टिअघि सेनाको तैनाथी बढाएको छ। उक्त कार्यक्रममा ३० देशका प्रतिनिधि र करिब २ करोड मानिस सहभागी हुने बताइएको छ।
खामेनीको बिदाइ समारोहका क्रममा उनको ताबुतमा मशहदस्थित इमाम रजा दरगाहको रातो झन्डा राखिएको थियो। यो झन्डालाई शिया परम्परामा शहादत, बलिदान र अन्यायविरुद्धको सङ्घर्षको प्रतीक मानिन्छ।
विज्ञहरूका अनुसार, यो प्रतीक करबलामा भएको इमाम हुसेनको शहादतसँग जोडिएको छ। इरानी नेतृत्वले खामेनीको मृत्युलाई पनि त्यस्तै शहादतको रूपमा प्रस्तुत गरिरहेको छ। खामेनीको अन्त्येष्टि ९ जुलाईमा मशहदस्थित इमाम रजा दरगाह परिसरमा गरिनेछ।
युद्धपछि पहिलोपटक देखिए आईआरजीसी कार्यवाहक कमाण्डर
युद्ध सुरु भएपछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कार्यवाहक कमाण्डर अहमद वाहिदी पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन्। उनी बिहीबार साँझ तेहरानमा पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई श्रद्धाञ्जली दिन पुगेका थिए।
खामेनीको ताबुतलाई दक्षिणी तेहरानस्थित इमाम खोमेनी हुसेनियानजिकैको समारोह स्थलमा ल्याइएको थियो, जहाँ अहमद वाहिदीसहित धेरै वरिष्ठ इरानी अधिकारीहरूले उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
अहमद वाहिदीले बिहीबार साँझ तेहरानमा पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई श्रद्धाञ्जली दिए।
(एजेन्सीहरूको सहयोगमा)