मुख्य समाचार
पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन
पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन

: पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने हजारौं यात्रुका लागि सडक किनारका होटल केवल खाना खाने ठाउँमात्र होइनन्, लामो यात्राको थकान मेट्ने भरोसाको विश्रामस्थल पनि हुन्। बिहानको तातो चिया दिउँसोको खाना वा रातको बाससँगै यात्रुले सुरक्षित, स्वच्छ र गुणस्तरीय भोजनको अपेक्षा गरेका हुन्छन्। तर धादिङ खण्डमा गरिएको एउटा आकस्मिक अनुगमनले त्यो विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ।

जिल्ला अनुगमन समितिले पृथ्वी राजमार्गअन्तर्गत सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूमा गरेको अनुगमनका क्रममा कतै बासी खाना बिक्रीका लागि राखिएको भेटियो कतै खानामै किरा परेको थियो। केही होटलमा कुहिएका तरकारी पकाउन तयारी अवस्थामा थिए भने म्याद नाघेका खाद्य सामग्री भण्डारण गरिएको पाइयो। अझ फोहोर र अस्वच्छ भान्सामा खाना पकाइँदै गरेको अवस्था देखिएपछि पाँच होटल तथा व्यवसायलाई कुल १ लाख १० हजार रुपैयाँ जरिबाना गरिएको छ।

कारबाहीमा गजुरी गाउँपालिका–२ बिहानी पम्प क्षेत्रका मन्दिरा होटल एन्ड रेस्टुरेन्ट र शुभलक्ष्मी होटल एन्ड रेस्टुरेन्ट, थाक्रे गाउँपालिका–७ सातकिलोस्थित दिव्यांशी होटल एन्ड लज, गल्छीको गल्छी खुवा पसललाई जनही २५ हजार रुपैयाँ जरिबाना गरिएको छ। त्यसैगरी धुनीबेंसी नगरपालिका–९ नौबिसेस्थित थकाली होटललाई १० हजार रुपैयाँ जरिबाना गरिएको छ।



स्वास्थ्यकर्मीका अनुसार खाद्यजन्य रोग फैलिनुको प्रमुख कारण अस्वच्छ भोजन, गलत भण्डारण र सरसफाइमा हुने लापरबाही हो। विशेषगरी वर्षायाममा तापक्रम र आद्रताका कारण खाना छिट्टै बिग्रिने भएकाले होटल व्यवसायीले खाद्य सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता अझ बढेको छ।

यात्रुले खाने प्रत्येक परिकार प्रत्यक्ष रूपमा उनीहरूको स्वास्थ्यसँग जोडिने भएकाले सानो लापरबाहीले पनि ठूलो जोखिम निम्त्याउन सक्छ। पछिल्लो समय पृथ्वी राजमार्गमा यात्रुको चाप बढेसँगै सडक किनारका होटलको सेवा, सरसफाइ र खाद्य गुणस्तरबारे गुनासा पनि बढिरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला अनुगमन समितिले आकस्मिक अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

यसले व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्ने उद्देश्य बोकेको छ। अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम, प्रहरी उपरीक्षक सुमित खड्का, अनुसन्धान कार्यालय प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशु सेवा कार्यालय प्रमुख डाक्टर बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चूडामणि पुरी तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराईलगायतको सहभागिता रहेको थियो।

जिल्ला प्रशासनले खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र भण्डारण व्यवस्थामा लापरबाही गर्ने व्यवसायमाथि आगामी दिनमा पनि नियमित अनुगमन र कडा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। यो अनुगमनले एउटा सन्देश स्पष्ट दिएको छ राजमार्गमा यात्रुको स्वास्थ्यभन्दा ठूलो कुनै व्यापार हुन सक्दैन। सुरक्षित भोजन उपभोक्ताको अधिकार हो र त्यसको सुनिश्चितता राज्य तथा व्यवसायी दुवैको साझा जिम्मेवारी हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गोरखामा गोरखा दरबारभन्दा पुरानो(मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका-१० छेपेटारमा पुरातत्व विभागले दुईवर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो। भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद यमुना महर्जनले जानकारी दिइन्। इँटाको आकार तथा बनोट, मन्दिरको छानेशैली, घेराबार ...
— आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनका लागि सरकारले छुट्टै शक्तिशाली ‘आर्थिक अपराधविरुद्धको प्राधिकरण’ गठन गर्ने भएको छ । आर्थिक अपराधका मुद्दामा प्रभावकारी अनुसन्धान होस् भनेर एक वर्षभित्र अख्तियार जस्तै छुट्टै प्राधिकरण गठन गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए । प्रतिनिधिसभा बैठकमा बिहीबार सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक २०८३ उपर सांसदले उठाएका प्रश्नको उत्तर दिने क्रममा ...
: महोत्तरी प्रहरीले पक्राउ गरिएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत जलेश्वरमा पेस गर्दैछ । बिहीवार गौशालाबाट पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउन लागिएको महोत्तरीको प्रहरी प्रवक्ता एव डीएसपी पन्चलाल गोलेले जनाए । अदालतको आदेश लगतै कोइरीलाइ कारागार पठाइने छ । स्रोतका अनुसार उनलाइ जलेश्वर कारागार पठाउने तयारी छ । तर, प्रहरीले यसलाई ...
— कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको ...
— रास्वपाले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेपछि मधेशकेन्द्रित दलहरू अहमति राखेका छन् । उनीहरूले औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको धारणा माग गरेका छन् । संघीयताका लागि मधेश तराईमा ठूला आन्दोलन गरेका दलहरूले आपत्ति जनाउँदै रास्वपाको त्यो प्रस्ताव स्थगित गर्न आग्रह गरेका छन् । सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा ...