— कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको गाडी बिहीबार बिहान ११:३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ दैलेखको साङ्गेतडास्थित कर्णाली नदीमा खसेको थियो ।
दुर्घटनास्थलबाट एक जना पुरुषको शव निकालिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए । उद्धारका सामग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्ति संयुक्त रूपमा घटनास्थलमा खटिएको उनले बताए ।
प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट यतातर्फ हिँडिसकेको छ । सुर्खेत बसपार्कबाट बिहान ८ बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने यकीन नभएको उनले बताए ।
उनका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ । गाडी डुबेको स्थान प्रहरीचौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ । भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।