: आफूहरुले सदनमा निरन्तर उठाएका बिषयमा सरकार गम्भीर नभएको भन्दै बिपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै बिपक्षी सांसदहरुले आफूहरुले यसअघि उठाएका सीमा लगायतका अन्य बिषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् ।
बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले कांग्रेस सांसद खडकबहादुर वुढालाई बोल्न समय दिएका थिए ।
सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए । राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको कुरा बाहिर आएको भन्दै उनले यसको निष्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे ।
उनले पहिलेको सम्झौता खारेज गरेर पुरानै कम्पनीलाई बढी मूल्यमा काम दिनका लागि चलखेल भइरहेको समेत आरोप लगाए । संविधानले अख्तियारलाई शक्तिशाली र स्वतन्त्र संवैधानिक निकायको रूपमा परिकल्पना गरेको भन्दै उनले यसमाथि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप भए निष्पक्ष छानबिन नहुने उल्लेख गरे । त्यस्तै अन्य बिपक्षी सांसदहरुले पनि आफूहरुले उठाएका बिषयमा सरकार गम्भीर नभएको बताएका थिए ।