मुख्य समाचार
मोरङको लेटाङ नगरपालिकाका पूर्व वडाध्यक्ष रामकुमार श्रेष्ठ अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा मुछिएका छन्
मोरङको लेटाङ नगरपालिकाका पूर्व वडाध्यक्ष रामकुमार श्रेष्ठ अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा मुछिएका छन्

: मोरङको लेटाङ नगरपालिकाका पूर्व वडाध्यक्ष रामकुमार श्रेष्ठ अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा मुछिएका छन् । उनीविरुद्ध मिटरब्याजको उजुरी परेको छ ।

उजुरी परेको सुइँको पाउन साथ उनी प्रहरीको सम्पर्क बाहिर रहेका छन् । उजुरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला फरार भएपछि प्रहरीले रामकुमारको खोजी गरिरहेको छ । उनी लेटाङ नगरपालिका–४ का तत्कालीन वडाध्यक्ष हुन् । उनीविरुद्ध ‘हेलो सरकार’ मा अनुचित लेनदेनसम्बन्धी उजुरी परेको थियो । उक्त उजुरी जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै अनुसन्धानका लागि नेपाल प्रहरी समक्ष पुगेको छ । त्यसपछि प्रारम्भिक अनुसन्धानका लागि रामकुमारलाई सम्पर्क गर्न खोजिए पनि उनी उपस्थित नभएपछि खोजी सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।

स्थानीयका अनुसार रामकुमार लामो समयदेखि अत्यधिक चर्को ब्याजदरमा अनौपचारिक रूपमा ऋण प्रवाह गर्ने कार्यमा संलग्न थिए । उनीमाथि सर्वसाधारणलाई ऋणको जालोमा पारेर निरन्तर ब्याज असुल्ने, ऋणीमाथि आर्थिक तथा मानसिक दबाब सिर्जना गर्ने, जालसाजीपूर्ण कागजात तयार गराउने, सम्पत्ति हडप्ने प्रयास गर्ने तथा विभिन्न किसिमका धम्की दिने आरोप लागेको छ । स्थानीयका अनुसार रामकुमारको मिटरब्याज धन्दाबाट धेरै परिवार आर्थिक संकटमा परेका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्ष निर्वाचित भएका रामकुमार पछि हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए । पार्टी परिवर्तन गरेपछि एमालेले उनीमाथि कारबाही गरेको थियो । त्यसपछि उनको जनप्रतिनिधिको पद समेत गुमेको हो । उनलाई साम्पाङ आफैंले पार्टी प्रवेश गराएका हुन् । रामकुमारलाई आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा श्रम संस्कृति पार्टीबाट लेटाङ नगरपालिकामा मेयरको उम्मेदवार बनाउने आन्तरिक समझदारी रहेको स्रोतले बतायो ।

प्रहरी स्रोतका अनुसार केही दिनअघि प्रहरी कार्यालयमा उपस्थित हुन मौखिक जानकारी गराइएको थियो । तर, त्यस लगत्तै उनी सम्पर्क बाहिर गएको र मोबाइल समेत बन्द रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह नेतृत्वको टोलीले सम्भावित स्थानहरूमा खोजी जारी राखेको भए पनि हालसम्म रामकुमार फेला परेका छैनन् ।

प्रहरीका अनुसार रामकुमार फेला नपरेका कारण उजुरीमा उल्लेख गरिएको आरोपका बारेमा स्पष्ट हुन सकेको छैन । सम्पर्कविहीन रहेकाले उनीसँग सोधपुछ गरेर तथ्य पुष्टि गर्ने प्रक्रिया समेत अघि बढ्न सकेको छैन । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार आरोपको प्रकृति, आर्थिक कारोबार र सम्बन्धित कागजातका बारेमा रामकुमारकै भनाइ आवश्यक रहेकाले सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ ।

यता परिवारले भने रामकुमार फरार नभएको दाबी गरेको छ । रामकुमारकी पत्नी विष्णु तामाङ श्रेष्ठका अनुसार उनी दमक जाने भन्दै सोमबार घरबाट निस्किएका थिए । त्यसयता मोबाइल बन्द रहेकाले सम्पर्क हुन नसकेको र परिवार समेत अन्योलमा रहेको उनको भनाइ छ । विष्णुले आफूलाई पति कुनै मिटरब्याज कारोबारमा संलग्न रहेको जानकारी नभएको बताउँदै आरोप पुष्टि गर्न प्रमाण आवश्यक पर्ने धारणा राखिन् । कसैले उजुरी दिएको आधारमै दोषी ठहर गर्न नमिल्ने भएकाले वास्तविकता अनुसन्धानबाटै बाहिर आउनुपर्ने उनको भनाइ छ । रामकुमारसँग केही दिनभित्र सम्पर्क हुने आशा परिवारले राखेको विष्णु बताउँछिन् ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले भने प्रहरीले तत्काल पक्राउ गर्ने उद्देश्य नराखेको स्पष्ट पारे । उनका अनुसार रामकुमारविरुद्ध परेको उजुरीमा उल्लेख गरिएका विषयवस्तुको तथ्य बुझ्नका लागि प्रहरीले उनलाई सम्पर्क गर्न खोजेको हो । अनुसन्धानका क्रममा प्राप्त हुने प्रमाणका आधारमा मात्रै थप कानुनी प्रक्रिया अघि बढ्ने वा नबढ्ने भन्ने निष्कर्षमा पुगिने उनले बताए ।

अनुचित लेनदेनसम्बन्धी कसुर पछिल्ला वर्षहरूमा राज्यका लागि गम्भीर सामाजिक तथा कानुनी चुनौतीको विषय बनेको छ । चर्को ब्याजमा अनौपचारिक ऋण प्रवाह गरेर ऋणीलाई आर्थिक रूपमा शोषण गर्ने गतिविधिमाथि सरकारले विशेष निगरानी बढाइरहेका बेला लेटाङका पूर्व जनप्रतिनिधिविरुद्ध परेको उजुरी पनि त्यही अभियानअन्तर्गत अनुसन्धानको दायरामा आएको हो । रामकुमारलाई सम्पर्कमा ल्याएर उजुरीका सबै पक्षको वस्तुनिष्ठ अनुसन्धान गर्न आवश्यक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको ...
— रास्वपाले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेपछि मधेशकेन्द्रित दलहरू अहमति राखेका छन् । उनीहरूले औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको धारणा माग गरेका छन् । संघीयताका लागि मधेश तराईमा ठूला आन्दोलन गरेका दलहरूले आपत्ति जनाउँदै रास्वपाको त्यो प्रस्ताव स्थगित गर्न आग्रह गरेका छन् । सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा ...
— सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकका अनुसार हवाईमार्गबाट आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो। बोर्डद्वारा जारी विज्ञप्तिअनुसार, गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ ...
— ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार डोल्पाको जगदुल्ला गाउँपालिकास्थित १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बेलिब्रिज उद्घाटन गरेका छन् । बिहीबार जगदुल्ला गाउँपालिकाको काइगउँमा आयोजित एक कार्यक्रमबीच जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको कार्यालय तथा आवास भवनसँगै आयोजनासम्म पुग्ने बेलिब्रिज पुल उद्घाटन गरेका हुन् । यससँगै उनले ड्यामसाइटदेखि पावरहावससम्मको सुरुङमार्गको ...
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले त्रिवि सेवा आयोगमा नियुक्त थापालाई शपथ गराएका हुन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई ...