मुख्य समाचार
पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरूले नेपालीको नाममा दर्ता भएका कम्पनी भाडामा लिएर शंकास्पद गतिविधि सञ्चालन
पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरूले नेपालीको नाममा दर्ता भएका कम्पनी भाडामा लिएर शंकास्पद गतिविधि सञ्चालन

: पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरूले नेपालीको नाममा दर्ता भएका कम्पनी भाडामा लिएर शंकास्पद गतिविधि सञ्चालन गरेको खुलेको छ। अध्यागमन विभागले ललितपुरको धोबिघाट र काठमाडौंको चोभारमा खानतलासी गरेर ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। भिसाको दुरुपयोग गरेर अवैध गतिविधि गरिरहेका १८ वटा चिनियाँ राहदानीसमेत नियन्त्रणमा लिइएको विभागले जनाएको छ।

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार धोबिघाटबाट ३ जना र चोभारबाट ६ जना गरी ९ जना चिनियाँ नागरिक पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नेपालीको नाममा दर्ता भएका ट्रेजर्स प्रालि र ड्रागन ब्रिज इन्टरनेशनल प्रालि प्रयोग गर्दै आएको खुलेको छ।

विभागका अनुसार धोबिघाटस्थित चारतले घरमा २९ जना चिनियाँ नागरिक बसोबास गर्दै आएका थिए। अनुगमनका बेला २२ जना (११ पुरुष र ११ महिला) फेला परेका थिए। तीमध्ये ४ जना व्यवसायिक (बिजनेस) भिसा र १८ जना पर्यटक भिसामा नेपालमा रहेको पाइएको छ। सबैसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्र राहदानी देखाएका थिए। बाँकी चार जनाले राहदानी भिसासम्बन्धी प्रक्रियाका लागि कानुन व्यवसायीसँग रहेको बताएपछि अनुसन्धानका लागि १८ वटा राहदानी नियन्त्रणमा लिइएको विभागले जनाएको छ।



अनुसन्धानका क्रममा उक्त घर ड्रागन ब्रिज इन्टरनेशनल प्रालिले लिजमा लिएर सञ्चालन गरिरहेको खुलेको छ। घरलाई होस्टलका रूपमा प्रयोग गरिए पनि होस्टल सञ्चालनसम्बन्धी कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला नपरेको अनुसन्धानबाट खुलेको छ।

महिला र पुरुषलाई एउटै आवासमा राखिएको तथा आफूलाई सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग विदेशी नागरिकको अभिलेखसमेत नरहेको विभागले जनाएको छ।

अनुसन्धानले अधिकांश चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल बस्दै चोभारस्थित ट्रेजर्स प्रालि र ड्रागन ब्रिज इन्टरनेशनल प्रालिसँग आबद्ध भएर काम गरिरहेको देखाएको छ। यसबाट उनीहरूले भिसाको उद्देश्यविपरीत गतिविधि सञ्चालन गरेको निष्कर्षमा विभाग पुगेको छ। कम्पनीका नेपाली सञ्चालकहरूले मासिक रकम लिएर चिनियाँ नागरिकलाई कम्पनी सञ्चालन गर्न दिएको बयान दिएका छन्।

यसैबीच विभागले कीर्तिपुर-६, चोभारस्थित ट्रेजर्स प्रालिमा पनि अनुगमन गरेको थियो। भारतीय आयुर्वेदिक उत्पादनको प्रदर्शनी केन्द्रका रूपमा सञ्चालन गरिएको उक्त भवनमा अस्वाभाविक सुरक्षा व्यवस्था, ठूलो संख्यामा सिसिटिभी क्यामेरा, निजी सुरक्षा गार्ड परिचालन तथा सर्वसाधारणलाई पूर्ण रूपमा प्रवेश निषेध गरिएको अवस्था भेटिएको थियो।

त्यहाँ करिब १८ जना चिनियाँ नागरिक कार्यरत रहेको र अधिकांश पर्यटक भिसामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कर्मचारीहरूको अभिलेख उपलब्ध नगराइएको, राहदानी तथा परिचयपत्र देखाउन अस्वीकार गरिएको, कम्पनीको वास्तविक सञ्चालकबारे कर्मचारीहरू अनभिज्ञ रहेको तथा भवनभित्र फोटो र भिडियो खिच्नसमेत रोक लगाइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा झ्यालविहीन अन्धकार कोठामा बाहिरबाट ताल्चा लगाएर लुकाइएका ७ जना चिनियाँ नागरिक भेटिएका थिए। तीमध्ये ५ जनालाई नियन्त्रणमा लिइएको छ भने २ जना फरार भएका छन्। अनुसन्धानका क्रममा केही चिनियाँ नागरिक क्रिप्टो कारोबारमा समेत संलग्न रहेको आशंका गरिएको विभागले जनाएको छ।

विभागका अनुसार धोबिघाटस्थित आवास र चोभारस्थित कार्यस्थलबीच प्रत्यक्ष सम्बन्ध देखिएको छ। होस्टल सञ्चालक कर्मा शेर्पा र मञ्जु लामाले त्यहाँ बस्ने अधिकांश चिनियाँ नागरिक ट्रेजर्स प्रालिमै कार्यरत रहेको स्वीकार गरेका छन्। यसले धोबिघाटस्थित घरलाई आवासीय केन्द्र र चोभारस्थित कम्पनीलाई कार्यस्थलका रूपमा प्रयोग गरिएको पुष्टि हुने विभागको भनाइ छ।

यसअघि पनि सोही धोबिघाटस्थित घरबाट विदेशी नागरिकमार्फत धार्मिक गतिविधि सञ्चालन भएको भेटिएको थियो। २०८२ भदौ ५ गते त्यही स्थानबाट पक्राउ परेका चार जना इन्डोनेसियाली नागरिकलाई तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको थियो।

अध्यागमन विभागले दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिक तथा सम्बन्धित व्यक्ति र संस्थामाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान ...
। उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएकी हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको ...
: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औैं वार्षिक साधारणसभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न ...
। ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ । लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो । असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा ...