। चार वर्षपछि विम्बल्डनमा सनसनीपूर्ण पुनरागमन गरेकी अमेरिकी टेनिस महान खेलाडी सेरेना विलियम्स पहिलो चरणबाटै बाहिरिएकी छन् ।
४४ वर्षीया सेरेना मंगलबार भएको पहिलो चरणको प्रतिस्पर्धामा अस्ट्रेलियाकी २० वर्षीया माया जोइन्टसँग ६-३, ६-७ (८-६), ६-३ ले पराजित भइन् ।
सन् २०२२ मा पहिलो चरणमै हार बेहोरेपछि सेन्टर कोर्टलाई अन्तिम बिदाइ गरेको अनुमान गरिएको सेरेना १,४६२ दिनपछि पुनः विम्बल्डनको कोर्टमा फर्किएकी थिइन् । सात पटककी विम्बल्डन एकल तथा छ पटककी महिला युगल च्याम्पियन सेरेनाले दर्शकबाट भव्य स्वागत पाएकी थिइन् ।
खेलमा उनले एक म्याच प्वाइन्ट जोगाउँदै दोस्रो सेट टाइब्रेकमा जितेर खेल निर्णायक सेटमा पुर्याएकी थिइन् । तर अन्तिम सेटमा माया जोइन्टले संयमित प्रदर्शन गर्दै ऐतिहासिक जित निकालिन् ।
२४ वर्ष जेठी सेरेनालाई हराएपछि जोइन्टले खेलअघि निकै तनावमा रहेको बताइन् ।
‘हिजो राति २ बजेसम्म निदाउन सकिनँ। कोर्टमा प्रवेश गर्दा वार्मअप नै बिर्सिएँ, खुट्टा चलिरहेका थिएनन् । अहिले के भयो भन्ने नै थाहा छैन,’ उनले भनिन् ।
यता सेरेनाले अनिवार्य पत्रकार सम्मेलनमा सहभागी नभई विज्ञप्तिमार्फत विम्बल्डनमा फर्किन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।
‘विम्बल्डनमा फेरि फर्किन पाउँदा निकै राम्रो लाग्यो। म यहाँ फेरि खेल्नेछु भन्ने सोचेकी थिइनँ। वातावरण अद्भुत थियो र कोर्टमा फर्किएको क्षणलाई मैले पूरा रूपमा महसुस गरें’ सेरेनाले भनिन् ।