। ‘त्यहाँ केटाहरूले वासिङ मेसिन किन्ने भनेका रहेछन्, के–के गर्न सकिन्छ हेर्नुपर्यो । दिनभर सडकको धुलोमा खटिएका हुन्छन् । कपडा धुने फुर्सद पनि हुँदैन । मिलेसम्म गर्नुपर्यो’, उपत्यका ट्राफिक प्रहरीका प्रमुख तथा एसएसपी सुरेश काफ्लेले दिएको निर्देशन हो यो ।
केही दिनअघि रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख काफ्लेले दिएको यो निर्देशन ट्राफिक प्रहरीहरूको व्यस्तता बुझाउन पर्याप्त छ ।
एकातिर अत्याधिक सवारी चाप अर्कातिर पर्याप्त जनशक्तिको अभाव हुँदा ट्राफिक प्रहरी कामको अधिक दबाबमा छन् । दैनिक करिब १२ घण्टासम्म ड्युटी गर्नुपर्ने, त्यसमाथि सडकको ड्युटी भएपछि युनिफर्म दैनिक मैलो हुने, तर धुन फुर्सद नहुँदा ड्युटीमै समस्या देखिँदैआएका छन् ।
यस्तै गुनासो हरेकजसो तल्लो दर्जाका ट्राफिक प्रहरीको छ ।
संयुक्त राष्ट्र संघको एउटा निकाय अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को दैनिक आठ घण्टा काम गर्ने मापदण्डलाई अनिवार्य गरेको छ । यही मापदण्डअनुसार नेपालमा पनि सामान्यतया हरेक क्षेत्रमा दैनिक आठ घण्टा ड्युटी गर्ने चलन बसिसकेको छ ।
तर, ट्राफिक प्रहरीको अवस्था भने फरक छ । ट्राफिक प्रहरीमा कार्यरत जनशक्ति दैनिक कम्तीमा १० घण्टादेखि १२ घण्टासम्म ड्युटी गर्दै आएका छन् । अझ ‘पिक आवर’ र विशेष अवस्थामा त १८ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था ट्राफिक प्रहरीको छ ।
अत्यधिक सवारी चाप र कम जनशक्ति हुँदा अन्य सुरक्षाकर्मीभन्दा ट्राफिक प्रहरीको व्यस्तता बढी हुने गरेको देखिन्छ । यसको मारमा भने घरबाट बाहिर निस्कने हरेक यात्रुलाई पर्छ ।
एक ट्राफिक बराबर १४ सय सवारी
यातायात व्यवस्था विभागको पछिल्लो तथ्यांकअनुसार नेपालभर दर्ता भएका सवारीको संख्या ६३ लाख ७० हजार ६३८ छ । सडकको कूल लम्बाई भने ३६ हजार १३२ किलोमिटर छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार देशभर ट्राफिक प्रहरीको जनशक्ति भने ४ हजार ७९८ छ । यीनै जनशक्तिले ६६ लाख ७० हजार ६३८ सवारी व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
एक ट्राफिक प्रहरीले एक हजार ३९० सवारी व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ । ‘एक ट्राफिक प्रहरीले करिब १४ सय सवारी हेर्नुपर्ने हुन्छ । यसबाटै प्रष्ट हुन्छ ट्राफिक प्रहरी कति चापमा हुन्छन्,’ केन्द्रीय प्रवक्ता काफ्ले भन्छन्, ‘बाह्य मुलुकमा भने ट्राफिक प्रहरी सडकमै देखिँदैनन् । हाम्रोमा ट्राफिक प्रहरी नदेखे नियम मिच्ने चलन अझै हराएको छैन ।’
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार सडकको कुल लम्बाइ ३६ हजार १३२ छ । सडकको अनुपात अनुसार एक ट्राफिक प्रहरीले ७.५३ किलोमिटर हेर्नुपर्ने हुन्छ । अझ दैनिक जसो सवारीको संख्या र सडकको लम्बाइ बढ्दै जाने, तर ट्राफिक प्रहरीको जनशक्ति भने थप नहुँदा समस्या बढिरहेको छ ।
‘हरेक वर्ष यति किलो मिटर सडक कालोपत्रे गर्ने, नयाँ करिडोर, सडक खोल्ने भनेको सुनिन्छ । तर त्यहाँ सडक पुगेसँगै ट्राफिक प्रहरीको उपस्थिती पुर्याउनेबारे कुरै उठ्दैन’, एक ट्राफिक प्रहरी अधिकृत भन्छन्, ‘सडक लम्ब्याउने नीति बन्छ । तर, त्यसलाई व्यवस्थापन गर्ने पाटो (ट्राफिक प्रहरी)बारे शब्द नै उच्चारण हुँदैन । अनि त्यही एउटा ट्राफिकलाई हिमाल, पहाड, तराई सबैतिर घुमाइ–घुमाइ ड्युटी खटाउनुपर्ने अवस्था छ ।’
दरबन्दीभन्दा ७३ प्रतिशत बढी ट्राफिक
देशभर ट्राफिक प्रहरीका ७७९ इकाइहरू छन् । ती मध्ये १४४ स्थायी र ६३५ अस्थायी इकाइहरू छन् । प्रहरी प्रवक्ता काफ्लेका अनुसार यी कार्यालयहरूका लागि भनेर स्वीकृत जनशक्ति तथा दरबन्दी भने जम्मा २ हजार ७७० हो । तर अवस्था यस्तो छ । दरबन्दीको ७३ प्रतिशतभन्दा बढी जनशक्ति खटाउनु परेको छ ।
सामान्यतया दरबन्दीभन्दा बढी जनशक्ति कुनै पनि कार्यालयमा हुनुहुँदैन । सवारी साधन र अत्याधिक चाप व्यवस्थापन गर्न चाहिने जति जनशक्ति नहुँदा दरबन्दीभन्दा ७३ प्रतिशत बढी ट्राफिक प्रहरी खटाउनुपरेको जानकारहरू बताउँछन् ।
२ हजार ७७० दरबन्दी भए पनि अहिले ७३ प्रतिशत बढी अर्थात् ४ हजार ७९८ ट्राफिक प्रहरी खटाइएको प्रवक्ता काफ्ले स्वीकार्छन् । दरबन्दीअनुसारकै जनशक्ति मात्रै खटाउने हो भने, अस्तव्यस्त भएर सडकमा हिँड्न समेत नसक्ने अवस्था आउने उनको भनाइ छ ।
सडक र सवारीको संख्या बढ्दा ट्राफिक जनशक्ति भने उही पुरानै दरबन्दीबाट चल्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ ।
काठमाडौंमा एक ट्राफिक प्रहरीको जिम्मा १३ सय सवारी
काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर, भक्तपुरमा करिब ५० लाख मानिस बसोबास गर्छन् । आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार यहाँ दर्ता भएका सवारीको संख्या २० लाख १८ हजार ४३४ छ । अहिले भने यो संख्यामा धेरै वृद्धि भइसकेको छ ।
उपत्यकाभित्रको सडकको लम्बाइ भने २ हजार २९२.२३ किलोमिटर छ । २ हजार २९२ किलोमिटर सडकमा २० लाख भन्दा बढी सवारी कुद्छन् । यी सवारी एकैपटक निस्कने हो भने सडक पूरै ठप्प हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी काफ्ले बताउँछन् ।
‘जम्मा सडक २ हजार ३ सयको हाराहारीमा छ । अनि सवारी भने २० लाख भन्दा बढी । जनसंख्या करिब ५० लाख । यति सानो सडकमा यो जनसंख्या र सवारीको फ्लो एकैपटक भयो भने ट्राफिक एकदमै अस्तव्यस्त हुन्छ’, काफ्ले भन्छन् ।
२० लाख १८ हजार भन्दा बढी सवारी व्यवस्थापन गर्न जम्माजम्मी ट्राफिकको संख्या एक हजार ५८९ छ । अझ दरबन्दीमा त जम्मा एक हजार ११३ मात्रै छ । उपत्यकाभित्र ट्राफिक प्रहरीका ७७ वटा इकाइमा छन् । यीनै इकाइमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ ।
एक इकाइको भागमा २६ हजार २१३ सवारी पर्छन् भने एक इकाइले २९.२६ किलोमिटर सडक हेर्नुपर्ने अवस्था छ । उपत्यकामा एक ट्राफिक प्रहरी बराबर १ हजार २७० सवारी पर्छन् भने एक ट्राफिक प्रहरीले १.४४ किलोमिटर सडक हेर्नुपर्ने हुन्छ ।
अझ काठमाडौं उपत्यकामा भइरहेन, विभिन्न जात्रा, पर्व, मेला, शिवरात्रि, भीआईपी, भीभीआईपी सवारी जस्ता कारण ड्युटीको चाप अत्याधिक बढ्छ भने दैनिकजसो करिब १२ घण्टाको हाराहारीमा ड्युटी गर्नुपर्ने अवस्था छ । उपत्यका बाहिरको तुलनामा उपत्यकामा भने ट्राफिकको दैनिक निकै व्यस्त छ ।
सामान्यतया सुरक्षाकर्मी–कर्मचारी सुगम भन्दै काठमाडौं सरुवा आउने चलन छ । तर, ट्राफिक प्रहरीको हकमा सकेसम्म उपत्यका बाहिरका जिल्लामा जान खोज्छन् । यसको मुख्य कारण नै कामको अत्याधिक चाप रहेको ट्राफिक प्रहरी अधिकारीहरू बताउँछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रमुख भएर समेत काम गरेका पूर्वएआईजी भीम ढकाल अहिलेकै गतिमा सवारी साधनको संख्या वृद्धि हुँदै जाने हो भने काठमाडौं उपत्यकामा २ वर्षपछि जामले हिँड्नै नसक्ने अवस्था आउनसक्ने बताउँछन् ।
‘एक वर्षमै उपत्यकामा ७२ हजारसम्म सवारी थप भएका छन् । सडक पर्याप्त विस्तार छैन । ट्राफिक व्यवस्थापन गर्न जनशक्ति अपुग छ । यही अवस्था हो भने दुई वर्षमा उपत्यकामा जामले हिँड्नै समस्या हुने अवस्था आउँछ’, ढकालले अनलाइनखबरसँग भने ।
कुल दरबन्दीको १० प्रतिशत जनशक्ति ट्राफिकलाई चाहिन्छ
ट्राफिकको यो जनशक्तिमध्ये केही बिदामा हुने, यही जनशक्तिबाट ट्रायल परीक्षा र अनुगमनमा खटिने, हराएका तथा चोरी भएका सवारी खोज्न पनि यही जनशक्तिबाट खटाउनुपर्ने अवस्था छ । यसरी हेर्दा करिब ७० प्रतिशत मात्रै जनशक्ति ट्राफिक व्यवस्थापन गर्न सडकमा खटिन्छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार हिमाली, पहाडी जिल्लाहरूमा जम्माजम्मी ५/६ जना ट्राफिक प्रहरी हुन्छन् । त्यो जिल्लाभरी भएका घटना, दुर्घटनाहरूको रेस्पोन्स गर्ने, दुर्घटना भए त्यसको रेखाचित्र गर्ने, सवारी साधन हराए, चोरी भएमा खोजी गर्ने लगायतका ती सबै काम ट्राफिक प्रहरीले नै गर्नुपर्छ ।
जिल्लाभरीका घटनाहरूलाई रेस्पोन्स नै गर्न नपुग्ने ट्राफिक प्रहरीको जनशक्तिबाट ट्राफिक व्यवस्थापन गर्न एकदमै गाह्रो हुने ढकालको बुझाइ छ । ‘अहिले भएको ट्राफिकको दरबन्दी लगभग १० वर्ष अगाडिको हो । यो १० वर्षको बीचमा कति सडक बिस्तार भयो, कति सवारी भित्रिए ? तर जनशक्ति भने उही १० वर्ष अघिकै भएपछि ट्राफिक व्यस्थापनमा समस्या हुन्छ’, ढकालले अनलाइनखबरसँग भने ।
८९ हजार प्रहरीको जनशक्तिमा करिब ५ प्रतिशत अपराध अनुसन्धानमा भए जस्तै कुल दरबन्दीको कम्तीमा पनि १० प्रतिशत ट्राफिक प्रहरी हुनुपर्ने ढकाल बताउँछन् । ‘अहिले वडादेखि गाउँ टोलसम्म सडक विस्तार भएको छ । सवारी पुगेको छ । तर त्यहाँ ट्राफिक जनचेतना छैन । ट्राफिक प्रहरीको उपस्थिति नै छैन । यस्तो हुँदा दुर्घटनाको दर पनि बढ्छ’, ढकालले भने, ‘सडक विस्तार र सवारीको चापसँगै राज्य जनशक्तिबारे पनि सोच्नुपर्छ ।’
यसका लागि राज्यले एकीकृत नीति बनाएर काम गर्नुपर्ने विज्ञहरूको सुझाव छ । सडक पूर्वाधार कति छ, सवारी कति छन्, बर्सेनि कति भित्रिन्छन् र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्न सरकारले समिति नै बनाएर काम गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।