। सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् ।
रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको लु१ज २४७० नम्बरको सफारी जिप सोमबार सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । जिप सिस्ने गाउँपालिका–२ किदाका २३ वर्षीय खिम्मान खड्काले चलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बि.क.का अनुसार जिपमा चालकसहित ११ जना सवार थिए ।
दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् भने अन्य ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।घाइतेहरूको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार भइरहेको छ ।
घाइते हुनेमा सिस्ने गाउँपालिका–४ दादिङकी २७ वर्षीया रोसनी बुढामगर, उनका ६ महिनाका छोरा सर्लास बुढामगर, २१ वर्षीया रमिता घर्ती, २३ वर्षीया धनकुमारी घर्ती तथा चालक खिम्मान खड्का रहेका छन् ।
प्रहरीका अनुसार सर्लास बुढामगरको टाउकोमा चोट लागेको छ। धनकुमारी घर्तीको छाती, ढाड र टाउकोमा गम्भीर चोट लागेको छ भने रोसनी बुढामगरको हातमा चोट लागेको छ। रमिता घर्तीको टाउकोमा चोट लागेको छ भने चालक खड्काको छाती र ढाडमा सामान्य चोट लागेको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धाउन्ने र जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले उद्धार गरी घाइतेहरूलाई अस्पताल पुर्याएको हो ।