। रोल्पामा पाँच महिनाको अवधिमा प्रहरीले ५६ रोपनीमा लगाइएको अफिम र गाँजा खेती नष्ट गरेको छ ।
०८२ फागुनदेखि २०८३ असार १२ गतेसम्म रोल्पाका विभिन्न स्थानमा लगाइएका अफिम र गाँजा प्रहरीले नष्ट गरेको हो । २०८२ फागुन ३० गते रोल्पाको परिवर्तन गाँउपालिका-४ तातापानीमा एक किसानले उत्पादन गरेको ७०० बुटा अफिम नष्ट गरिएको थियो ।
२०८२ चैत २४ गते थवाङ गाँउपालिका-४ गुँरासे,लेक, थर्पु, जालकी, छोरवाङ र लुटाङलगायतका स्थानमा अफिम खेती गरेको भनि गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले ठूलो मात्रामा करिब ५५ रोपनी जमिनमा लगाइएका अफिम नष्ट गरिएको थियो ।
यस्तै, २०८३ असार १२ गते शुक्रबारका दिनमा त्रिवेणी गाउँपालिका-६ स्थित ऐलानी पाखो जमिनमा आफैं उम्रिएको गाँजाको बिरुवा छ भन्ने सूचनाको आधारमा स्थानीय प्रहरी टोलीले १ रोपनी बराबरको जग्गामा आफैं उम्रिएको करिब २५०० गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवम् सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए ।
‘हामीले रोल्पामा पाँच महिनाको अवधिमा हेर्ने हो भने ठूलो मात्रामा लगाइएका अफिम फडानी र नष्ट गरेका छौं । र, केही दिन अगाडि पनि गाँजा फडानी र नष्ट गरेका छौं’, नेपालीले भने ।
भेटिदैनन् अफिम उत्पादन गर्ने किसान
रोल्पामा अहिलेसम्म अफिम र गाँजा लगाउने किसान भने पक्राउ र प्रहरीको नियन्त्रणमा आएको देखिंदैन । जसले गर्दा सुरक्षा निकायमाथि नै प्रश्न उठ्ने गरेको छ ।
रोल्पाको पाँच महिनाको अवधिमा ठूलो मात्रामा अफिम खेती नष्ट गरियो । तर, जम्मा एकजनालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
अहिलेसम्म अफिम उत्पादन गरेको भनी रोल्पाको परिवर्तन गाँउपालिका-४ तातापानीका वर्ष ६० को धनसिंह वलीलाई मात्र प्रहरीले नियन्त्रणमा लिएको छ । वली अहिले पुर्पक्षका कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका एक अधिकारीले बताए ।
थवाङ गाँउपालिका-४ गुँरासे,लेक,थर्पु,जालकी,छोरवाङ र लुटाङलगायतका स्थानमा अफिम खेती भए पनि कोही किसान पक्राउ परेका छैनन् । त्रिवेणी गाउँपालिका-६ स्थित ऐलानी पाखो जमिनमा रहेको अफिम खेती नष्ट भयो । त्यहाँबाट पनि कोही पक्राउ परेनन् ।
फडानीमा भने प्रहरी सक्रिय भएको छ । लागुऔषध नियन्त्रण र दुर्व्यसन नियन्त्रण गर्नु आफ्नो विभागको उद्देश्य भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुले बताए । ‘म आउनुभन्दा पहिले धेरै अफिम फडानी र नष्ट गर्नुभएको रहेछ, म जिल्ला आएपछि पनि केही दिन अगाडि गाँजा नष्ट भयो’, डीएसपी बाखुले भने ।
अवधै लागुऔषध उत्पादन गर्ने किसान प्रहरीको नियन्त्रणमा नआएको (डिएसपी) बाखुले स्वीकार गरे ।
छोटो समयमा धेरै आर्थिक आम्दानी गर्ने उद्देश्यले गर्दा अफिम खेतीतर्फ आकर्षित भएको जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए । ‘मेरो बुझाइमा अफिम उत्पादनबाट छोटो समयमा धेरै आर्थिक आम्दानी प्राप्त हुन्छ भन्ने सोच र मान्यता राखेर उत्पादन तिर लागेको देखिन्छ’, प्रजिअ क्षेत्रीले भने, ‘कानुनले व्यवस्था गरेका प्रावधान र कानुनलाई नबुझेर पनि अफिम खेतीतर्फ किसान आकर्षण भएको जस्तो देखिन्छ ।’