। कैलालीको एकै दिन झण्डै साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको हो ।
अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो दुई किलो ९५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही र धनगढी उपमहानगरपालिका–१ बस्दै आएका कञ्चनपुरका ५२ वर्षीय मीनराज भट्ट रहेका छन् ।
यस्तै अत्तरिया–धनगढी सडकखण्डबाट एक किलो २३६ ग्राम चरेससहित गोदावरी नगरपालिका–२ का ३८ वर्षीय धर्म धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आइतबार राति पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जनाएको छ ।
पछिल्लो समय प्रायः हरेक दिन कैलालीसहितका सुदूरपश्चिमका जिल्लाहरूबाट लागूऔषधसहित मानिसहरू पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।