। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्ती पहरा (महभीर) फोडेर सडक निर्माण गरिएको छ । आहाले–रेग्मीटार सडक खण्डको साप्सु खोला किनारमा रहेको घर्ती पहरा फोडेर सडक बनाइएको हो ।
निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले करिब पाँच महिना लगाएर असार ११ गते चट्टान काटेर घर्तीभीरमा सडक छिचोलेको हो । पहिले गोरेटो बाटोमात्र रहेकोमा मोटर गुड्न मिल्ने बनाउन गत माघ २८ गतेदेखि पहराको चटटन काट्न सुरु गरिएको थियो ।
पहरोबाट सडक छिचोलिएपछि असार १३ गते कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक उद्घाटन गरेका छन् ।
भौतिक पुर्वाधार विकास कार्यालय खोटाङमार्फत प्राप्त १ करोड ७ लाख ७८ हजारमा सडक स्तरोन्नतीको काम सक्नेगरी २०८२ माघ ११ गते ठेक्का सम्झौता गरिएको थियो । आयोजनाको म्याद भने गत जेठ ३१ गते नै सकिएको छ । तर म्याद थपिने विश्वासमा ठेकेदारले काम पनि जारी राखेको छ ।
पहिले गोरेटो बाटो मात्र थियो
घर्तीभीर काटेर सडक बनाइएपछि दिक्तेलबाट उदयपुरको गाईघाट आउ–जाउ गर्ने छोटो दुरीको बाटो खुलेको छ ।
सुरुमा दिक्तेलबाट महुरे–बुईपा–राजापानी–रेग्मीटार–फोक्सिङटार सडक हुँदै गाईघाट जाने–आउने गरिएको थियो ।
त्यसको विकल्पमा दिक्तेलबाट आहाले–राजापानी हुँदै रेग्मीटार पुगेर गाईघाट आउ–जाउ गरिन्थ्यो ।
घर्तीपहरा काटेर त्योभन्दा सिधा र छोटो सडक खोलिएको हो ।
महभीर पनि भनेर चिनिने घर्तीभीरमा चट्टान काटेर मुस्किलले हिँड्न मिल्ने गोरेटो बाटो मात्र सञ्चालनमा थियो ।
अपरेटर र निर्माण व्यवसायीलाई सम्मान
सडक बन्नुअघि ढाकर टेकुवा बोकेर पैदलयात्रा गर्दाताका सोही भीर पार गरेर तराई जानेआउने गरिएको थियो । सो भीरबाट कैयौंले लडेर ज्यान गुमाएका थिए । कैयौं खच्चडहरु साप्सु खोलामा खसेर मरेको किस्सा सुन्न पाइन्छ ।
जोखिम मोलेर घर्ती पहरा काट्ने अपरेटरद्वय सिन्धुलीका प्रकाश लामा र हेटौँडाका प्रकाश पाख्रिन तथा निर्माण व्यवसायी अर्जुन बराललाई पूर्वाधार विकास कार्यालयले सम्मान गरेको छ ।