मुख्य समाचार
धनगढीमा १० वर्षीय बालकको हत्या : कानको मुन्द्रा लुटिएको आशंका, अनुसन्धान गर्न ४ जना पक्राउ
धनगढीमा १० वर्षीय बालकको हत्या : कानको मुन्द्रा लुटिएको आशंका, अनुसन्धान गर्न ४ जना पक्राउ

। धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी (नाम परिवर्तन) लाई भेटेका थिए ।

रामले गौरीगंगा नगरपालिका–६ मोयामा आफ्ना बुवा खेतमा रोपाइँ गरिरहेको भन्दै आफू त्यतै जाँदै गरेको बताए । छिमेकी तथा दौंतरी रहेका रामसँगै तनुज पनि मोया जान तयार भए । दुवै जना छुट्टाछुट्टै साइकल चलाएर रामका बुवा दिलखुस चौधरीले रोपाइँ गरिरहेको खेतमा पुगेका थिए ।

दिलखुस रोपाइँमा व्यस्त रहेकै बेला तनुज र राम खेत नजिकैको खोलामा गंगटा मार्न गएका थिए । उनीहरूले मारेका गंगटा दिलखुस चौधरी, रोपाइँमा सघाउन आएका विष्णु चौधरी, स्थानीय टेक कठायत र उनका छोरा खगेन्द्र कठायतले पोलेर खाएका थिए । उनीहरूले गंगटासँगै घरेलु मदिरासमेत सेवन गरेका थिए ।

त्यो बेला तनुज र राम पनि उनीहरूसँगै थिए । गंगटा खाइसकेपछि दुवै जना नजिकै रहेको कठायतका आफन्तको घरमा पानी पिउन गएका थिए । पानी पिएपछि उनीहरू छुट्टिए । रामले आफू बुवासँगै आउने बताएपछि तनुज भने एक्लै घर फर्किने भन्दै हिंडेको बयान ती बालकले प्रहरीलाई दिएको स्रोतले जनाएको छ ।
साँझ करिब ६ बजे गौरीगंगा–६ मोयाबाट नजिकै रहेको धनगढी–१७ उत्तरखैरेनी शिविर फर्किने भन्दै निस्किएका तनुज घर नपुगेपछि परिवारले खोजी थालेको थियो ।

तनुज बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले संयुक्त रूपमा खोजी गर्ने क्रममा शुक्रबार धनगढी र गौरीगंगाको सीमा क्षेत्रमा पर्ने कालिका सामुदायिक वनभित्र उनको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला पारे ।

कच्ची सडकबाट करिब ४० मिटरभित्र जंगलमा तनुजको शव भेटिएको हो । उनी चढेको साइकल, कालो प्लास्टिकको झिल्ली तथा गंगटाका अवशेष शव नजिकै फेला परेको प्रहरीले जनाएको छ । तनुजका चप्पल पनि घटनास्थल नजिकै भेटिएका छन् ।

शव आंशिक रूपमा सड्न थालेको अवस्थामा भए पनि घटनास्थल वरपर रगतका छिटा देखिन्थे । रगतले लतपतिएका ढुंगा, कच्ची सडकदेखि शव रहेको स्थानसम्म फेला परेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बेपत्ता बालक जंगलभित्र हत्या गरिएको अवस्थामा भेटिएपछि कैलाली प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ ।

घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानका आधारमा, बालकको हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको स्रोतले जनाएको छ । हत्याको कारण भने बालकले कानमा लगाएको सुनको मुन्द्रा हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।



मृतककी मामली बज्यै अनितादेवी चौधरीका अनुसार तनुजले एउटा कानमा करिब एक आना बराबरको सुनको मुन्द्रा लगाएका थिए । सोही मुन्द्रा लुट्ने उद्देश्यले नातिको हत्या गरिएको आशंका गर्दै उनले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेकी छन् ।

प्रहरीले पनि घटनास्थलमा बालकको कानको मुन्द्रा नभेटिएकाले लुटपाटपछि हत्या भएको हुनसक्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार तनुज बेपत्ता भएको दिन उनीसँगै रहेका नाबालक साथीसहित चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा नाबालक, उनका बुवा दिलखुस चौधरी, विष्णु चौधरी र स्थानीय टेक कठायत रहेका छन् । तर, बालकसँगै गंगटा खाएका करिब २५ वर्षीय खगेन्द्र कठायत भने फरार छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ ।

घटनाको प्रकृति, पक्राउ परेकाहरूको बयान तथा प्रारम्भिक अनुसन्धानका आधारमा खगेन्द्र कठायतसहितको संलग्नतामा बालकको हत्या गरी सुनको मुन्द्रा लुटिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिको खोजी भइरहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने जनाएको छ । अनुसन्धान प्रभावित हुन सक्ने भएकाले प्रहरीले पक्राउ परेकाहरूको परिचयसमेत हाल गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार भएको छ । रक्षा मन्त्रालयले उक्त मस्यौदामा तयार गरी सम्बन्धित निकायहरूको परामर्श लिइसकेको जनाएको छ । सो मन्त्रालयको गत जेठ महिनाको प्रगति विवरणमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’ शिक्षा तथा खेलकुद मन्त्रालय, विश्वविद्यालय अनुदान ...
। पूर्वी पहाडका विभिन्न गाउँका बाटो, चौतारी, विभिन्न पर्यटकिय गन्तव्य, खोला, नदिका आसपासमा जथभावी छरिएका सिसाका बोतल भेटिन्छन् । धेरै बियर र रक्सीका बोतलहरू जथाभावी फालिएका हुन्छन् । पेय पदार्थको प्रयोग गरिसकेपछि फालिएका सिसाहरू एकदुई नभइ पूर्वी पहाडमा थुप्रिएका छन् । बियर र रक्सीले मानवीय स्वास्थ्य बिगारिराखेको छ भने सिसाका बोतलले वातावररणीय स्वास्थ्यलाई हानी गरिरहेको देखिन्छ ...
। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताएका छन् । गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्स्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर गत वर्षको भदौ २३ र ...
। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र प्रदर्शन भएको छ । कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी शनिबार पक्राउ परेपछि कारागारभित्र प्रदर्शन भएको हो । गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उमेरमात्रै सबैथोक नभएको बताएका छन् । काठमाडौमा शनिबार आयोजित पार्टीको एक कार्यक्रममा उनले युवामात्रै सबै कुरा नभएको बताएका हुन् । ‘हामीलाई हाम्रो अनुभवले बताएको छ– उमेरमात्रै सबै कुरा होइन रहेछ, युवामात्रै सबै कुरा होइन रहेछ,’ अध्यक्ष लिङ्देनले भने । ३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह नहुने पनि ...