। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उमेरमात्रै सबैथोक नभएको बताएका छन् । काठमाडौमा शनिबार आयोजित पार्टीको एक कार्यक्रममा उनले युवामात्रै सबै कुरा नभएको बताएका हुन् ।
‘हामीलाई हाम्रो अनुभवले बताएको छ– उमेरमात्रै सबै कुरा होइन रहेछ, युवामात्रै सबै कुरा होइन रहेछ,’ अध्यक्ष लिङ्देनले भने ।
३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह नहुने पनि जिकिर गरे । ‘३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह होइँदैन,’ लिङ्देनले भने, ‘अहिले ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति छन् ।’
लिङ्देनले ८० वर्षीय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाशक्ति राष्ट्र अमेरिका हाँकी रहेको पनि स्मरण गराए । ‘८० वर्षको डोनाल्ड ट्रम्प महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुहुन्छ,’ उनले भने, ‘८० वर्षका सबै डोनाल्ड ट्रम्प पनि हुँदैनन् । ३६ वर्षे सबै बालेन शाह पनि हुँदैनन् । उमेर मात्रै सबै कुरा होइन ।’
राप्रपामा २५ देखि ८५ वर्षसम्मका मानिसहरू पार्टी कमिटीमा सक्रिय रहेका भन्दै उनले युवाको उर्जा र अग्रजको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा भएको जिकिर गरे ।
‘२५–२६ वर्षका युवादेखि लिएर ८५–८६ वर्षसम्मका मानिसहरूसमेत पार्टी कमिटीमा सक्रिय हुनुहुन्छ, उनले भने, ‘युवाको उर्जा र अग्रजको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी हो राप्रपा ।’
सबैलाई पार्टीमा मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको भएको भन्दै अध्यक्ष लिङ्देनले आफूबाट कुनै कमी हुन नदिने पनि बताए ।
‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको हो । त्यसलाई हामीले कुनै पनि प्रकारको कमी गर्दैनौं,’ उनले भने, ‘हुँदै नभएका कुराहरू सुनेर–सुनाएर अनि त्यसैको भरमा निर्णय गर्ने र धारणा बनाउने काम तत्काल बन्दल गर्न म सबैलाई आग्रह गर्छु ।’
हुँदै नभएका कुरा गरेर पार्टी र व्यक्तिलाई कहीँ–कतै नपुर्याउने उनको भनाइ थियो । ‘त्यसले पार्टीलाई पनि कहीँ पुर्यउँदैन, व्यक्तिलाई पनि पुर्याउँदैन,’ अधयक्षले भने, ‘हामीले कहिले युवालाई आवश्यकताअनुसार महत्व दियौं होला । आवश्यकताअनुसार कहिले अग्रजहरूको निर्णयलाई केन्द्रमा राखेर अगाडि बढ्यौं होला ।’