मुख्य समाचार
ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग जेनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग
ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग जेनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग जेनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले हिजो (शुक्रबार) मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन् ।
अनुसन्धान प्रतिवेदन, निर्णय र त्यस सँग सम्बन्धित सम्पूर्ण कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरिएको बर्तौलाले जानकारी दिए ।

आगजनी गर्ने, संवैधानिक अंगहरुलाई समाप्त गर्न उत्तेजना फैलाउने काम र राज्य यन्त्रको अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिको विषयमा आयोगको निर्णय मौन रहेको विषय उनले निवेदनमा उल्लेख गरेका छन् ।

साथै, राष्ट्रिय मानव अधिकार आयोगको बैठक नम्बर १७७ भन्ने सार्वजनिक सञ्चार माध्यममा आएको निर्णय नं १७७ को सिफारिश खण्ड संग निर्णयको तथ्य खण्ड मेल नखाएको पनि निवेदनमा उल्लेख छ ।

यस्तो छ ओलीले पठाएको निवेदनको ब्यहोरा–

मिति : २०८३/०३/१२

श्री राष्ट्रिय मानव अधिकार आयोग,
हरिहर भवन पुल्चोक

विषय: आयोगको अनुसन्धान प्रतिवेदन एवं संलग्न कागजातहरु उपलब्ध गराई दिनु हुन अनुरोध सम्बन्धमा।

१. उपरोक्त विषयमा २०८२ भदौ २३ गते स्कुले बालबालिकालाई मानव ढाल बनाई संसद भवन आक्रमण गर्ने, प्रहरी व्यारिकेट तोड्ने र अराजक उत्तेजना फैलाउने कार्य गरी प्रहरीको ज्यान जोखिममा पारे पछि स्थानीय प्रशासन ऐन बमोजिमको कारवाहीमा मानवीय क्षति भएको विषयमा एवं २४ गते मुलुक भर आतंक फैलाई सबै तहका व्यवस्थापिका, कार्यपालिका र न्याय पालिका लगायत राज्यका सुरक्षा निकायको भवन, अन्य सरकारी भवन, राजनीतिक दलको कार्यालय, औद्योगिक प्रतिष्ठानहरु , संचार माध्यमहरुका कार्यालयहरु र नेताहरुको निजी घर समेतमा आगजनी, तोडफोड र लुटपाट गर्ने कार्य भएको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन भनी राष्ट्रिय मानव अधिकार आयोगबाट छानविन अनुसन्धान भएको कुरा सार्वजनिक भएको छ।

२. मिति २०८३/०२/ १३ गतेका दिन राष्ट्रिय मानव अधिकार आयोगको बैठक नम्बर १७७ भन्ने सार्वजनिक सञ्चार माध्यममा आएको निर्णय नं १७७ को सिफारिश खण्ड संग निर्णयको तथ्य खण्ड मेल खाएको जस्तो देखिंदैन। यतिमात्र नभई एकातर्फ तत्कालिन प्रधानमन्त्रीको हैसियतमा मैले गरेको काम कारवाही कानून विपरीत नभएको निष्कर्ष छ भने अर्कोतर्फ जो घटनामा संलग्न छैन जसले कानूनको उल्लंघन गरेको छैन र जसलाई देशको संविधान र कानूनले कुनै कारबाही गर्न मिल्दैन उसलाई पश्चातदर्शी कानून बनाएर कारवाही गर्न सिफारिश गरेको भनी उल्लेख गरेको निर्णय मानव अधिकार आयोगबाट भएको हो भन्ने कुरामा मैले विश्वास गर्न सकेको छैन। यसरी नै सो घटनाको सम्बन्धमा जसले आगजनी गर्ने, संवैधानिक अंगहरुलाई समाप्त गर्न उत्तेजना फैलाउने काम र राज्य यन्त्रको अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिको विषयमा आयोगको निर्णय मौन रहेको देखियो । यसरी अमुक व्यक्ति उपर आयोग नतमस्तक हुने गरी सार्वजनिक भएको निर्णय स्वाभाविक मान्न मिल्ने जस्तो देखिएन। नेपालको संविधान विपरीतको कार्यको सिफारिश गर्ने आयोगको पदाधिकारीहरुले आफ्नो अयोग्यता स्पष्ट रुपमा प्रदर्शन गर्नु भएको छ भन्ने सार्वजनिक टिप्पणी सुन्नु पर्दा मलाई दुख लागेको छ।

३. आयोगले संविधान र कानून विपरीत कारवाहीको सिफारिश गरेको अवस्था देखिंदा र यसबाट मलाई समेत प्रत्यक्ष असर परेको हुँदा यस सम्बन्धि निर्णय वास्तविक हो वा होइन ? यस्तो निर्णय र निष्कर्षमा पुग्दा कस्तो तथ्य, प्रमाणहरु संकलित भए भन्ने विषय थाहा पाउनु मेरो अधिकार हो। आयोगले नागरिकको आफ्नै विरुद्धमा भएको भनिएको निर्णय र सो निर्णयको आधारको रुपमा रहेको छानविन वा अनुसन्धान प्रतिवेदन मलाई औपचारिक रुपमा पठाउने छ भन्ने कुरामा म विश्वस्त थिएँ। तर नियतवश म समेतलाई लाञ्छित गर्ने गरी गरिएको निर्णय गरिएको भनी सार्वजनिक भएको तिस दिन हुन लाग्दा समेत मलाई सो को औपचारिक जानकारी नदिएको हुँदा यो निवेदन पेश गरेको छु।

४. अत: देहायको कागजातहरु मलाई उपलब्ध गराईदिनु हुन अनुरोध छ :

क. आयोगको बैठकको निर्णय नम्बर १७७ को प्रमाणित प्रतिलिपी

ख. आयोगले यस सम्बन्धमा छानविन गर्न आयोगका माननीय सदस्य लीलि थापाको नेतृत्वमा गठन गरेको समितिले आयोग समक्षमा पेश गरेको भनिएको प्रतिवेदनको प्रतिलिपी

ग. सो प्रतिवेदनमा कुन अंश झिकियो ? कुन अंश थप गरियो ? सो थप घट गरी निर्णय गर्नु परेको कारण ? र यस सम्बन्धमा थप कुनै छानविन वा अनुसन्धान भएको भए सो प्रतिवेदनको प्रतिलिपी

घ. सबै संकलित बयान एवं कागजातहरुको प्रतिलिपि।

उल्लेख गरिए बमोजिम प्रतिवेदनको प्रतिलिपि उपलब्ध गराई कानूनको पालना गर्ने गराउने कार्यमा सहयोग गरि दिनु हुन अनुरोध छ।

हार्दिक धन्यवाद सहित

केपी शर्मा ओली

पूर्वप्रधानमन्त्री

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार भएको छ । रक्षा मन्त्रालयले उक्त मस्यौदामा तयार गरी सम्बन्धित निकायहरूको परामर्श लिइसकेको जनाएको छ । सो मन्त्रालयको गत जेठ महिनाको प्रगति विवरणमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’ शिक्षा तथा खेलकुद मन्त्रालय, विश्वविद्यालय अनुदान ...
। पूर्वी पहाडका विभिन्न गाउँका बाटो, चौतारी, विभिन्न पर्यटकिय गन्तव्य, खोला, नदिका आसपासमा जथभावी छरिएका सिसाका बोतल भेटिन्छन् । धेरै बियर र रक्सीका बोतलहरू जथाभावी फालिएका हुन्छन् । पेय पदार्थको प्रयोग गरिसकेपछि फालिएका सिसाहरू एकदुई नभइ पूर्वी पहाडमा थुप्रिएका छन् । बियर र रक्सीले मानवीय स्वास्थ्य बिगारिराखेको छ भने सिसाका बोतलले वातावररणीय स्वास्थ्यलाई हानी गरिरहेको देखिन्छ ...
। धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी (नाम परिवर्तन) लाई भेटेका थिए । रामले गौरीगंगा नगरपालिका–६ मोयामा आफ्ना बुवा खेतमा रोपाइँ गरिरहेको भन्दै आफू त्यतै जाँदै गरेको बताए । छिमेकी तथा ...
। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताएका छन् । गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्स्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर गत वर्षको भदौ २३ र ...
। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र प्रदर्शन भएको छ । कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी शनिबार पक्राउ परेपछि कारागारभित्र प्रदर्शन भएको हो । गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ...