मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनबाट अब संस्थागत संगठित राजनीतिक दलको रुपमा व्यवस्थित
राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनबाट अब संस्थागत संगठित राजनीतिक दलको रुपमा व्यवस्थित

। चार वर्षअघि करिब तदर्थ शैलीमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनबाट अब संस्थागत संगठित राजनीतिक दलको रुपमा व्यवस्थित भएको छ ।

पहिलो महाधिवेशन अघि नै नेपालको सबैभन्दा ठूलो दल र करिब दुई तिहाई नेतृत्वको सरकार निर्माण गर्ने अवस्था पाएको यो पार्टी अब देशव्पायी संगठन र त्यसको बलमा व्यवस्थित हुने आधार तयार गरेको छ ।




रास्वपाको पार्टी जीवनमा ऐतिहासिक महत्त्व राख्ने यो महाधिवेशनले केही राजनीतिक मानक सिर्जना गरेको छ भने केही सार्‍है बिझाउने अभ्यास गरेको छ । त्यो अभ्यास मध्येको एक दृश्य हो पदाधिकारीमा चयनमा दुई तिहाइ प्रतिनिधिहरू नै अनुपस्थित रहनु ।

जसले पदाधिकारी तहमा अल्पमत प्रतिनिधिहरुको मतबाट नेताहरू निर्वाचत भएका छन् । यद्यपी यो महाधिवेशन गुटगत गन्धहरू आएपनि प्यानलन नै बनाएर चुनाव लड्ने अन्य पार्टीहरूको भन्दा पृथक् रह्यो ।



तीन दिनका लागि भनेर गत आइतबार सुरू भएको महाधिवेशन निकै सकसपूर्ण रुपमा नेतृत्व चयन गर्दै बल्ल ७ दिनपछि शुक्रबार सकिएको छ । महाधिवेशनले संस्थापत सभापति रवि लामिछानेले सर्वसम्मत रुपमा सभापति चयन गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह भने मनोनयनको बाटोबाट वरिष्ठ नेता बन्ने आन्तरिक सहमति निर्माण भएको छ ।



महाधिवेशनले २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्री र ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

गत आइतबार देखि चितवनमा सुरु भएको प्रथम महाधिवेशनले सभापति सहित अन्य पदाधिकारी चयन गर्दा खासै विरोधका स्वर सुनिएन ।

तर, केन्द्रीय सदस्य चयन गर्दा भने नेता कार्यकर्ताका चरम असन्तुष्टि प्रकट भए । महाधिवेशन सम्पन्न गर्नका लागि बनाइएको हरेक सत्र विरोध रहित हुन सकेन ।

व्यवस्थापकीय पक्षमा भएको कमजोरीप्रति नवनिर्वाचित महामन्त्री विपिन आचार्यले माफी मागे ।

आचार्यले पत्रकारहरुसँग भने,‘पार्टीको नवनिर्वाचित महामन्त्रीको तर्फबाट यो सातदिनमा परेको सकसप्रति मनदेखि माफी माग्न चाहन्छु ।’

प्रतिनिधिको यकिन तथ्यांक सार्वजनिक गरिएन
रास्वपाको निर्वाचन आयोगका सदस्य र पार्टी नेताहरुले महाधिवेशन प्रारम्भ हुने बेलासम्म प्रतिनिधि ३ हजार हारहारी हुने जानकारी गराउँदै आएका थिए ।

महाधिवेशनमा भने ह्वात्तै प्रतिनिधि बढेर ४ हजार एक सय हारहारी पुगे । जब, महाधिवेशनको प्रक्रिया सुरु भयो, सबैभन्दा विवादित मुद्दा प्रतिनिधिको बन्यो ।

महाधिवेशनको दोस्रो दिन बन्द सत्र प्रतिनिधिको विवादले हुनै सकेन ।

प्रतिनिधिहरूमा सबै प्रदेशमा विवाद रह्यो । मूलतः रास्वपासँग एकता गरेका, अभियान मार्फत जोडिएका, थरुहट लगायतलाई समायोजित गर्दा प्रतिनिधि टुंगो लगाउन थप सकस पर्‍यो ।

सात प्रदेश मध्ये सबैभन्दा बढी प्रतिनिधि विवाद मधेसमा रह्यो । बन्द सत्र हुँदै मतदान हुँदासम्म प्रतिनिधिको निश्चित अंक सार्वजनिक गरिएन ।

प्रतिनिधिहरू यकिन गर्न नसकेको रास्वपाले टुंगो लागेकाहरूलाई प्रदान गरिने कार्ड पनि समयमा उपलक्ध गराउन सकेन ।



कार्ड प्रिन्ट गर्न ढिलाई भएको भन्दै अस्थायी कार्डको व्यवस्था गरियो । त्यसमा पनि समस्या देखियो ।

अस्थायी रुपमा प्रदान गरेको कार्डमा भएको सदस्यता नम्बर र पछि प्रिन्ट गरेर बाँडिएको कार्डमा सदस्यता अंक फरक पर्‍यो ।

केन्द्रीय सदस्यका उम्मेदवार भरतप्रसाद पनेरु भन्छन्,‘बन्द सत्र सकिएपछि मात्र प्रतिनिधि कार्ड प्राप्त भएको हुँदा सयौँ प्रतिनिधिहरू बन्द सत्रमा सहभागी हुनबाट वञ्चित हुनुपर्‍यो ।’

बन्दसत्र र निर्वाचन प्रक्रिया लम्बिएर शुक्रबार मात्रै नयाँ समिति चयन गर्दै महाधिवेशन सकिएको छ ।

यद्यपी, हालसम्म प्रतिनिधिहरु निश्चित कति जना हुन् ? बारे रास्वपाले भन्न सकेको छैन ।

निर्वाचन आयोगका प्रमुख भुवन केसी र पार्टी नेता मनिष झाले ४१ सय हारहारी प्रतिनिधि रहेको भन्दै आएका थिए ।

केन्द्रीय सदस्य चयन गर्दा भद्रगोल

रास्वपा विधान अनुसार सभापति र ९९ जना केन्द्रीय सदस्य पहिलो चरणमा मतदानबाट चुनिने छन् । सभापतिमा रवि लामिछाने बाहेक अन्यको उम्मेदवारी नपरेको हुँदा उनी निर्विरोध चयन भए ।

केन्द्रीय सदस्यको उम्मेदवार मनोनयन दर्ता देखि निर्वाचनसम्म विवादै विवाद रह्यो । उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध, उम्मेदवारको प्रारम्भिक र अन्तिम नामावली प्रकाशन निर्धारित समयमा हुन सकेन ।

बुधबार अपरान्ह उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक गरेर मध्यरातबाट विद्युतीय मतदान सुरु गरियो । विद्युतीय मतदानमा राखिएको क्रमप्रति उम्मेदवार स्वयं र प्रतिनिधिहरूुले चरम असन्तुष्टि व्यक्त गरे ।

उम्मेदवारी दर्ताको बेला भएको क्रम संख्या वा वर्णानुक्रम अनुसार उम्मेदवारको सूची विद्युतीय मेसिनमा राखिएको थिएन ।

विद्युतीय मेसिनमा उम्मेदवारहरूुको नाममा सबैभन्दा अघि डा. स्वर्णिम वाग्लेको राखिएको थियो भने दोस्रोमा सोबिता गौतमको नाम थियो । निर्वाचित हुँदा सर्वाधिक मत प्राप्त गर्नेमा पहिलोमा वाग्ले र दोस्रोमा गौतम रहे ।

भूगोलबाट निर्वाचित हुने पाँच जना बाहेक ६४ जना केन्द्रीय सदस्यलाई मत गर्ने विधिप्रति नेताहरुले आक्रोश पोखे ।



आफूलाई इच्छा नभएको व्यक्तिलाई समेत मत दिनुपर्ने गरी बाध्यकारी विधि बनाइएको भन्दै उम्मेदवारहरूु राजिव खत्री, आशिका तामाङ, यदुकुमार गिरी, ज्वाला संग्रौला लगायतले आपत्ति जनाए ।

आफ्नै प्रतिद्वन्द्वीलाई समेत मत दिनैपर्ने गरी विद्युतीय मेसिनमा व्यवस्था गरिएको भन्दै उनीहरुको विरोध थियो । मतदानका लागि गरिएको व्यवस्थाप्रति कतिपय उम्मेवार र प्रतिनिधिको आक्रोश पोखेर नसकिँदै प्राप्त मत प्रति र विधिप्रति समेत प्रश्न उठाए ।

३८४ उम्मेदवार मध्ये आफूले प्राप्त गरेको मत निर्वाचन आयोगले उपलब्ध नगराएको भरतप्रसाद पनेरु बताउँछन् ।

उनी भन्छन्,‘नो भोट पद्धति केन्द्रमा लागू गरिएन । वडादेखि प्रदेशसम्म ‘नो भोट’ पद्धतिअनुसार निर्वाचन गरिएको थियो ।’

निर्वाचन आयोगले मनलाग्दी निर्णय गरेको भन्दै उम्मेदवार असन्तुष्ट बनेका छन् । केन्द्रीय सदस्य उम्मेदवारमा निर्वाचित भएको व्यक्तिलाई निर्वाचित हुन नसकेको सूचीमा आयोगले शुक्रबार राखेपछि उम्मेदवार पुजा बाँस्तोलाले आक्रोश पोखिन् ।

‘प्रतिनिधि साथीहरूले मलाई विश्वास गरेर ९१३ मत दिनुभयो । महिलातर्फ शीर्ष २ र खुलातर्फ शीर्ष ५ भित्र पर्ने गरी,’ बास्तोला भन्छिन्,‘निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणाममा म भन्दा कम मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुँदा पनि मलाई विधि, प्रक्रिया र स्थापित मापदण्डविपरीत बाहिर राखिएको छ ।’

आयोगको यो कार्यले रास्वपाले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाएको बास्तोला बताउँछिन् ।

आयोगले आफ्नो नाम निर्वाचितबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएको हुँदा सर्वोच्च अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने निर्णयमा पुगेको बास्तोलाले जानकारी गराइन् ।

प्रतिवेदनमा बहस न छलफल

महाधिवेशनले नेतृत्व मात्रै चयन गर्दैन । पार्टीको भावी दिनको कार्यदिशा तय गर्छ ।

पार्टीले अबलम्बन गर्ने नीतिमा पार्टीहरुको महाधिवेशनमा सघन बहस हुन्छ । प्रतिवेदनमा उल्लेखित विषय माथि आलोचना, सुझाव व्यक्त हुन्छ भने परिमार्जन गर्नुपर्ने विचार पनि उठ्छ ।

प्रतिनिधिहरुको विचार ग्रहण गरेर नेताहरूुले आवश्यक सुझावहरू समेटेर प्रतिवेदन पारित गर्ने पद्धति छ । तर, रास्वपाको पहिलो महाधिवेशनमा त्यस्तो देखिएन ।

नेताले प्रतिवेदन पेस गरे, छलफलै नगरी प्रतिनिधिले ताली बजाएर सर्वसम्मत पारित गरियो । महाधिवेशनका अन्य सत्रमा सकस बेहोरेको रास्वपा नेतृत्वले फास्ट ट्रयाकबाट प्रतिवेदनहरु पारित गर्‍यो ।

संशोधित विधानमा रहेका प्रावधानहरु समेत प्रतिनिधिहरूले हेर्नै नपाई विधान संशोधन सर्वसम्मत् हलबाट पारित गरियो ।

मंगलबार दिउँसो ३: ३० बजेबाट सुरु भएको बन्द सत्र छिटो सकाउन रास्वपा नेतृत्वको हतारो थियो ।

मूलतः सभापति रवि लामिछानेले राजनीतिक र उपसभापति डा.स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्तावनामा गहन बहस गर्नुपर्ने भएपनि विचार विमर्श हलमा भएन ।

बन्द सत्रमा पेश भएका छ वटा प्रतिवेदनका लागि २० मिनेट देखि १ घण्टा २० मिनेटसम्म समयावधि तोकिएको थियो ।



यी कुनै प्रतिवेदनमा प्रतिनिधिले छलफल र आफ्नो धारणा राख्नै पाएनन् । छलफल नै नगरी हलबाट ताली बजाएर प्रतिवेदन पास गरेकोमा प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।

सभापति लामिछाने र उपसभापति वाग्लेका प्रतिवेदन माथि सार्वजनिक टिकाटिप्पणी हुन थालेका छन् ।

प्रतिवेदनमा छलफल नै नगरी पारित भएपछि त्यसैदिन प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका थिए । गत मंगलबार एक प्रतिनिधिले अनलाइनखबरसँग भनेका थिए, ‘महाधिवेशनको मुटु भनेकै नीति र नेतृत्वको बहस गर्ने हो । प्रतिवेदन पेस गरेर पास गरियो । हलमा छलफल नै भएन ।’

सभापति लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत रास्वपाले ‘सामाजिक लोकतन्त्र’ लाई आफ्नो मूल राजनीतिक सिद्धान्त बनाउने उल्लेख छ । संवैधानिक समाजवादबाट सामाजिक लोकतन्त्रलाई मार्ग निर्देशन सिद्धान्त बनाएको विषयलाई समावेश गर्नुपर्ने भएको हुँदा बन्दसत्रमा वितरण नगरिएको सहमहामन्त्री विपिन आचार्यले जानकारी गराए ।

उपसभापति वाग्लेले रास्वपाको संख्या र सामथ्र्य पुगेका दिनमा संविधान परिमार्जन गर्ने भन्दै विगतमा उनले राख्दै आएको धारणालाई प्रतिवेदनमा समावेश गरेका छन् ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, दलविहीन स्थानीय तह तथा यसको संख्यामा एकतिहाइ कटौती र प्रदेशसभा खारेजीसहित संघीयता पुनर्संरचना गर्ने वाग्लेको प्रतिवेदनमा छ ।

उपसभापति वाग्लेले प्रतिवेदनमा उल्लेख गरेको प्रदेश सभा खारेजप्रति राजनीतिक दल एवं विश्लेषकहरुले पनि आपत्ति जनाएका छन् ।

संघीयताप्रति रास्वपा अनुदार रहेको टिकाटिप्पणी सुरु हुन थालेपछि अर्थ–राजनीतिक प्रतिवेदनमा असहमति रहेको प्रतिनिधिहरूुले बताउन थालेका छन् ।

पूर्व विवेकशील साझा पार्टीका नेता एवं रास्वपाका एक महाधिवेशन प्रतिनिधिले भने,‘संघीयता अस्विकार गर्ने प्रतिवेदन हामीलाई पनि अस्वीिकार्य छ ।’

महामन्त्री उम्मेदवार बनाउँदा गुटगत गन्ध
सभापति पदपछि अर्को कार्यकारी पदका रुपमा रहेको महामन्त्री पदमा को को ? आंकाक्षी होलान् भन्ने चासो थियो । महामन्त्रीमा उम्मेदवारी दर्ता गर्नेमा सुरुमा १० जना थिए ।

कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदिश खरेल, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यले महामन्त्रीको उम्मेदवारी दर्ता गरेका थिए । शुक्रबार विहान १०:३० बजेतिर कबिन्द्र बुर्लाकोटी र जगदिश खरेलले उम्मेदवारी फिर्ता लिएको जानकारी गराइयो ।

अपरान्ह १२ बजे महामन्त्रीमा दाबी गर्नेको संख्या थप घट्यो । प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुली प्रतिस्पर्धाबाट बाहिरिने निर्णय लिए ।

महामन्त्रीका उम्मेदवार विपिनलाई बुर्लाकोटी, न्यौपाने र पराजुलीले समर्थन गर्ने घोषणा गरे । त्यसको केही समयपछि महामन्त्रीको अर्को दाबेदार रञ्जु दर्शना पनि विपिनलाई साथ दिने गरी पछि हटिन् ।

यद्यपी, उम्मेदवारी फिर्ता लिने समय सकिएको हुँदा रञ्जुको नाम उम्मेदवारको सूचीमा कायम रह्‍यो ।

महामन्त्रीका आकांक्षी एकपछि अर्को गरी घट्नुमा गुटगत कारण रहेको रास्वपामा एक नेताले दाबी गरे । सभापति रवि पक्षले महामन्त्रीमा विपिनलाई निर्वाचित गराउन अन्यलाई पछि हट्न आग्रह गरिएको थियो ।

सभापतिकै चाहना अनुसार आकांक्षीले साथ दिएको ती नेताले बताए ।



यसअघि सहमहामन्त्री रहेका उनै आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन् । गुटको प्रतिवाद गर्दै निर्वाचित महामन्त्री आचार्यले पहिलो महाधिवेशनसम्म जोडिने सम्पूर्ण रास्वपाको संस्थापन पक्ष भएको दाबी गरे ।

बिहीबार अबेर राति पनि सभापति रविले महामन्त्रीका आकांक्षीहरू सबैसँग छुट्टा छुट्टै छलफल गरेका थिए । त्यस अनुसार परराष्ट्रमन्त्री समेत रहेका शिशिर खनालले उम्मेदवारको आकांक्षाबाट पछि हटेका थिए ।

पदाधिकारीमा गुटगत प्रतिस्पर्धा हुन लागेको आशंका सहित सोधिएको प्रश्नमा प्रवक्ता झाले भने,‘रवि दाइले यहाँ आएर समूहगत राजनीतिक अभ्यास नगर्नू है भन्नुभएको थियो ।

उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन ।’ सभापतिसँग झाको थप आग्रह थियो,‘आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न ।’

त्यसो त उपसभापति पदमा समेत गुटगत प्रतिस्पर्धा भएको नेताहरुको विश्लेषण छ ।

तीन उपसभापति मध्ये डा. स्वर्णिम वाग्लेका लागि विराजभक्त श्रेष्ठले बाटो सहज गरिदिएपछि निर्विरोध भए । अर्को एक पद मनोनित हुनेछन् । बाँकी अर्को एक पदमा महिलाबाट छानिनु पर्दछ ।

दुई जना सोबिता गौतम र तोसिमा कार्कीले उपसभापतिमा प्रतिस्पर्धा गरे । नेताहरूका अनुसार सभापति रवि पक्षधरको साथ सोबितालाई छ ।

सभापति रवि निकट परिचित प्रतिभा रावल सोविताको प्रस्तावक बसेकी थिइन् । सह महामन्त्रीमा प्रतिस्पर्धा गरेका केही अनुहार सभापति र केही प्रधानमन्त्री बालेन्द्र शाह पक्षधर देखिएका छन् ।

मतदानबाटै ५० प्रतिशत महिला केन्द्रीय समितिमा

भूगोल र खुलाबाट ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित हुँदा ४९ जना महिला केन्द्रीय तहको पार्टी संरचनामा पुगेका छन् ।

भूगोलबाट कम्तिमा दुई महिला निर्वाचित हुनैपर्नेमा पाँच जना नै महिला आएका छन् । भूगोलतर्फबाट बागमती पाँच र कर्णालीबाट चार महिला उम्मेदवार केन्द्रीय सदस्य बने ।

बागमतीमा प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा निर्वाचित भए ।

कर्णालीबाट सिता वादी, विनिता कठायत, टासी ल्हाजोम र मेनुका शाही केन्द्रीय समितिमा आए ।

नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले पार्टीका हरेक कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ ।

४९ जना महिला केन्द्रीय समितिमा निर्वाचनबाट आइसकेको हुँदा कूल १५१ सदस्य समितिमा ३३ प्रतिशत संख्या अहिले नै पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धनगढीमा तीन दिनदेखि बेपत्ता बालक जंगलमा मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविर बस्ने १० वर्षीया तनुज चौधरी शुक्रबार दिउँसो स्थानीय जंगलमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार प्रहरी र स्थानीयले खोज्न क्रममा बालक जंगलमा मृत भेटिएका हुन् । उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको ...
। रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् । चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने बताएका छन् । चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका सभापति लामिछानेले शपथ ग्रहणपछिको सम्बोधनको क्रममा यस्तो बताएका हुन् । ‘प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रुपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झण्डै दुई तिहाइको सरकार सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व ...
। सरकारको एक सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समयअगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योगमन्त्री गौरिकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेकी हुन्। सरकारले सार्वजनिक ...
। रास्वपा सभापति रवि लामिछानेले पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने बताएका छन् । पार्टीको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका लामिछानेले शपथपछि गरेको सम्बोधनको क्रममा आएका प्रशनहरूको रचनात्मक रुपमा सामना गर्नुपर्ने बताए । ‘हाम्रा राजनीतिक क्रियाकलाप, राजनीतिक अभिव्यक्ति, राजनीतिक उपस्थितिले देशका प्रबुद्ध, देशप्रेमी, नागरिक समाज, सञ्चार जगत, ...