— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा कम्युनिस्ट शक्तिहरूबीच पुनः एकता र सहकार्यको प्रक्रिया अघि बढिरहेको बताएका छन् ।
उनका अनुसार नेकपा र नेकपा एमाले बीच संसद्, सडक र स्थानीय तहमा सहकार्यका विषयमा छलफल भइरहेको छ, यद्यपि तत्काल पार्टी एकता भने नहुने उनले स्पष्ट पारे। 'वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुन्छ,' उनले भने, 'देशको नेतृत्व फेरि पनि कम्युनिस्ट शक्तिले नै गर्न सक्छ ।'
विराटनगरमा शुक्रबार आयोजित नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले असाधारण राजनीतिक परिस्थितिपछि कम्युनिस्टहरू एकताबद्ध हुन थालेको उल्लेख गर्दै १० वाम घटकको सहभागितामा नेकपा गठन गरिएको स्मरण गरे। उनले कम्युनिस्ट शक्तिहरूबीचको एकताले जनतामा आशा जगाएको बताए।
दाहालले पछिल्लो निर्वाचन निष्पक्ष र स्वाभाविक ढंगले नभएको दाबी गर्दै विशेषगरी तराई–मधेसमा चुनावी चलखेल भएको आरोप लगाए। 'चिन्दै नचिनेका मानिसले जित्ने र स्थापित उम्मेदवारले हार्ने अवस्था सामान्य होइन,' उनले भने, 'निर्वाचनमा विभिन्न शक्तिको प्रभाव देखिएको छ र बिस्तारै त्यसका पर्दा खुल्दै जानेछन् ।'
उनले नेपालमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभामार्फत भएका राजनीतिक उपलब्धिप्रति केही अन्तर्राष्ट्रिय शक्ति सन्तुष्ट नभएको दाबी गरे । संघीयता, धर्मनिरपेक्षता र समावेशी व्यवस्थाविरुद्ध दीर्घकालीन रणनीति बनाइएको उल्लेख गर्दै उनले कम्युनिस्ट आन्दोलनले रणनीतिक रूपमा कमजोरी गरेको स्वीकार गरे।
'हामी रणनीतिक प्रश्नभन्दा कार्यनीतिक विषयमा बढी अल्झियौं, जसका कारण आजको अवस्था सिर्जना भयो,' उनले भने, 'हामीले विचार र रणनीतिलाई पुनः सुदृढ गर्नुपर्छ ।'
दाहालले वर्तमान सरकारले विपन्न, दलित, महिला तथा सुकुमवासी समुदायका पक्षमा पर्याप्त काम गर्न नसकेको आरोप लगाए । साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई 'नवउदारवादी फासिस्ट प्रवृत्तिको पार्टी' भएको आरोप लगाउँदै समावेशी समानुपातिक प्रणाली र संघीयतामाथि चुनौती बढ्दै गएको बताए ।
कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले योग्य र सक्षम युवालाई नेतृत्व लिन आह्वान गरे। 'अब नेतृत्वमा नयाँ पुस्तालाई अघि ल्याउनुपर्छ। तलदेखि माथिसम्म नयाँ नेतृत्व निर्माण गर्ने हाम्रो लक्ष्य हो,'उनले भने ।
उनले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग समेत सहकार्य र मोर्चाबन्दी गर्न सकिने संकेत गर्दै कांग्रेससँग समेत सहकार्यको सम्भावना रहेको बताए । दाहालले कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुदृढ बनाउन पहल तीव्र पारिने समेत जानकारी दिए ।