: मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य विपद्का घटनाबाट नागरिकको ज्यान जोगाउन सशस्त्र प्रहरी बल, नेपालले कोशी प्रदेशका विभिन्न जिल्लामा विपद् प्रतिकार्यसम्बन्धी तालिम सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर–१ बराह वाहिनी मुख्यालय पकली, सुनसरीको आयोजना तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लामा रहेका नगर प्रहरी तथा स्थानीय नागरिकलाई लक्षित गरी ‘समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम’ सञ्चालन गरिएको हाे ।
मंगलबारदेखि सुरु भएको कार्यक्रमअन्तर्गत चार जिल्लाका पाँच स्थानमा २०-२० जनाका दरले जम्मा १०० जनालाई तालिम प्रदान गरिएको छ । मोरङको रंगेली नगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख भुमा पराजुलीसहित झापा, सुनसरी र धनकुटाका प्रमुख जिल्ला अधिकारीहरूले कार्यक्रमको उद्घाटन गरेका थिए । तालिममा आगलागी नियन्त्रण, बाढी तथा डुबानजन्य विपद् व्यवस्थापन, प्राथमिक उपचार, सिपिआर, रोप रेस्क्यु, भत्किएका संरचनाभित्र खोज तथा उद्धारलगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।
nullतालिमपछि सहभागीहरू स्थानीय तहमा हुने विपद्का घटनामा स्वयंसेवकका रूपमा खटिन सक्षम हुने अपेक्षा गरिएको छ । मोरङस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर–३ गण मुख्यालय कंकालिनीमा आयोजित उद्घाटन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले विपद् व्यवस्थापनमा दक्ष स्वयंसेवक जनशक्ति निर्माणका लागि यो कार्यक्रम महत्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । उनले प्रदेशका विभिन्न जिल्लामा हुने बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनामा स्थानीय स्तरमै तत्काल उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन तालिम उपयोगी हुने बताए ।
सशस्त्र प्रहरी बल बराह वाहिनीका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार बर्खायाम सुरु भएसँगै विपद्का घटनाको जोखिम बढेकाले स्थानीय समुदायमै उद्धारकर्मी तयार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । उनका अनुसार तालिम प्राप्त स्वयंसेवकहरूले विपद्को प्रारम्भिक चरणमै खोज, उद्धार तथा प्राथमिक उपचारमा सहयोग पुर्याएर मानविय क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जिल्लाका बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको पूर्व सूचना नियमित रूपमा सुन्न, खोलानाला तथा नदी किनारमा अनावश्यक आवतजावत नगर्न, विद्युत् तथा सञ्चारका अत्यावश्यक सामग्री सुरक्षित राख्न र आकस्मिक अवस्थाका लागि सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन सुझाव दिएका छन् । उनले स्थानीयस्तरमा प्रशिक्षित स्वयंसेवकहरूको परिचालनले विपद्को समयमा तत्काल उद्धार सम्भव हुने भएकाले नागरिकको ज्यान बचाउन र क्षति न्यूनीकरण गर्न उल्लेखनीय सहयोग पुग्ने बताए ।