मुख्य समाचार
‘पार्टीको नीति-निर्माणमा काम गरेको छु, महामन्त्रीमा उम्मेदवारी दिन्छु’
‘पार्टीको नीति-निर्माणमा काम गरेको छु, महामन्त्रीमा उम्मेदवारी दिन्छु’

रास्वपाको महाधिवेशनमा उम्मेदवारी दिने क्रम सुरु भएको छ । पहिलो चरणमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि त्यसको परिणाम आएपछि दोस्रोचरणमा पदाधिकारीको चुनाव हुनेछ । पदाधिकारीमा हाल परराष्ट्रमन्त्री समेत रहेका शिशिर खनालले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले केन्द्रीय सदस्य निर्वाचित भए महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे । महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूका प्रश्नमा उनले दिएको जवाफ :

महाधिवेशनको प्रक्रिया एक दिन स्थगित भएपछि आजबाट फेरि सुरु भएको छ। राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । महाधिवेशन र निर्वाचन प्रक्रियाबारे तपाईं के भन्नुहुन्छ ?

तपाईंहरूले पनि देख्नुभयो, पार्टी सभापति रवि लामिछानेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। प्रधानमन्त्री स्वयं उद्घाटन सत्रमा उपस्थित हुनुहुन्थ्यो। चुनावअघि विभिन्न राजनीतिक समूह र व्यक्तिहरूलाई समायोजन गरेर राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गरिएको थियो। हाम्रो पहिलो ऐतिहासिक महाधिवेशनले ती सबै समूहलाई एउटै पार्टीभित्र एकीकृत गर्ने वातावरण बनाएको छ।




पार्टी सभापति रवि लामिछानेले सुरु गरेको यात्रामा हामी सबै अटाएका छौँ। उहाँको त्याग र संघर्ष हामीले पछिल्लो समय अझ नजिकबाट देखेका छौँ। उहाँले आफैँले पनि धेरै त्याग गरेर सबैलाई ठाउँ दिनुभएको छ। त्यस अर्थमा उहाँ निर्विरोध निर्वाचित हुनु अस्वाभाविक विषय होइन।

उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी संघीयता र गणतन्त्रजस्ता विषयमा स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो। आज राजनीतिक प्रतिवेदनमा यी विषयहरू स्पष्ट रूपमा समेटिएका छन्। यसबारे केही बताइदिनुहोस् न ?



राष्ट्रिय स्वतन्त्र पार्टीको विचार नै छैन भन्ने आरोप सुरुदेखि लाग्दै आएको थियो। तर मैले सधैँ अन्तरवार्ताहरूमा पनि भनेको छु—हामी सुरुदेखि नै वैचारिक रूपमा स्पष्ट थियौँ।

राजनीतिक दलहरूले आफ्ना केही विषयहरू महाधिवेशनमार्फत परिमार्जन र परिष्कृत गर्दै लैजान्छन्। हामी संविधान मान्ने पार्टी हौँ । २०७९ को निर्वाचन अभियानमा नै हामीले ‘व्यवस्था होइन, अवस्था परिवर्तन गर्छौँ’ भन्ने कुरा स्पष्ट रूपमा भनेका थियौँ। त्यसैले हाम्रा आधारभूत सैद्धान्तिक धरातलहरू पहिल्यै स्पष्ट थिए।

जलेश्वरमा भएको हाम्रो प्रस्तावनाले पनि ती विषयलाई स्पष्ट पारिसकेको थियो। अहिले महाधिवेशनमार्फत त्यसलाई अझ व्यवस्थित र स्पष्ट रूपमा अभिव्यक्त गर्ने अवसर प्राप्त भएको हो।


व्यक्तिगत रूपमा तपाईंको उम्मेदवारीबारे पनि चर्चा भइरहेको छ। तपाईं कुन पदमा उम्मेदवार बन्दै हुनुहुन्छ ?

पहिलो चरणमा म खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेको छु। भर्खरै त्यसको मनोनयन दर्ता गरेर आएको हुँ। हाम्रो निर्वाचन प्रक्रिया दुई चरणमा हुने भएकाले, यदि दोस्रो चरणसम्म जाने अवसर पाएँ भने महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा छु।

तपाईं महामन्त्री बन्नुभयो भने संगठनात्मक रूपमा के सुधार गर्न सक्नुहुन्छ भन्ने लाग्छ

त्यसका लागि कार्यकर्ताले ममाथि विश्वास गरून् भन्ने अपेक्षा छ। पछिल्लो चार वर्ष पार्टीमा रहँदा मैले नीति, विचार र संगठन निर्माणदेखि विभिन्न राजनीतिक समूह तथा पार्टीहरूसँग समायोजन गर्ने कामसम्म जिम्मेवारी सम्हालेको छु ।

मलाई लाग्छ, पार्टीले स्थापना र विस्तारको प्रारम्भिक चरण पूरा गरिसकेको छ। अब यसलाई संस्थागत गर्ने बेला आएको छ। विधि, पद्धति र संस्थागत संरचनालाई बलियो बनाउने समय आएको छ। अब केवल संगठन विस्तार गर्ने होइन, त्यसलाई गहिरो र सुदृढ बनाउने आवश्यकता छ। मेरो अनुभव र पृष्ठभूमिले त्यसमा योगदान दिन सक्छ भन्ने विश्वास छ।

सरकारका अन्य मन्त्रालयले गरेका काम सार्वजनिक रूपमा देखाउन सजिलो हुन्छ। तर तपाईंको मन्त्रालय कूटनीतिसँग जोडिएकाले धेरै कुरा सार्वजनिक रूपमा भन्न मिल्दैन। यस्तो अवस्थामा आफ्नो काम कसरी मूल्यांकन गर्नुहुन्छ ?

मलाई लाग्छ, मैले पनि कामकै आधारमा मूल्यांकन खोज्ने हो। परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै गर्दा नेपाल र नेपालीको आवाज संसारभर पुर्‍याउने तथा नेपालको राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख दायित्व हुन्छ। यो अत्यन्त संवेदनशील र महत्वपूर्ण मन्त्रालय हो।

पछिल्ला करिब साढे दुई महिनामा मैले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेको छु। छोटो समयमै गरिएका पहलहरूले नेपालको अन्तर्राष्ट्रिय उपस्थिति र प्रतिष्ठा बढाउन केही योगदान गरेको अनुभव गरेको छु।

अघिल्लो संसददेखि अहिलेको संसदसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका थोरै सांसदमध्ये तपाईं पनि एक हुनुहुन्छ, जसले दुवै कार्यकालको अनुभव बटुल्नुभएको छ। यो महाधिवेशनसम्म आइपुग्दा पार्टीले के सिक्यो? अब आउने नेतृत्वका लागि मुख्य पाठ के हो ?

हामीले धेरै कुरा सिकेका छौँ। पार्टी स्थापना भएको केही महिनामै निर्वाचनमा गयौँ। त्यतिबेला पार्टीका संगठनात्मक संरचनाहरू पूर्ण रूपमा बनेका पनि थिएनन्। त्यसका बाबजुद अपार जनविश्वास प्राप्त गरेर हामी संसदको चौथो ठूलो दल बन्न सफल भयौँ।

त्यसपछि संसदीय भूमिकासँगै केही समय कार्यकारी भूमिकामा पनि रह्यौँ। तर मूल रूपमा हाम्रो संसदीय भूमिकाकै आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण र विश्वास थप बढेको मलाई लाग्छ।

अबको चुनौती भनेको त्यही जनविश्वासलाई बलियो संस्थागत संरचना, विधि र संगठनमार्फत दीर्घकालीन रूपमा स्थापित गर्नु हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका सभापति रवि लामिछानेले पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा संविधान संशोधन, स्थिर नेतृत्व प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा राखेका छन्। दस्तावेजमा लामिछानेले २०७२ सालमा जारी भएको नेपालको संविधान २०७२ कार्यान्वयनको करिब एक दशकको समीक्षा गर्दै संविधानका उपलब्धि र कमजोरीमाथि खुला, इमानदार र जिम्मेवार बहस आवश्यक रहेको उल्लेख गरेका छन्। उनले संविधानप्रति रास्वपाको धारणा ...
: नेपाल प्रहरीले अबदेखि १५-१५ दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ देखि उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रअनुसार अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गरिएको हो। यसअनुसार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दीर्घकालीन विषयमा आम सहमति खोजेर मात्रै अघि बढ्ने संसदीय नीति प्रस्ताव गरेको छ । प्रथम महाधिवेशनअन्तर्गत मंगलबार चलिरहेको बन्द सत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उक्त प्रस्ताव उल्लेख छ । ‘रास्वपा नेपालको राजनीतिक संस्कृति बदल्न चाहन्छ । दशकौंसम्म राजनीति को मित्र– को शत्रु ? भन्ने चश्माबाट हेरियो,’ प्रस्तावमा भनिएको छ, ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति पदमा लामिछानेको एकल उम्मेदवारी गरेको जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ। आज अबेर रातिसम्म मनोनयन ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सरकारले गरेका महत्त्वपूर्ण कामहरू सूची समावेश गरिएको छ । वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र विकास केन्द्रित राज्य संरचनाको दिशामा सकारात्मक पहलहरू गरिरहेको रास्वपाको बुझाइ छ । सभापति लामिछानेले आफ्नो प्रतिवेदनको ‘विश्वास रोपिरहेको र आशा ...