: यात्रुलाई दु:ख दिने १० जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन प्रयोग गरी उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न १० जनालाई पक्राउ गरेको हो।
सार्वजनिक गुनासोका आधारमा जिल्ला काठमाडौंको कोटेश्वर/जडिबुटी क्षेत्रमा खटिएको प्रहरी टोलीले काउन्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सह–चालकसँग सम्बन्धित केही व्यक्तिहरूले यात्रु तान्ने, यात्रुको झोला खोस्ने तथा अनावश्यक दुःख हैरानी दिने कार्य गरेको फेला पारेको थियो।
उक्त कार्यमा संलग्न १० जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।