मुख्य समाचार
रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी
रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नयाँ राजनीतिक शक्तिको संगठनात्मक विषयबारे छलफल गर्ने थलोमा मात्रै रहेन । नेपाली समाजको समस्या के हो ? समस्याको पहिचान कसरी गर्ने, समस्या समाधानका उपाय के कस्ता हुन सक्छन् भनेर विचार विमर्श भए । साथै, जनताले रास्वपालाई दुई तिहाई नजिकको मत दिनुको कारण पनि खोज्ने प्रयास वक्ताहरूले गरे ।

रास्वपालाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा आफैँ उपस्थित भए । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन आ–आफ्ना पार्टी प्रतिनिधि भएर गए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत शुभकामना दिन चितवन पुगे ।

रास्वपा २०७९ साल असार ७ गते जन्मिएको पार्टी हो । छोटो समय र पहिलो महाधिवेशन नगर्दै रास्वपाले प्रतिनिधिसभामा दुई तिहाइ नजिकको जनमत प्राप्त गरेको छ । लामो राजनीतिक इतिहास बोकेका दलहरू विपक्षमा खुम्चिएका छन् । यस पृष्ठभूमिमा भएको महाधिवेशनमा रास्वपाको सफलता र त्यसपछाडिका कथाहरूको चर्चा पाए । विपक्षी दलका वक्ताहरूले प्राप्त जनमतको ख्याल गर्न रास्वपालाई ख्याल खबरदारी गरे ।

रास्वपालाई शुभकामना दिने क्रममा कांग्रेस सभापति थापाले नेपालकै विगत सम्झिए, ‘नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत असाधारण छ । इतिहासमा तीन चार पटक, एक पटक यस्तै खालको जनमत, बाँकी समयमा यस्तै– यस्तै खालको जनमत नेपालका राजनीतिक पार्टीहरूले प्राप्त गरे ।’

कांग्रेस सभापति थापाले भने जस्तै २०१५ सालको चुनावमा नेपाली कांग्रेसले दुई तिहाइ मत पाएको थियो । तर उक्त प्रतिनिधि सभा लामो समय चलेन । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए र निर्दलीय पञ्चायती व्यवस्था लागू गरे ।

कतिपयले यो घटनालाई तत्कालीन राजा राजा महेन्द्र र कांग्रेसका संस्थापक सभापति तथा तत्कालीन प्रधानमन्त्री बीपीबीचको टकरावसँग जोडेर हेर्ने गरेका छन् ।

२०४६ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछिको २०४८ को चुनावबाट सबैभन्दा ठूलो शक्तिको रुपमा उदायो । तर कांग्रेसभित्र कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र गणेशमानकोबीच टकराव भयो । कांग्रेसका तीन नेताहरू देखामा परेको टकराव र अहंकारले प्रतिनिधि सभालाई पूर्ण कार्यकाल काम गर्न दिएन । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गरेका थिए ।

२०६२/०६३ सालको जनआन्दोलनले राजतन्त्र फालिदियो । २०६४ सालमा संविधान सभाको निर्वाचन भयो । यो संविधान सभामा तत्कालीन नेकपा माओवादीले बहुमत प्राप्त गर्‍यो । ९ महिना भन्दा बढी सरकारको नेतृत्वमा रहन सकेन ।

नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र मिलेर २०७४ सालको चुनाव लडे । दुई तिहाइ नजिकको मत पाए । तर त्यसबेला पनि नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका नेताहरूको टकराबले प्रतिनिधिसभा पूरा कार्यकाल चल्न सकेन ।

विगतमा जनताले कुनै दललाई दुई तिहाइ नजिकको मत दिएर पनि राजनीतिक स्थिरता किन पाउन सकेनन् भनेर ख्याल गर्न रास्वपालाई कांग्रेस सभापति थापाको सुझाव छ ।

‘तर विगतमा हरेक पटक त्यो जनमत (स्पष्ट बहुमत) दुर्घटनामा पर्‍यो । किन पर्‍यो ?’ थापाले आफैँ जवाफ दिएका छन्, ‘जुन राजनीतिक दलले जनमात प्राप्त गरे त्यो दलको नेताको अहंकारको कारणले दुर्घटनामा पर्यो । शक्तिको सीमा बुझेनन् । अप्रजातान्त्रिक व्यवहार गरे ।’

यसपटक रास्वपाले पाएको जनमत फेरि दुर्घटनामा नपरोस् भन्ने शुभकामना दिँदै सभापति थापाले भनेका छन्, ‘रास्वपामा यी दुइटै कारण नदोहोरियोस् ।’

जर्मनी र दक्षिण अफ्रिकाको उदाहरण

नेपाली कांग्रेसले नेपालकै उदाहरण दिएर रास्वपालाई सतर्क गराउन खोज्यो । नेकपा एमालेले भने जनमतको सदुपयोग हुन नसकेको विश्वका अनय देशको उदाहरण प्रस्तुत गर्‍यो ।

रास्वपालाई शुभकामना दिने क्रममा एमाले नेता प्रदीप ज्ञवालीले १९३३ मा जर्मनमा त्यहाँको नेसनलिस्ट, सोसललिस्ट जर्मन वर्कस पार्टीले हासिल गरेको जनमत र १९९४ दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाको नेतृत्वमा अफ्रिकन नेशनल कंग्रेसले पाएको जनमत स्मरण गरे ।

१९३३ मा जर्मन फेडरल इलेक्सनपछि नाजी पार्टी र एडल्फ हिटलभेरले ठूलो जनसमर्थन प्राप्त गरे । त्यो जनादेश लोकतान्त्रिक प्रक्रियाबाट आएको थियो । तर त्यसको प्रयोग लोकतान्त्रिक संस्था कमजोर बनाउन, विपक्षलाई दमन गर्न र एकदलीय अधिनायकवाद स्थापना गर्न केन्द्रीत भयो । अन्ततः त्यसले दोस्रो विश्व युद्ध नै निम्त्यो ।

१९९४ मा साउथ अफ्रिकन जेनरल इलेक्सनमा नेल्सन मन्डेलाको नेतृत्वमा अफ्रिकन नेशनल कंग्रेसले ऐतिहासिक जनमत प्राप्त गर्‍यो । दशकौँको रंगभेद अन्त्यपछि मण्डेलाले त्यो जनादेश प्राप्त गरेका हुन् । जसको प्रयोग राष्ट्रिय मेलमिलाप, समावेशिता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका लागि प्रयोग भएको रुपमा यसको उदाहरण दिने गरिन्छ ।



दुई उदाहरणबाट सिक्न रास्वपालाई शुभकामना दिँदै एमाले नेता ज्ञवालीले भनेका छन्, ‘यी दुइटा जनादेशको कसरी प्रयोग भयो वा सदुपयोग भन्ने कुरा हाम्रा निम्ति महत्वपूर्ण रेफे्रन्स हुन सक्छ ।’

अन्यथा, जुन गतिमा जनमत प्राप्त भयो त्यही गतिमा कमजोर हुने उनको चेतावनी छ, ‘जुन जुनमत छ । त्यो ठीक ढंगले सदुपयोग भएन भने त्यसले निम्त्याउन सक्ने जोखिम उत्तिकै भयावह हुनेछ ।’

जनादेश प्राप्त गर्नु साह्रै महत्वपूर्ण कुरा भएको र जनमत प्राप्त गरेपछि त्यो भन्दा ठूलो जनादेशको सदुपयोग कसरी हुन्छ भन्ने हुने उनको आग्रह छ ।

यसतर्फ पाइला–पाइलमा सतर्क हुन रास्वपालाई भनेका हुन् । यहाँनेर एमाले नेता ज्ञवालीले ‘रास्वपाले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता र सामाजिक मूल्य मान्यताहरूलाई ख्याल गरोस्’ भनेका छन् ।

‘गरि खानेका लागि पनि राज्य चाहिन्छ । राज्य केवल हुने खानेका लागि होइन भन्ने उत्तरदायी राज्यको अवधारणा बोकेको बाटो तय गरोस्’ भन्ने पनि एमालेको शुभकामना छ ।

रास्वपालाई खबरदारी गर्ने सन्दर्भमा ज्ञवालीले व्यक्त गरेका कतिपय शब्दलाई लिएर रास्वपाका नेता/कार्यकर्ताले विरोधमा हुटिङ समेत गरेका थिए ।

खोजियो व्यवस्थाप्रतिको प्रतिबद्धता

नेपाली कम्युनिस्ट पार्टीले रास्वपाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रतिको प्रतिबद्धता खोजेको छ ।

‘हामीलाई तपाईंहरुको नियतमाथि शंका छैन, तर सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुबाट अझ उच्च तहको प्रतिबद्धता आइदेओस्’ नेकपाका नेता वर्षमान पुनले भने ।

वैचारिक स्पष्टताका सन्दर्भमा रास्वपाका नेता/कार्यकर्ताहरू सबै सचेत रहेको भनेर उनले घचघच्याए । नेता पुनले अगाडि भनेका छन्, ‘मलाई विश्वास छ, यो ऐतहासिक महाधिवेशनले तपाईंहरुमाथिका संविधान, लोकतन्त्र, स्थापित प्रणालीजस्ता विषयमा रहेका प्रश्न, आरोप र आशंकाहरुलाई मेटाउन सफल हुनेछ ।’

वैचारिक तथा संगठनात्मक दिशा निर्देश एवं स्पष्टता सँगै रास्वपाले जनमतको सम्मान गर्न सक्नुपर्ने उनको अर्को शुभेच्छा छ ।

‘हिजो संख्या हामीसँग थियो, बीचमा अरूसँग भयो, आज तपाईंहरूसँग छ । त्यसैले राजनीतिमा बहुमतले बिनम्रता सिक्नुपर्छ र अल्पमतले धैर्यता’ उनले भनेका छन्, ‘लोकतन्त्रमा संख्या र सरकारहरू अस्थायी हुन्छन्, तर लोकतान्त्रिक प्रणाली, विधि, प्रक्रिया र संस्था स्थायी हुनुपर्छ भन्ने स्थापित लोकतान्त्रिक मान्यता हो ।’

एजेण्डागत रुपमा सहकार्य विगतमा पनि गरेको र फेरि पनि गर्न तयार रहेको उनको सन्देश छ । ‘सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जत्तिको निकट सहकार्य सायद अरुका बीचमा भएको छैन’ उनले भनेका छन्, ‘कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौं । आज पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा हाम्रो समर्थन छ ।’

थप अपेक्षा के छ ?

गत २१ फागुनको निर्वाचनमा स्थापित दलहरूलाई छाडेर केही वर्ष अगाडि मात्रै जन्मिएको रास्वपालाई जनताले दुई तिहाइ मत दिने गरी विश्वास गर्नुको कारण के हो ? यसको समीक्षा पनि पुरानै पार्टीका नेताहरूले गरेका हुन् ।

बीपी कोइरालाले स्थापना गरेर अगाडि बढाएको पार्टीको नेतृत्व तहमा पुग्दा गर्व हुने गरेको स्मरण गर्दै कांग्रेस सभापति थापाले पछिल्ला दशकमा आफ्नो पाटी समेतका तर्फबाट कमजोरी भएको स्वीकारे ।

‘गएको १०/१२ वर्षमा मेरो पार्टी पनि संलग्न भएर गरेको कतिपय कामहरूको सन्दर्भमा मेरो शिर निहुरिन्छ पनि, म ग्लानी बोध पनि गर्छु, म आत्मालोचित पनि हुन्छु’ सभापति थापाले भने, ‘गएका १०/१२ वर्ष हामीले केवल एउटै कुरा हेर्‍यौं । निर्वाचन जित्नैपर्ने ’

निर्वाचन जितेर सरकारमा पुग्नैपर्ने र सरकारमा पुगेर गरेको कामबाट जनविश्वास आर्जन गर्न नसकेको स्वीकारे । ‘शक्ति के को लागि चाहिने भन्दा घरको लागि चाहिने, परिवारको लागि चाहिने, आफ्ना लागि चाहिने । यो गल्ति भएकै हो ।’

यसका निम्ति गठबन्धन र भागवण्डाको राजनीति भएको पनि स्मरण गरे ।

यहाँनेर कांग्रेस सभापति थापाले तीन वटा सन्देश दिए ।

पहिलो : नातावाद र कृपावादको राजनीतिले निराश जनताले रास्वपालाई रोजेका छन् ।

दोस्रो : अब रास्वपाले भागवण्डाको राजनीति नगरोस् ।

तेस्रो : विगतमा दलहरूले गरेकै गल्ति रास्वपाले गरे जनमत फेरिन्छ ।

स्थिर राजनीति, सुशासन र विकासको अपेक्षा जनतामा रहेको केलाउने प्रयास थापाले गरे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका अनुसार नेपालका विगतमा नागरिक अधिकारका निम्ति आन्दोलन भयो । यसको नेतृत्व उनी भन्दा अघिल्लो पुस्ताले गरे । आफ्नो पुस्ताले समानता, समावेशी प्रतिनिधित्व सहितको गणतान्त्रिक व्यवस्थाका लागि संघर्ष गरेको स्मरण गरे । अबको पुस्ताले सुशासन, विकास र समृद्धिका लागि काम गर्नुपर्ने भन्दै रास्वपालाई शुभकामना दिए ।

२१ फागुनको निर्वाचनमा ‘चुपचाप घण्टी छाप’को नारा चर्चित भएको स्मरण गरे । विदेशमा रहेका लाखौं युवाले समेत यही सन्देश नेपालमा रहेका परिवार, आफन्त र साथीभाईलाई पठाएको र रास्वपालाई भोट हाल्न लगाएको स्मरण गर्दै यसको ख्याल गर्न सुझाव दिए ।



अब रास्वपाको चुनावी नारा रुपान्तरित भएर ‘चुपचाप समृद्धि र विकास’ हुनुपर्ने उनको शुभकामना छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका नजरमा पनि मुलुकले सुशासन, समृद्धि र सामाजिक न्याय खोजिरहेको छ । विभिन्न जात, भेषभुषा र जातिले समानता खोजिरहेको छ । यस निम्ति प्राप्त जनमतको सदुपयोग गर्न रास्वपालाई उनको शुभकामना छ ।

उनी थप्छन्, ‘लाखौं लाख युवा विदेशीरहेका छन् । उनीहरूलाई रोजगारी दिनुपर्ने छ ।’

राष्ट्रिय राजेन्द्र लिङ्देनका नजरमा सबै प्रकारका विचार र सिद्धान्त भएका र फरक–फरक अपेक्षा राखेका सबै नागरिकले यसपटक रास्वपा रोजेका हुन् ।

‘ कुनै दलको संगठनले काम गर्‍यो ? गरेन । दलको पैसाले काम गरेन । जनताले दलको दर्शन र सीमा भन्दा अगाडि सरेर निर्णय गरे’ रास्वपाको जनमत स्मरण गर्दै उनले भने ।

रास्वपासँग सुशासन, विकास, समृद्धि, रोजगारी जस्ता विषयदेखि संविधानमा अपनत्व चाहने खोज्ने सम्मका सबै नागरिकले विश्वास गरेका बेला रास्वपा चुक्न नहुने उनको सुझाव छ ।

‘इतिहासले यस्तो अवसर दिएको छ, पार्टीको कुरा गर्ने हो भने पार्टीको जीवनमा, व्यक्तिको कुरा गर्ने हो भने व्यक्तिको जीवनमा यस्तो अवसर कहिल्यै आउँदैन्’ लिङ्देनले भने, ‘यो अवसर चुकाउनुभयो भने धोका तपाईंको पार्टीलाई मात्रै होइन, सिंगो देशलाई हुन्छ । यसकारण आग्रह छ– यो जिम्मेवाी सफलतापूर्वक निर्वाह गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा झापा, मोरङ, धनकुटा, उदयपुर र सुनसरीबाट १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–२ का ३१ वर्षीय विवेक राजवंशी, २८ वर्षीय रेगन राजवंशी, ३१ वर्षीय संजयकुमार राजवंशी, बिर्तामोड–९ का ३५ वर्षीय राजकुमार कामती र उनकी श्रीमती मनिका कामती रहेका छन् । यसैगरी पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ ...
। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याएको छ । आइतबारको १५औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । रानाले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरिएको बताइन् ...
: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको बिसौँ नगरसभाको आइतबार पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै उनले विकासका क्रममा भएका कामहरूको समीक्षा गर्दै कहाँ र कसरी कमजोरी भएका छन् भन्ने विषयमा गम्भीर रूपमा आत्मसमीक्षा गर्न आवश्यक ...
: प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र कालापानीको प्रमाण आफूहरूसँग भएको बताएका छन्। उनले उक्त विषयमा छिमेकी भारतले आपत्ति जनाए पनि नेपालसँग त्यसको प्रमाण रहेको बताए। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषय उठाउँदा विभिन्न देशले आपत्ति जनाउने गरेको उल्लेख गर्दै नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने आधार र प्रमाण रहेको ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई त्यही गल्ती नदोहोर्‍याउन सुझाव दिए। उनले भने, 'तपाईंका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला। हामीले ढिला गरेर ...