। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याएको छ । आइतबारको १५औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
रानाले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरिएको बताइन् ।
बजेट व्यहोर्ने स्रोतमा आन्तरिक आयबाट ५५ करोड १० लाख, राजश्व बाँडफाँडबाट ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणमार्फत एक अर्ब ६ करोड ७९ लाख ७ हजार, प्रदेश सरकारबाट १४ करोड २२ लाख ७ हजार तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
रानाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित २ अर्ब १६ करोड २९ लाखमध्ये १ अर्ब ६४ करोड ३५ लाख ८४ हजार खर्च भएको बताइन् भने चालु आर्थिक वर्ष २०८२/८३ मा अनुमानित २ अर्ब ५६ करोड ४ लाख ६६ हजार बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब १९ करोड ९४ लाख ६५ हजार खर्च भएको छ
उपमहानगरपालिकाले आगामी वर्ष वडा स्वास्थ्य क्लिनिक सुदृढीकरण, ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक शिक्षा, नगर गौरवका आयोजना सञ्चालन, दीगो तथा वातावरणमैत्री पूर्वाधार विकास, सिप तथा रोजगार मेला, सडक बत्ती व्यवस्थासँगै मध्यकालीन बजार र रात्रीकालीन पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।
समुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम, आमा बचाउ कार्यक्रम, ग्रासरुट लेभल फुटवल र क्रिकेट विकास कार्यक्रम, सामुदयिक विद्यालयका शुक्रबारीय सिप विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
उपमहानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रम, हाम्रो धनगढी, सफा धनगढी अभियान, हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ अभियान, उज्यालो धनगढी अभियानलाई निरन्तरता दिने भएको छ ।