। सिरहाको धनगढीमाई नगरपालिकामा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक रिक्सा चालकको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले शवसहित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
धनगढीमाई नगरपालिका–१० का ४५ वर्षीय कृष्णकुमार महतोको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले आइतबार धनगढीमाई बजार क्षेत्रमा शव बोकेको एम्बुलेन्स सडकमा तेर्स्याएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
स्थानीयका अनुसार महतो सिटी रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए ।
शुक्रबार साँझ उनी रिक्सा रोकेर दही किन्न सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीय स्तरमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारकै क्रममा शनिबार चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
ठक्कर दिने मोटरसाइकल चालक घटनापछि फरार रहेको र हालसम्म पक्राउ नपरेको भन्दै स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा न्याय सुनिश्चित गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक नरेश लिम्बुले अवरुद्ध राजमार्ग खुलाउन इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार पीडित पक्षसँग समन्वय र वार्ता भइरहेको छ भने फरार मोटरसाइकल चालकको खोजी कार्यसमेत भइरहेको छ।
राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गको दुवैतर्फ लामो सवारी जाम लागेको छ ।
घटनास्थलमा प्रहरी र स्थानीयबीच वार्ता जारी रहेको तथा सडक सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयले बजार क्षेत्रमा सीसीटीभी जडान गर्न समेत माग गरेका छन् ।