। महिनाौँदेखि बढ्दै गएको हिंसालाई रोक्ने उद्देश्यले हिजबुल्लाहसँग युद्धविराम सम्झौता लागू भएको भोलिपल्टै शनिबार इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। लेबनानको राज्य नियन्त्रित समाचार एजेन्सी ‘एनएनए’ ले यसबारे जानकारी दिएको हो।
इजरायलले इरान समर्थित समूह हिजबुल्लाहले रातभर गरेको क्षेप्यास्त्र प्रहारको जवाफमा आफूले यो कदम चालेको दाबी गरेको छ। एक इजरायली सैन्य अधिकारीका अनुसार हिजबुल्लाहले दक्षिणी लेबनानमा रहेका इजरायली सेनामाथि ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि आफूहरूले ‘हिजबुल्लाहका लक्ष्यहरू’ माथि आक्रमण गरेको बताए।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली लडाकु विमान र ड्रोनहरूले दक्षिणी लेबनान र बेका उपत्यकाका विभिन्न स्थानहरूमा आक्रमण गरेका छन्।
अर्कोतर्फ हिजबुल्लाहले इजरायलमाथि सयौँ पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै लगातार भइरहेका यस्ता आक्रमणहरूको ‘जवाफ नदिई नछोडिने’ चेतावनी दिएको छ। उसले इजरायली आक्रमण रोक्नका लागि दबाब दिन वासिङ्टनसँग आग्रह समेत गरेको छ।
इजरायली सेनाको रक्षात्मक कदम
एक इजरायली सैन्य अधिकारीले राजनीतिक नेतृत्वबाट युद्धविराम गर्नका लागि परिमार्जित निर्देशनहरू प्राप्त भएको र सेनाले आफैँ अघि बढेर कुनै आक्रमण नगरेको दाबी गरे।
उनका अनुसार, सेनाले इजरायलद्वारा घोषित सुरक्षा क्षेत्रभित्र मात्र रक्षात्मक रूपमा काम गरिरहेको छ।
ती अधिकारीका अनुसार विगत ४८ घण्टामा दक्षिणी लेबनानमा हिजबुल्लाहको आक्रमणबाट पाँच जना इजरायली सैनिक मारिएका छन्।
दक्षिणी लेबनानका केही भागहरूमा नियन्त्रण जमाएर बसेको इजरायली सेनाले हिजबुल्लाहका आक्रमणहरू युद्धविराम सम्झौताको बारम्बारको उल्लंघन भएको बताएको छ। उसले राजनीतिक निर्देशन अनुसार आफूहरू युद्धविरामप्रति प्रतिबद्ध रहेको तर इजरायली नागरिक वा सैनिकहरूमाथि हुने जुनसुकै आक्रमणको निर्णायक जवाफ दिइने स्पष्ट पारेको छ।
पुनः ब्युँतियो हिंसा
हिजबुल्लाहले पनि आफू युद्धविरामप्रति प्रतिबद्ध रहेको तर इजरायलले ‘भू-भाग कब्जा गर्ने वा आफ्नो नियन्त्रण क्षेत्र विस्तार गर्ने’ प्रयास गरेमा त्यसको प्रतिकार गर्ने जनाएको छ।
यस समूहका अनुसार इजरायली सेनाले रातभर दक्षिणी लेबनानको अलि अल–ताहेर पहाडी क्षेत्रमा घुसपैठ गर्ने प्रयास गरेको थियो। आफ्ना लडाकुहरूले इजरायली सेनासँग मुठभेड गरेपछि इजरायलले आफ्नो घोषित कार्य क्षेत्रभित्र र बाहिर दुवै ठाउँमा हवाई आक्रमण गरेको हिजबुल्लाहले दाबी गरेको छ।
हिजबुल्लाहका एक वरिष्ठ अधिकारीले इजरायललाई कब्जा गरिएको लेबनानी भूभागमा ‘स्वतन्त्र रूपमा आवतजावत गर्ने स्वतन्त्रता’ नदिइने बताए। उनले इजरायली सेना लेबनानमा रहेसम्म सशस्त्र प्रतिरोध कानुनी रूपमै जारी रहने थपे।
यो नयाँ हिंसाले युद्धविराम र यसै हप्ता घोषणा गरिएको व्यापक अमेरिका–इरान समझदारी दुवैको दिगोपनमाथि आशंका जन्माएको छ, जुन मुख्य रूपमा लेबनानमा शत्रुता अन्त्य गर्ने कुरामा निर्भर थियो।
विनाशकारी हवाई आक्रमण
एक स्थानीय अधिकारीका अनुसार इजरायलको सबैभन्दा घातक आक्रमण टायर जिल्लाको दक्षिणी सहर बरिसमा अवस्थित एक तीनतले आवासीय भवनमा भएको थियो । जसमा परी एकै परिवारका बुबा, आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको छ।
यसैगरी लेबनानी सेनाले कफररुम्मान-नबातीह सडकमा भएको अर्को इजरायली आक्रमणमा आफ्ना एक सैनिक मारिएको जनाएको छ।
एनएनएका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको केन्द्रीय बैंकको नबातीह शाखा पूर्ण रूपमा ध्वस्त पारेको छ। लेबनानको केन्द्रीय बैंकले सो आक्रमणले सिधै बैंकको भवनलाई निशाना बनाएको र यसबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको स्पष्ट पारेको छ।
इजरायलकी अरबी भाषाकी सैन्य प्रवक्ताले हिजबुल्लाहले आफ्ना शत्रुतापूर्ण गतिविधि र सम्झौताहरूको उल्लंघन बन्द गरेमा मात्र शान्ति कायम हुन सक्ने बताएकी छन्। उनले सुरक्षा क्षेत्रमा इजरायलको उपस्थिति नागरिकहरूलाई हानि पुर्याउन नभई खतराहरू हटाउन र हिजबुल्लाहको पूर्वाधार ध्वस्त पार्नका लागि मात्र भएको दाबी गरिन्।
‘हामीले रातभर विस्फोटको आवाज सुन्यौँ। युद्धविरामका कुराहरू सुनेर हामी निकै उत्साहित भएका थियौँ, तर यहाँ सबै कुरा पहिले जस्तै चलिरहेको छ,’ उत्तरी इजरायलका बासिन्दा ओफ्रि भाल्फरले भने, ‘तपाईंले यहाँ ठूला विस्फोटका आवाजहरू सुन्न सक्नुहुन्छ र त्यसका बाबजुद जीवन चलिरहेको छ। आशा गरौँ आगामी दिनहरू राम्रा हुनेछन्।’
मार्च २ यता ४ हजार भन्दा बढीको मृत्यु भएको लेबनानको दाबी
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि भएका इजरायली आक्रमणहरूमा स्वास्थ्यकर्मी, महिला र बालबालिकासहित ४,०५७ जनाको ज्यान गइसकेको छ। यद्यपि तीमध्ये कति जना लडाकुहरू थिए भन्ने कुरा खुलाइएको छैन।
अर्कोतर्फ इजरायली अधिकारीहरूले हिजबुल्लाहसँगको लडाइँमा अहिलेसम्म कम्तीमा ३२ सैनिक र चार सर्वसाधारण मारिएको बताएका छन्।
यसै हप्ता घोषणा गरिएको अमेरिका-इरान समझदारीले लेबनानसहित विभिन्न मोर्चाहरूमा सम्बद्ध पक्षहरू र उनीहरूका सहयोगीहरूद्वारा गरिने सैन्य अपरेशनहरू तत्काल र स्थायी रूपमा रोक्न आह्वान गरेको छ।
तर यस वार्तामा सहभागी नभएको इजरायलले भने ती प्रावधानहरूको विरोध गर्दै आएको छ। जसले लेबनानमा आफ्नो सैन्य अभियानलाई सीमित गर्न सक्छ। (रोयटर्स)