। वैदेशिक रोजगारीमा युरोपका देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले फरक फरक तीन घटनामा ती व्यक्ति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्घाखाची सिद्धिगंगा नगरपालिका–१ का २८ वर्षीय सन्तोष अधिकारी, दाङको फुलबारी नगरपालिका–८ का २९ वर्षीय हेमन्त केसी र सुनसरीको धरान उपमहानगरपालिका–११ का ४२ वर्षीय सुकदेव राई छन् ।
अर्घाखाचीका अधिकारीविरुद्ध ग्रीस पठाइदिन्छु भन्दै एक जना व्यक्तिसँग १० लाख लिएको आरोप रहेको प्रहरीले जनाएको छ ।
यस्तै अर्का व्यक्ति दाङका केसीले क्रोएसिया पठाइदिन्छु भन्दै एक व्यक्तिसँग १३ लाख ३० हजार लिएर सम्पर्कविहीन भएको आरोप छ ।
तेस्रो व्यक्ति धरानका राईविरुद्ध दुई जनासँग सर्बिया पठाइदिन्छु भन्दै १३ लाख लिएर ठगी गरेको आरोप रहेको एसपी शरतकुमार थापा क्षेत्रीले जनाएका छन् ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।