: मजारको सानो मोटरसाइकल पेट्रोलले भरिएका प्लास्टिकका कन्टेनरहरूले यति धेरै भरिएको छ कि बस्नका लागि मुश्किलले ठाउँ बाँकी छ । उनको पुरानो मोटरसाइकलमा ७० लिटर क्षमताका पाँच वटा कन्टेनर राखिएका छन्, जसको कुल तौल करिब २७२ किलोग्राम छ । तेलका कन्टेनरहरू उनको बाइकको दुवैतिर खतरनाक तरिकाले झुन्डिएका छन् र डोरीले बाँधिएका छन् । उनले यो इन्धन पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानको मस्तुंगमा रहेको खुला इन्धन बजारबाट खरिद गरेका हुन् । मजार त्यही बस्छन् ।
प्लास्टिकका कन्टेनरले भरिएका पिकअप ट्रकहरू त्यहाँ इन्धन बेच्न ल्याइन्छन्, जुन इरानबाट सीमा पार तस्करी गरेर ल्याइन्छ । इरानबाट पाकिस्तानमा पेट्रोलियम उत्पादनको अवैध तस्करी दशकौँदेखि भइरहेको छ, तर पछिल्ला महिनाहरूमा इरान–इजरायल युद्धका कारण यसमा वृद्धि भएको संकेत देखिन्छ । युद्धका कारण स्ट्रेट अफ होर्मुजबाट तेल आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ, जसले इन्धनको मूल्य बढाएको छ । यसले पाकिस्तानमा इरानबाट तस्करी गरेर ल्याइने सस्तो पेट्रोल र डिजेलको माग बढाएको छ ।
बलुचिस्तानका हजारौँ तस्करमध्ये मजार पनि इन्धनलाई अन्य खुला बजार र अनौपचारिक पेट्रोल पम्पसम्म पुर्याउँछन् । सुरक्षा कारणले यहाँ मजारको वास्तविक नाम प्रयोग गरिएको छैन । मजार पाकिस्तानको सिन्ध प्रान्तसम्म इन्धन पुर्याउन पृथ्वीका सबैभन्दा तातो क्षेत्रमध्ये एक मानिने ठाउँको ३५० किलोमिटरको यात्रा गर्न तयारी गर्दैछन् । बलुचिस्तानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्न सक्छ, जसले प्लास्टिकका इन्धन कन्टेनर फुल्ने र नरम हुने जोखिम बढाउँछ । यदि यात्राको क्रममा कन्टेनर फुटे वा ढक्कनबाट चुहावट भयो भने इन्धनमा आगो लाग्ने र विस्फोट समेत हुन सक्ने खतरा हुन्छ । यसरी तस्करहरू नियमित रूपमा ज्यान गुमाउने गरेका छन् ।
तेल रिफाइनरीहरूको सरकारसँग अपील
यहाँ अरू पनि धेरै जोखिम छन् । दशकौँदेखि बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बल र स्वतन्त्रताको माग गर्ने अलगाववादी विद्रोही समूहबीच द्वन्द्व चलिरहेको छ । जानकारहरूका अनुसार यस द्वन्द्वका कारण हजारौँ मानिस बेपत्ता भएका छन् । मजारले बीबीसीलाई भनेका छन्, ‘हामी यो काम त्यसैले गर्छौँ किनभने हाम्रोसँग अर्को विकल्प छैन । मौसम अत्यन्तै तातो छ, मूल्यहरू उच्च छन् र हामी दिनरात सडकमा हुन्छौं ।’
तस्करीको यो कारोबार कति ठूलो छ भन्ने अनुमान लगाउन कठिन छ । सन् २०२४ मा जापानी समाचार वेबसाइट निक्केई एसियाले एक रिपोर्टमा पाकिस्तानका खुफिया एजेन्सीहरूको लीक रिपोर्ट उद्धृत गर्दै प्रत्येक वर्ष करिब १ अर्ब डलर बराबरको इन्धन इरानबाट पाकिस्तान तस्करी हुने बताएको थियो । यस वर्ष मे महिनामा पाकिस्तानका पाँच प्रमुख तेल रिफाइनरीहरूले सीमा पार पेट्रोलियम उत्पादनको प्रवाह बढेको भन्दै सरकारलाई हस्तक्षेप गर्न पत्र लेखेका थिए ।
अलग रूपमा, यही महिनामा पाकिस्तानको तेल उद्योगको प्रतिनिधित्व गर्ने तेल कम्पनीहरूको सल्लाहकार परिषदले पनि सरकारलाई पत्र लेख्दै आधिकारिक पेट्रोलियम बिक्री २७ वर्षकै सबैभन्दा न्यून स्तरमा पुगेको र यसको एक कारण इन्धन तस्करीमा वृद्धि भएको जनाएको थियो ।
परिवारमा बच्चा र धेरै दाजुभाइ छन्
उनी भन्छन् कि तीन–चार महिना अघि खडेरीका कारण खेती बन्द भएपछि उनले इन्धन तस्करी सुरु गरेका हुन् । निक्केई एसियाका अनुसार पाकिस्तानमा मजार जस्ता करिब २४ लाख मानिस इन्धन तस्करीसँग जोडिएका छन् । पाकिस्तानमा इन्धन तस्करी अवैध छ । साना मुद्दामा जरिवाना र सवारी जफतदेखि ठूला मुद्दामा जेल सजायसम्मको व्यवस्था छ । तर बलुचिस्तानको क्वेटा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पूर्व अध्यक्ष फिदा हुसेन दाश्तीका अनुसार यो क्षेत्रको अर्थतन्त्रका लागि महत्वपूर्ण छ, किनकि यहाँ रोजगारीका अवसर निकै कम छन् ।
पढे–लेखेका मानिसहरू पनि यस काममा संलग्न छन् । पश्चिममा इरान र उत्तरमा अफगानिस्तानसँग सीमाना जोडिएको बलुचिस्तान पाकिस्तानको कुल भूभागको करिब ४४ प्रतिशत हो, तर यहाँ देशको केवल ६ प्रतिशत जनसंख्या बस्छ । खनिज स्रोतले धनी भए पनि यहाँको गरिबी स्तर विश्वका सबैभन्दा गरिब क्षेत्रहरूमध्ये पर्छ, जसले असन्तोष बढाएको छ ।
दाश्ती भन्छन्, ‘मानिसहरू विवश छन् र उनीहरूसँग अर्को बाटो छैन ।’ उनको भनाइमा पाकिस्तान सरकारले क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न अझ धेरै प्रयास गर्नुपथ्र्यो । उनी भन्छन्, ‘एमए डिग्री लिएको विद्यार्थी पनि अन्ततः यही तेल कारोबारमा लाग्छ ।’ इरफान, जसको नाम सुरक्षा कारणले परिवर्तन गरिएको हो, भन्छन् कि शारीरिक अपाङ्गताका कारण उनीसँग अर्को काम छैन ।
उनी पोलियोका कारण एक खुट्टा र एक हात कमजोर भएका व्यक्ति हुन् र महिनौंदेखि तस्करी गरिरहेका छन् । उनी डिजेल बोक्छन् किनकि पेट्रोलको तुलनामा यो बढी सुरक्षित हुन्छ र यसमा आगो लाग्ने सम्भावना कम हुन्छ । उनी भन्छन्, ‘म पेट्रोल बोक्न सक्दिनँ, किनकि यदि आगो लाग्यो भने के हुन्छ ? म उभिन सक्दिनँ, त्यसैले म पूरै जल्ने खतरा हुन्छ ।’