। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा अनुपस्थित भएका छन् ।
मन्त्री अनुपस्थित नभएपछि सांसदहरुले प्रश्न उठाए । ‘खुट्टा भाच्ने अभिव्यक्तिमा जवाफ दिनुपर्छ भनेर मन्त्री नआउनुभएको हो ?’ नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रश्न गरिन् ।
बैठकमा सभापति आशिष गजुरेलले मन्त्रीलाई जानकारी पटक-पटक गराएको बताए । धुलिखेलको एउटा कार्यक्रममा रहेको र फर्किरहेको जानकारी आएको उनको भनाइ छ । सम्बन्धित मन्त्रीको उपस्थिति हुनुपर्नेमा सबै सहमत रहेको उनको भनाइ छ ।
कांग्रेस सांसद भरतकुमार स्वारले प्रश्न गरे, ‘समितिमा मन्त्री नआएपछि हामीले हाम्रो कुरा कसलाई सुनाउने ?’ त्यसपछि सभापति गजुरेलले मन्त्री गम्भीर हुनुपर्नेमा आफ्नो पनि समर्थन रहेको बताए ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले केही दिन अगाडि नौबिसे-मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध रुखो अभिव्यक्ति दिएका थिए ।
पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे-मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’सम्मको अभिव्यक्ति दिएका थिए ।
सांसदहरुले मन्त्री खोजिरहेपछि सभापति गजुरेलले भने , ‘अर्को बैठक मन्त्री सहित बस्छ ।’