: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन स्थगित भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जेठ २८ गतेका लागि तय भएको प्रदेश अधिवेशन स्थगित गरेका हुन् । केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीद्धारा जारी सूचनामा अर्को निर्णय नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया स्थगन भएको उल्लेख छ । केसीले यसअघि मंगलबार (आज) का लागि तय भएको बारा जिल्ला अधिवेशन पनि स्थगित गरेका थिए ।
केसीले पार्टीको विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४९ बमोजिम आयोगलाई प्राप्त अधिकार प्रयोग गरी उक्त निर्णय गरिएको जनाएका छन् । केसीका अनुसार मधेस प्रदेशको अधिवेशन निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्नका लागि अधिवेशन स्थगित गरिएको हो । प्रदेश अधिवेशन स्थगन भएसँगै प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधि रोकिने उल्लेख छ ।
केसीले अधिवेशनको नयाँ मिति र संशोधित कार्यतालिका आयोगले निर्णय गरेर पछि सार्वजनिक गर्ने हुँदा अधिवेशनसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न अनुरोध समेत गरेका छन् । मधेसमा रास्वपाको पालिका र जिल्ला अधिवेशन निकै विवादित बनेको छ । अधिवेशनलाई लिएर पर्सा र सिरहामा कार्यकर्ताहरु कुटाकुटमा उत्रिएका थिए । विवादकाबीच पर्साको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भए पनि सिरहाको अन्यौलमै छ । मधेसका अन्य जिल्लामा पनि अधिवेशन हुन बाँकी छ । जिल्ला अधिवेशन नै हुने स्थिति नभए पनि प्रदेश अधिवेशन तत्कालका लागि स्थगित गरिएको हो ।