: यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत, जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गत डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले परम्परागत शैलीभन्दा वैज्ञानिक विधि अपनाएर आगामी गणना गर्ने तयारी भइरहेको जनाएको छ। विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार बाघको तुलनामा गैंडा गणना बढी जोखिमपूर्ण हुन्छ।
पौडेलका अनुसार गैंडा तथा बाघ गणना दुवै अत्यन्त खर्चिलो र जटिल काम हुन्। उनले भने, ‘ठूलो बजेट चाहिने भएकाले यसपटक गैंडाको गणना गर्न सकेनौं। बाघको गणना भने गरियो। एकै वर्ष दुवै प्रजातिको गणना गर्दा धेरै खर्च हुने भएकाले सम्भव भएन।’
कम्तीमा ४ वर्ष पुगेपछि बाघ परिपक्व हुन्छ भने गैंडालाई परिपक्व हुन ४ देखि ५ वर्ष लाग्छ। त्यसैले यी वन्यजन्तुको गणना ४//४ वर्षको अन्तरालमा गर्ने गरिन्छ।
आगामी दिनमा गैंडा गणनाको पुरानो शैली परिवर्तन गर्न लागिएको पनि पौडेलले बताए। उनका अनुसार गैंडा गणनाका लागि दिनभरि हात्ती चढेर फिल्डमा खटिनुपर्छ। चितवनमा मात्रै गणना गर्न कम्तीमा २५ दिन लाग्छ। ‘गणनाका क्रममा सुरक्षाको जोखिम पनि उत्तिकै हुन्छ। हात्तीले लात हान्न सक्छ, कहिलेकाहीँ रिसाएर अनियन्त्रित पनि हुन्छ। कम्तीमा ३० देखि ३५ वटा हात्ती बिहानैदेखि परिचालन गर्नुपर्छ। ती हात्तीलाई खुवाउनुपर्छ। माहुते, गणक र व्यवस्थापकसहित करिब सय जनाको टोली क्याम्प बनाएर बस्नुपर्छ,’ उनले भने, ‘कम्तीमा २५ दिनमा मात्रै गणना सकिन्छ। त्यसैले गैंडा गणनाका लागि ठूलो जनशक्ति र स्रोत आवश्यक पर्छ।’
पौडेलका अनुसार अब गैंडाको दिसा संकलन गरी त्यसबाट डीएनए परीक्षण गरेर गणना गर्ने विधि पनि अपनाउन सकिन्छ। ‘नयाँ कार्यविधि अनुसार गैंडाको दिसा संकलन गरेर डीएनए परीक्षणमार्फत सम्पूर्ण विवरण निकाल्न सकिन्छ,’ उनले भने। यस्तो विधि अपनाउँदा कम जनशक्ति र कम खर्चमा काम गर्न सकिने उनको भनाइ छ।
नेपालमा कति छन् गैंडा ?
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालका आवासीय प्रमुख घनश्याम गुरुङले धेरै वर्षदेखि ‘जिरो पोचिङ’ (शून्य चोरी–शिकार) वर्ष मनाइएकाले गैंडाको संख्या उल्लेख्य रूपमा बढिसकेको हुन सक्ने बताए। उनका अनुसार गैंडाको संख्या एक हजारभन्दा बढी पुगिसकेको हुन सक्छ। ‘मुख्य कुरा गैंडाको कोडिङ गर्ने काम गर्न सकेनौं। कोडिङ गरिएको भए गणना धेरै सहज हुन्थ्यो,’ गुरुङले भने। उनका अनुसार बाघको गणना गैंडाको तुलनामा धेरै सहज छ।
विभागलाई बाघ तथा गैंडा गणनामा डब्लूडब्लूएफले सहयोग गर्दै आएको छ। ‘बाघ गणना गर्न क्यामेरा ट्र्यापिङ (जडान) गरे पुग्छ। तर गैंडा भने एक/एक गरेर फिल्डमै पुगेर गन्नुपर्छ,’ गुरुङले भने।
विभागका महानिर्देशक पौडेलले बाघ गणनामा पनि चुनौती कम नभएको बताए। उनका अनुसार करोडौं रुपैयाँ पर्ने क्यामेरा खरिद गर्न कठिन हुने भएकाले विभिन्न संघ–संस्थाबाट उपलब्ध क्यामेरा प्रयोग गरिएको थियो। ‘पुराना क्यामेरा प्रयोग गर्नुपर्यो। देशभर क्यामेरा जडान गर्नुपर्ने भएकाले व्यवस्थापन चुनौतीपूर्ण थियो,’ उनले भने।
सन् २०२२ को गणना अनुसार नेपालमा ३ सय ५५ वटा बाघ थिए। यसपटक गणनाको फिल्ड कार्य सकिए पनि तथ्यांक विश्लेषणको काम जारी रहेको पौडेलले बताए।
पछिल्लो समय बाघका कारण मानव–वन्यजन्तु द्वन्द्व बढेको गुनासो पनि बढ्दै गएको छ। विभिन्न स्थानमा मानवीय तथा पशुधन क्षति भएका घटनाहरू बढेकाले अब बाघको संख्या बढाउनेभन्दा व्यवस्थापनमा केन्द्रित हुनुपर्ने सुझाव सरकारलाई दिइएको गुरुङले बताए। ‘४ वर्षअघि ३५५ वटा बाघ थिए। अहिले संख्या धेरै बढिसकेको हुन सक्छ,’ उनले भने।
गुरुङका अनुसार गैंडा र बाघको प्रभावकारी व्यवस्थापन नभए संरक्षणको उपलब्धि छोटो समयमै गुम्न सक्छ। ‘यी दुवै प्रजाति चोरी–शिकारको उच्च जोखिममा छन्। गैंडाको खाग र बाघको छाला, हड्डी तथा अन्य अंगको अवैध व्यापार हुने भएकाले चोरी–शिकारको खतरा सधैं रहन्छ,’ उनले भने।