। जसपा नेपालले लुम्बिनी प्रदेश सरकारद्वारा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराइएको विषयमा गम्भीर आपत्ति जनाएको छ । अहिर खारेज भएको दल जसपाबाट मन्त्री बनेका थिए ।
पार्टीका अनुसार सर्वोच्च अदालतले ‘जसपा’लाई अवैध ठहर गर्दै जसपा, नेपालको वैधानिकता कायम गरिसकेको अवस्थामा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले अहिरलाई मन्त्री नियुक्त गरेका थिए ।
भण्डारीलालसहित नवनियुक्त पाँचजना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
प्रवक्ता मनिषकुमार सुमनद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा जसपा नेपालले अदालतको फैसलासँगै दल विभाजनसम्बन्धी सम्पूर्ण गैरकानुनी प्रक्रिया स्वतः खारेज भएको र सबै जनप्रतिनिधि तथा नेता–कार्यकर्ता कानुनी रूपमा जसपा, नेपालकै दलीय अनुशासनमा आबद्ध रहेको जनाएको छ।
मुख्यमन्त्री आचार्यले अदालतको फैसला र कानुनी अवस्थाबारे जानकारी गराइँदागराउँदै पनि जसपा नेपालको नाममा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराएको आरोप लगाएको छ।
जसपा नेपालले उक्त कदमले कानुनी राज्यको उपहास गरेको, लोकतन्त्रमाथिको नाङ्गो प्रहार गरेको उल्लेख गरेको छ ।
जसपा, नेपालले भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ। साथै, आफ्नो कानुनी र न्यायोचित मागलाई बेवास्ता गरिएमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा एमाले–कांग्रेस सत्ता गठबन्धनविरुद्ध अदालतको मानहानी र कानुनी उपचारका लागि सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।