मुख्य समाचार
जहाज चढ्नेले १३ लाखसम्मको गहना ल्याउन पाउने, स्थलबाट फर्किनेलाई ५ सयमाथि भन्सार
जहाज चढ्नेले १३ लाखसम्मको गहना ल्याउन पाउने, स्थलबाट फर्किनेलाई ५ सयमाथि भन्सार

। सरकारले वैदेशिक रोजगारीबाट जहाज चढेर नेपाल फर्किने र स्थलमार्गबाट फर्किनेलाई कानुनी रुपमै विभेदपूर्ण व्यवहार गर्दै आएको छ ।

अर्थ मन्त्रालयले हरेक वर्ष बजेट लगत्तै भन्सार ऐनलाई उदृत गर्दै नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुलाई आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुका सम्बन्धमा सूचना प्रकाशित गर्छ । चलनचल्तीको भाषामा त्यसलाई झिटीगुन्टा सम्बन्धी नियम भन्ने गरिन्छ ।




सो ऐनको प्रावधान अनुसार जहाज चढेर आउने नेपाली कामदारलाई जुन सुविधा दिइएको छ, त्यो सुविधा भारतमा काम गरेर स्थलमार्गबाट स्वदेश फर्किने नेपाली वा अन्य मुलुकबाट भारत हुँदै स्थलमार्गबाट स्वदेश फर्कने नेपालीले पाउँदैनन् ।

अर्थ मन्त्रालयका अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई जहाजबाट नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा रहेका सामान पूर्ण महसुल छुटमा ल्याउन दिइन्छ ।




जसमा आफूले प्रयोग गरेको लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारिरीक रुपमा अशक्त यात्रुले साहराका रुपमा प्रयोग गरेका वस्तु, भन्सार महसुल ऐन २०८१ को अनूसूची ४ को प्रकरण १ मा तोकिएको परिमाणसम्मको सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना ल्याउँदा महसुल छुट हुने छ ।

त्यसरी आउने महिलाले ५० ग्रामसम्म सुनका गरगहना तथा पुरुषले २५ ग्राम सम्मका सुनका गहना ल्याउन पाउँछन् । हालको मूल्यअनुसार ५० ग्राम सुनको मूल्य करिब १३ लाख रुपैयाँ हुन्छ ।

त्यस्तै, आफूले प्रयोग गरेको ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल एक–एक थान समेत महसुल नतिरी ल्याउन पाइनेछ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई लगातार १२ महिना काम गरी फर्केका नेपाली नागरिकले ल्याएको ६५ इन्चसम्मको टेलिभिजनमा भने महसुल छुट हुने व्यवस्था यसपटक आर्थिक ऐन संशोधनमार्फत गरिएको छ ।

यसअघिको प्रावधानमा भने सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका नागरिकलाई त्यसरी आउँदा जुनसुकै आकार र प्रकारको एक टेलिभिजनमा छुट थियो भने कोषमा सूचिकृत नभएकाको हकमा ३२ इन्चको टेलिभिजन मात्र छुटमा ल्याउन पाइने सुविधा थियो ।

मन्त्रालयका अनुसार यस्तो छुट सुविधा एक पटकका लागि मात्र उपलब्ध हुनेछ । यसबाहेक बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल, पेशागत यात्रुलाई आफ्नो पेशासँग सम्बन्धित वस्तुमा समेत महसुल छुट हुने छ । मदिरा एक लिटरसम्म र सात किलोग्रामसँगको खाद्य परिकारलाई समेट छुटको सूचीमा राखिएको छ ।

विदेशमा बसेका व्यक्तिले नेपालका आफन्त वा परिवारका सदस्यलाई ५ सय डलरसम्मको वस्तु पठाएमा लाग्ने महसुल लिई जाँचपास हुने छ । तर, सो मूल्य भन्दा महँगो वस्तुलाई सस्तो देखाई पठाएको पाइएमा भने सामान जफत, जरिबाना र महसुल तिराउन सक्ने प्रावधान राखिएको छ ।

यो साविकको नियममा समेत यथावत प्रावधान हो । चुरोट दुई सय खिल्लीसम्म वा सिगार ५० खिल्लीसम्म प्रचलित कानुन बमोजिम लाग्ने महसुल लिई जाँचपास गर्न सकिने छ । भारतीय सेना वा प्रहरीबाट निवृत्तिभरण पाउने गरी सेवानिवृत्त भई स्वदेश फर्किएको व्यक्तिले आफ्नो कागजात पेश गरेमा ५० हजारसम्मको निजी प्रयोगका वस्तुमा पूर्ण छुट हुने भएको छ । जुन साविकमा समेत सोही सीमा तोकिएको थियो ।

कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको प्रमाणित भएमा निज र परिवारको निजी प्रयोगका पुराना सबै किसिमका वस्तु स्वदेश फिर्ता ल्याउँदा महसुल छुट हुनेछ । सो सूचीमा सवारी साधन, हातहतियार र खरखजाना भने पर्दैनन् ।

तर, यो सबै सुविधा स्थलगत सीमा नाकाबाट आउनेको हकमा लागु नहुने सूचनामै उल्लेख छ । स्थलमार्गबाट आउने यात्रुका हकमा भने ५ सय रुपैयाँ सम्मका सामान ल्याउँदा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ भन्ने व्यवस्था छ । त्यसबाहेक भारतमा पढ्ने विद्यार्थीले एउटासम्म ल्यापटप, कम्युटर वा ट्याबलेट ल्याउन पाउने व्यवस्था पनि यसपटक गरिएको छ ।

वर्तमान सरकार बनेपछि भन्सार नाकाबाट एक सय रुपैयाँभन्दा बढीका सामान ल्याउने नागरिकलाई नै धरपकड सुरु गरेको थियो ।

सीमा क्षेत्रमा श्रमिकसहित बहुआयामिक क्षेत्रमा सक्रिय निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाश मडै कानुनले नै जहाज जढ्ने र स्थलमार्ग प्रयोग गर्नेलाई फरक व्यवहार गरेको बताउँछन् । व्यवहारमा धेरै धरपकड नहुने भए पनि कानूनी रुपमा नै विभेद हुनु गलत भएको उनको भनाइ छ ।

प्रशासनमा बसेको मानिसलाई जहिले मुड चल्यो, सोही बेला कडाइ गर्न सक्ने अवस्था रहेको उनी बताउँछन् । अहिले प्रशासनले खासगरी भन्सार छली गरी सामान ओसारपसार गर्ने पेशेवर व्यक्तिहरुमाथि कडाइ गर्ने गरेको भन्दै उनले भारतीय सीमावर्ती क्षेत्रमा लामो समय काम गरेर फर्किएका नेपालीमाथि पनि उस्तै व्यवहार हुन नहुने बताए ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारी सीमा क्षेत्रमा छोटो समयमा कयौं पटक आवतजावत गर्न सम्भव हुने र त्यसको रेकर्ड राख्ने प्रणाली वैज्ञानिक नभएका कारण यस्तो नियम राख्नु परेको बताउँछन् । भन्सार छलेर सामान ओसार्ने भरिया वा तस्करलाई समात्ने बहानामा भारतमा काम गरेर आफ्ना सर–सामान लिएर फर्किएका नेपालीमाथि समेत फरक व्यवहार हुन सक्ने जोखिम रहन्छ ।

किनकि आगामी आर्थिक वर्षका लागि तोकिएको सूचनामा ‘स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई ५ सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ’ भन्नेबाहेक रोजगारीबाट फर्कने व्यक्तिका लागि सहज हुने गरी कानुनले व्यवस्था गरेको छैन । बरु भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीले आफ्नो साथमा लगेको वा ल्याएको ट्यावलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थान महसुल नतिरी ल्याउन पाउँछन् ।

विदेश जाने नेपाली यात्रुका लागि कस्तो छुट ?

अर्थ मन्त्रालयका अनुसार ५० हजार रुपैयाँ मूल्यका सौगातका सामानमा महसुल लाग्दैन । तर, मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा बीजक र नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा सो सीमा नलाग्ने गरी तोकिएको छ । यसअघि पनि सोही नियम थियो । सम्बन्धित वायुसेवाले यात्रुलाई साथमा लैजान दिने तौलसम्मको नेपाली बजारमा खरिद गरिएका वस्तु समेत आवश्यक कागजात देखाएर वा आवश्यक शूल्क र महसुल तिरी लैजान पाउने व्यवस्था छ ।

गैरआवासीय नेपालीलाई वैदेशिक रोजगारीको सुविधाबाहेक अन्य नेपाली सरह सुविधा उपलब्ध हुने प्रवाधान छ । चालक दलका सदस्यले भने निजी वस्तुबाहेक अन्य कुनै पनि सामान ल्याउन पाउँदैनन् । स्थलमार्गबाट ओहोरदोहोर गर्नेको हकमा जम्मा ५ सय रुपैयाँसम्मको सीमामा छुट दिइएको छ । यसअघि सो सीमा १ सय रुपैयाँ थियो ।

विदेशी हवाई यात्रुको हकमा के छ सुविधा ?

हवाई यात्रुले आउँदा/जाँदा निजी प्रयोगका वस्तुमा छुट पाउने छन् । बाइनाकुलर एक थान, ट्यावलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा एक/एक थान लिएर आउन सक्ने सुविधा छ । पोर्टेबल म्यूजिक सिस्टम, लुगाफाटा, साइकल एक वटा, घडी एक वटा, सेलुलर मोबाइल र तोकिएको परिणामसम्मका सुन तथा चाँदीका गहना ल्याउन समेत छुट हुनेछ ।

पेशाकर्मीको हकमा आवश्यक वस्तु ल्याउन पाउने छुट रहेको छ । यो प्रावधानमा यस पटक पावर बैंक थप गरिएको छ । विदेशी यात्रुले एक लिटरसम्म मदिरा वा १२ क्यानसम्म बियर, २ सय खिल्लीसम्म चुरोट र टोबाको दुई सय ५० ग्रामसम्म छुट हुने गरी तोकिएको छ । जुन साविकमा समेत सोही प्रावधान थियो । १० हजार रुपैयाँ मूल्यसम्मका औषधि, ५ हजारसम्मका खानेकुरा र २ हजारसम्मका फलफूल समेत ल्याउन पाउने प्रावधान छ ।

विदेशी नागरिकले नेपालबाट सौगातका रुपमा लैजान पाउने हकमा नेपालमा विदेशी मुद्रा सटहीको प्रमाण देखाएर लैजान सक्नेछन् । यसबाहेक पनि थप ५ लाख रुपैयाँसम्मका वस्तु आफ्नो साथमा लैजान सक्ने प्रावधान छ । नेपाली बजारमा किनेको बीजक देखाएमा भने सो सीमा समेत लागु नहुने मन्त्रालयको सूचनामा उल्लेख छ ।

हवाई मार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुले ५ हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकार पत्र साथमा ल्याउन पाउने छन् ।

सो भन्दा बढी ल्याउनु परेमा भन्सार विन्दुमा घोषणा गरी ल्याउन पाइने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तर व्यवस्थापिका एघारौं सम्मेलन नौ बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै सकिएको छ । मुलुकको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात गर्दै संघ, प्रदेश र स्थानीय तहका कानून निर्माण र व्यवस्थापकीय कार्य प्रक्रियालाई सहकारिता, समन्वय र सहअस्तित्वको संवैधानिक सिद्धान्त अनुरुप प्रभावकारी कार्यान्वयन गर्ने गराउने उद्देश्यका साथ सम्मेलन सकिएको हो । ...
: मोरङ उर्लाबारीबाट दुई युवक खैरो हेरोइन (ब्राउन सुगर)लाई मलद्वारमा लुकाएको अवस्थामा पक्राउ परेका छन्। उर्लाबारी नगरपालिका–७ गोलचोकबाट प्रहरी टोलीले उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो । प्रदेश १–०२–०५० प १९६० नम्बरको मोटरसाइकलमा सवार उनीहरु शनिबार साँझ ६ बजेतिर शंकास्पद गतिविधि देखिएपछि रोकेर ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् । ‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले अनलाइनखबरसँग भने । लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन् । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, श्रम संस्कृति ...
: प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले गृह मन्त्रालयमा पुनः फर्कन सक्ने संकेत गरेका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयमा पुनः फर्र्किएपछि फोटो खिचाउन, खादा माला लगाउन पहिलो दुई महिनासम्म मन्त्रालयमा नधाउन अनुरोध पनि गरेका छन् । सम्पति छानबिन आयोगबाट सफाइ पाउने संकेत गर्दै उनले ...
। रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । स्वास्थ्य समस्याका कारण निवासमै आराम गरिरहेकाले प्रचण्ड सर्वदलीय बैठकमा नजाने भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सहसंयोजक माधव कुमार नेपाल र नेता वर्षमान पुन अनन्त सहभागी हुनेछन् । प्रचण्डलाई केही दिनअघि निमोनियाको समस्या देखिएको थियो । उनलाई अस्पताल ...