मुख्य समाचार
काठमाडौं उपत्यकामा फैलिँदै बर्डफ्लु
काठमाडौं उपत्यकामा फैलिँदै बर्डफ्लु

। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ ।

सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो संक्रमण ४ चैतमा कोशी प्रदेशको मोरङ सुन्दरहरैँचा–४ र उर्लाबारी–८ मा पुष्टि भएको थियो । सुरुवातमा कोशीमा देखिएको यो प्रकोप बिस्तारै देशका अन्य जिल्लामा फैलिन पुगेको हो ।

विभागले सार्वजनिक गरेको १८ जेठसम्मको अद्यावधिक तथ्यांक अनुसार कोशीमा संक्रमण केही मत्थर देखिए पनि काठमाडौं उपत्यकामा भने संक्रमणको दर अझै चुनौतीपूर्ण रहेको छ ।

उपत्यकाका कीर्तिपुर, चन्द्रागिरि, गोकर्णेश्वर, गोदावरी र सूर्यविनायक जस्ता क्षेत्रका व्यावसायिक लेयर्स फार्म र स्थानीय (लोकल) कुखुरामा समेत संक्रमण पुष्टि भएको छ ।

२० जेठ बुधबार भक्तपुर चाँगुनारायण नगरपालिकाका १ र ९ वडाका केही घरमा पालिएका कुखुरा एक्कासि मर्न थालेपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेशषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो ।

बर्डफ्लु पुष्टि भएका स्थानमा हालसम्म ४ लाख ७९ हजार १ सय ५६ कुखुरा नष्ट गरिएको विभागले जनाएको छ । यस्तै यस अवधिमा ६ लाख ९४ हजार १ सय ९३ अन्डा नष्ट गरिएको छ । १ लाख ८२ हजार ७ सय ७५ किलो दाना नष्ट गरिएको छ ।



विभागको तथ्यांक अनुसार सबैभन्दा बढी क्षति सुनसरीमा भएको छ, जहाँ २ लाख ८५ हजार ५ सय ६४ कुखुरा र ४ लाख २७ हजार ५ सय ८० अन्डा नष्ट गरिएको छ । यस्तै मोरङमा १ लाख १ हजार ८ सय ६० र काठमाडौंमा ३९ हजार ४ सय ८१ कुखुरा नष्ट गरिएको छ ।

उपत्यकाका अन्य जिल्ला र तराईका विभिन्न क्षेत्रमा भएको क्षतिको विवरण पनि चिन्ताजनक छ । विभागका अनुसार झापाका ४ वटा फार्ममा २० हजार ९० कुखुरा नष्ट गरिएको छ । त्यहाँ ९७ हजार ४ सय ५० अन्डा र १० हजार ४ सय ६५ दाना नष्ट गरिएको छ । यस्तै पोल्ट्रीको हब मानिने चितवनमा एउटा फार्म प्रभावित हुँदा १८ हजार ८ सय ६३ कुखुरा नष्ट गरिएको छ ।



ललितपुरका ३ वटा फार्ममा ९ हजार ७ सय ३० कुखुरा, ३ हजार १ सय ५० अन्डा र ३ हजार ७ सय किलो दाना नष्ट गरिएको विभागले जनाएको छ । त्यसैगरी बारामा एउटा फार्मका २ हजार ८ सय ६५ कुखुरा, ४ हजार १ सय २७ अन्डा र ३ हजार १ सय २५ किलो दाना नष्ट गरिएको छ ।

अन्य कम प्रभावित जिल्लामध्ये भक्तपुरका दुई फार्ममा ४ सय १७ कुखुरा नष्ट गरिएको छ । नवलपरासी पश्चिममा एउटा फार्मका २ सय ८ कुखुरा र १ सय किलो दाना तथा महोत्तरीमा एउटा फार्मका ७८ कुखुरा नष्ट गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यी जिल्लामा पनि संक्रमण थप फैलिन नदिन विभागले उच्च सतर्कता अपनाउँदै नियमित निगरानी र निसंक्रमणका कार्य जारी राखेको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले उपत्यका बाहिरका जिल्लामा संक्रमण केही नियन्त्रणमा आए पनि अहिले काठमाडौंका स्थानीय र व्यावसायिक फर्महरूमा संक्रमण देखिएको बताए ।

उनका अनुसार अहिलेको अवस्थामा कीर्तिपुर, चन्द्रागिरि, गोकर्णेश्वर, गोदावरी, सूर्यविनायक र भक्तपुरका केही क्षेत्रमा बर्डफ्लु भेटिने क्रम जारी छ ।

‘अहिले पछिल्लो समय काठमाडौं उपत्यकाका व्यावसायिक भन्दा पनि स्थानीय र अर्ध–व्यावसायिक कुखुरा पालिएका ठाउँमा संक्रमण बढ्दो छ,’ महानिर्देशक दाहालले अनलाइनखबरसँग भने, ‘हामीले टोली खटाएर यसलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं ।’

आधा अर्बको क्षति, किसानलाई राहत व्यवस्था

महानिर्देशक दाहालका अनुसार यस प्रकोपबाट हालसम्म करिब ५० देखि ६० करोड रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भइसकेको छ । सरकारले नियमावली २०७८ अनुसार किसानलाई लागत मूल्यको ७५ प्रतिशत अर्थात् करिब ४० करोड रुपैयाँ राहत स्वरूप दिनुपर्ने देखिएको महानिर्देशक दाहालले बताए । व्यावसायिक रूपमा रहेका फार्महरू नै नष्ट हुँदा अर्बौंको अप्रत्यक्ष क्षति भएको उनको भनाइ छ ।

बर्डफ्लुका कारण हालसम्म पोल्ट्री क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेकाले सरकारले पीडित किसानलाई राहत दिने तयारी समेत गरेको महानिर्देशक दाहालले बताए ।

‘प्रत्यक्ष रूपमा ५० करोडभन्दा बढीको क्षति भइसकेको देखिन्छ, हामीले लागत मूल्यको ७५ प्रतिशत क्षतिपूर्ति दिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘जसअनुसार करिब ४० करोड जति राहत किसानलाई वितरण गर्ने हाम्रो योजना छ ।’

उपचार र खोप छैन, नियन्त्रण नै एकमात्र विकल्प

बर्डफ्लुको हालसम्म कुनै प्रभावकारी खोप वा उपचार नभएकाले संक्रमण देखिएका कुखुरा नष्ट गर्नु नै एकमात्र उपाय रहेको विभागको भनाइ छ ।

विभागले संक्रमण देखिएका क्षेत्रमा द्रुत कार्य टोली परिचालन गरी कुखुरा र अन्य पन्छीजन्य सामग्री नष्ट गर्ने कार्य गरिरहेको छ । विभागले किसानलाई जैविक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

‘यसको उपचार र प्रभावकारी खोप छैन, त्यसैले संक्रमण देखिनासाथ नष्ट गरेर भाइरस फैलन नदिनु नै प्रमुख उपाय हो,’ डा. दाहालले भने, ‘हामीले टोलीहरू दिनरात परिचालन गरिरहेका छौं ।’

विशेषगरी अन्डाका क्रेटहरूको पुन: प्रयोग र फर्ममा सरसफाइ कमीले गर्दा संक्रमण फैलिएको पाइएकाले किसानलाई जैविक सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गर्न विभागले सचेत गराएको छ ।

विभागले संकलन गरेको पछिल्लो विवरणमा फार्म नजिकै जंगली चराहरू बास बस्ने अग्ला रुखहरू हुनु, सिमसार क्षेत्रको सामीप्यता र जैविक सुरक्षामा कमजोरी हुनुलाई संक्रमणको मुख्य जोखिम मानिएको छ ।

साथै, निसंक्रमण नगरी अन्डाका क्रेट पुन: प्रयोग र सुरक्षा उपायविना नै जनशक्तिले पन्छी र मासु चलाउनुले पनि संक्रमण फैलाउन मद्दत पुर्‍याएको विभागको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् । ५० शैय्याको ...
। मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै ...
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...