। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर काममा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् ।
अध्ययन बिदामा गएका प्राध्यापक काममा नफर्किंदा २ अर्ब रुपैयाँ बढी नोक्सानी भएको समाचार अनलाइनखरबमा प्रकाशित भएपछि त्रिविले छानबिन समिति बनाएको थियो ।
डा. जीवन काफ्लेको संयोजकत्त्वमा गठित समितिले ३९८ जना प्राध्यापकले बिदा दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको छ । अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकहरूलाई रकम फिर्ता गर्न त्रिविले सार्वजनिक सूचना निकालेपछि ४४ प्राध्यापकले ११ करोड फिर्ता गरेका हुन् ।
‘आजसम्म ४४ जनाले फिर्ता गर्नुभएको छ । ११ करोड रकम उठेको छ,’ छानबिन समितिका संयोजक काफ्लेले भने । छानबिन समितिले प्रतिवेदन बुझाएपछि काफ्लेकै संयोजकत्त्वमा त्रिविले हेल्क डेस्क बनाएको छ । यही डेस्कले रकम उठाउने र फिर्ता गर्नुपर्ने प्राध्यापकहरूलाई जानकारी गराउने काम गरिरहेको छ ।
संयोजक काफ्लेका अनुसार ६१ जना प्राध्यापकले रकम फिर्ताको लागि निवेदन दिएका छन् । ‘फिर्ता गर्न बाँकी भएकालाई सम्पर्कमा आउन अनुरोध गर्दछौं,’ काफ्लेले भने ।
अध्ययन बिदा लिएर पूरा समय काम नगरेका अहिलेका सांसदले समेत रकम फिर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले तलब–भत्ता फिर्ता गरेका छन् ।
यो पनि पढ्नुहोस
अध्ययन बिदामा विदेश गएका त्रिविका प्राध्यापक उतै लुक्छन्
कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा. आनन्द चन्द र गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित कांग्रेस सांसद जगत तिमिल्सिनाले रकम फिर्ता गरेका हुन् । सांसद हुनुअघि उपप्राध्यापक चन्द त्रिवि पाटन संयुक्त क्याम्पस र सहप्राध्यापक तिमिल्सिना व्यवस्थापन केन्द्रीय विभागमा कार्यरत थिए ।
चन्दले गत ३० चैतमा ४४ लाख ५६ हजार र तिमल्सिनाले गत २ वैशाखमा ३३ लाख ५० हजार रकम फिर्ता गरेका हुन् ।
त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ । तर बिदामा गएका धेरैजसो प्राध्यापक फर्किने गरेका छैनन् ।
अध्ययन बिदा सकिएपछि नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ । तर धेरैजसोले राजीनामा दिने रकम फिर्ता नगर्ने गरेको पाइएको छ ।
त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहितको अध्ययन बिदा दिने गरेको हो । तर अध्ययन बिदाको चरम दुरुपयोग हुने गरेको छ । जसका कारण त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी बेहोरिरहेको छ । फिर्ता गर्न नआउनेलाई एक पटक फेरि सार्वजनिक सूचना जारी गर्ने र नआएमा थप कारबाही गर्ने तयारी त्रिविको छ ।
मन्त्री सस्मित पोखरेल ।
सरकारको चासो
यस विषयमा सरकारले पनि चासो दिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
‘अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष अवसर हो । तर सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षतिसमेत पुर्याएको छ,’ मन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
यो पनि पढ्नुहोस
त्रिविको अध्ययन बिदा लिएर पूरा काम नगर्ने रास्वपा र कांग्रेस सांसदले गरे तलब-भत्ता फिर्ता
मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहित गरेको मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
‘छानबिन र कानुनी प्रक्रियाको परिणामस्वरूप रकम फिर्ता हुने क्रम तीव्र बनेको छ । यो उपलब्धि केवल रकम असुलीको विषय होइन, सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने र उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम हो,’ मन्त्री पोखरेलले भनेका छन् ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ गर्दै सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्धतासमेत जनाएका छन् ।