। नेपाली कांग्रेसले संसद्मा पेश भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले मनलाग्दी करका दरमा हेरफेर गरेको र यस्तो स्वीकार्य नरहेको बताएको छ ।
संसद्मा दर्ता भइसकेको विधेयकमा मन्त्रालयले आफूखुसी त्यसका प्रावधान चलाउने कार्य आर्थिक अपराध भएको आफूहरूको बुझाइ रहेको कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बताइन् ।
‘यो विषयमा अध्ययन गरिरहेका छौं । किर्ते भयो भन्ने प्रारम्भिक बुझाइ छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘संसदलाई नै छलेर करका दरमा मनलाग्दी हेरफेर गरिएको छ । यसबारे संसद्मै कुरा उठाइन्छ । राज्यविरुद्धको अपराध जस्तै देखिन्छ ।’
उनका अनुसार यो विषयमा कांग्रेसले आधिकारिक धारणा बनाएरै अगाडि बढ्न खोजेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा अर्थमन्त्रालयले पटक–पटक हेरफेर गरेर अर्थमन्त्रालयको वेबसाइटमा राखेको छ ।
संसद्मा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।
नेपाल सरकारले संसद्मा दर्ता गरेको आर्थिक विधेयक पृष्ठ ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो साइटमा राखेको यो लविधेयकको पृष्ठ संख्या ४४८ छ ।