: पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई चार लाख १५ हजार रुपैयाँ धरौटी तिरे रिहा गर्न आदेश दिएको छ । नागरिकता लिखत कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएका मेयर सिंहलाई मंगलबार नै अपरान्ह अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पर्साको ठोरी गाँउपालिका–२ स्थित ठोरी जंगल रिसोर्टबाट मंगलबार बिहान मेयर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतमा उपस्थित गराएको थियो । त्यसपछि मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीले मेयर सिंहको बयान लिएका थिए । बयान सकिएपछि उनीविरुद्ध रेग्मीकै इजलाशमा थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि रेग्मीको इजलासले झुठा विवरण पेश गरेर नागरिकता बनाएको कसुरमा १५ हजार र लिखतसम्बन्धी कसुरमा चार लाख रुपैंयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए ।
अदालतको आदेश अनुसार धरौटी रकम बुझाउने काम अहिले भइरहेको मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए । त्यसअघि थुुनछेक बहसका क्रममा जाहेरवाला वीरगञ्ज–३ का लियाकत अलीको तर्फबाट जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) मनोज गुप्ता , अधिवक्ताहरु दिनानाथप्रसाद चौरसिया, विनय सिंह, रमेशप्रसाद, चन्द्रिका पटेल, मेराज मियाँ र सन्तोष श्रीवास्तवले बहस पैरुवी गरेका थिए । यसैगरी मेयर सिंहको तर्फबाट भने अभिवक्ताहरु रामेश्वर सेढाईँ, कमलमोहन पोखरेल, प्रमोद प्रसाद, अरुण ज्ञवाली र शिवबहादुर कोइरालाले बहस गरेको श्रेस्तेदार मल्लिकले जानकारी दिए ।
नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले मेयर सिंहविरुद्ध जेठ १२ गते पक्राउ पूर्जी जारी गरेको थियो । पर्सा जिल्ला अदालतले नागरिकता लिखत सम्बन्धि मुद्दामा मेयर सिंह, उनकी कान्छी श्रीमती सिधन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोप थियो । जबकि मेयर सिंहले भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् ।
जेठ १२ गते पक्राउ पूर्जी जारी भएपछि त्यसको भोलिपल्टै जेठ १३ गते बिहान मेयर सिंह आफै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । तर त्यसदिन मुद्दाको चाप बढी भएका कारण आफूविरुद्धको मुद्दाको सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत प्रशासनबाट जानकारी पाएपछि उनी त्यस दिन अदालतबाट फर्किएका थिए ।
सरकारी वकिलको कार्यालयका अनुसार वीरगञ्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात कीर्ते र नागरिकता कीर्ते विषयमा उजुरी दिएका थिए । त्यहि उजुरीका आधारमा मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेकोमा पर्सा जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी गरेको थियो ।