: नेपालले साफ महिला च्याम्पियनसिपमा बुधबार सेमिफाइनल खेल खेल्दैछ । भारतको गोवामा भइरहेको यस प्रतियोगितामा नेपालले साविक विजेता टोली बंगलादेशलाई खेल्ने छ । नेपालले साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेशसँग खेल्ने छ ।
समूह ‘ए’ को विजेताको रुपमा नेपालले समूह ‘बी’ को उपविजेता बंगलादेशसँग खेल्ने छ । नेपालले सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्न अघिल्ला २ खेलहरुमा भन्दा निकै मेहनत गर्नुपर्ने प्रमुख प्रशिक्षक नवीन न्यौपानेले खेल अगाडि पत्रकारसँग बताएका छन् । ‘सेमिफाइनमा नेपालले समूह चरणको अघिल्लो खेलहरु भन्दा फरक खेल्न सक्नु पर्छ । हामीले त्यहीअनुसार योजना बनाएका छौं’, उनले भने ।
बंगलादेश साविक विजेता टोली भएकाले शारीरिक रुपमा नेपालभन्दा बलियो रहेको प्रशिक्षक न्यौपानेले बताए । ‘बंगलादेश बलियो टिम हो । बंगलादेशका खेलाडीहरु शारीरिक रुपमा निकै फिट छन् । भोलि (बुधबार) हुने खेलमा हामी निकै कम अवसर पाउने छौं । पाएको अवसर हामीले सदुपयोग गर्नुपर्छ । त्यो गरेन भने हामीलाई सेमिफाइनलमा निकै गाह्रो हुनेछ ।’
अघिल्ला खेलहरुमा नेपालले पाएको अवसर सदुपयोग गर्न सकेको थिएन । फिनिसिङ लाइनमा चुकेको नेपालले फाइनल खेल्ने हो भने त्यो गल्तीहरु गर्ने छुट हुने छैन । नेपालको टिममा मिडपिल्ड विशेषज्ञ मानिने प्रिती राई जोडिएकी छिन् । कम्बोडियामा लिग खेलिरहेकी प्रिती सेमिफाइन खेल्न भारत आइपुगेकी हुन् । उनी आएसँगै नेपाली टिममा आत्मविश्वास भरिएको प्रशिक्षक न्यौपानेले बताए । ‘प्रिती पनि हिजो (सोमबार) आइपुगेको छ । उनी आइपुगेसँगै सबै जना मानसिक रुपमा अझ बलियो बनेका छन्’, उनले भने ।
नेपालले सेमिफाइनलमा फरक अवधारणा र फरक रणनीति अपनाउने प्रशिक्षक नवीनले बताए । ‘पहिलो रोजाइमा हामीले श्रीलंकासँगको खेलमा भन्दा फरक हुनेछ । हरेक खेलाडीले शतप्रतिशत दिनै पर्छ । उसले शतप्रतिशत दिएन भने, प्रतिस्थापित खेलाडीले खेल्नपर्ने हुन्छ ।’ नेपाली टिमका खेलाडी सबै फिट रहेको उनले बताए । पहिलो खेलमा नेपाललाई गोवाको वातावरणमा घुलमिल हुन समस्या भएको उनले बताए । ‘खेलाडीहरुमा फिटनेसमा समस्या छैन । पहिलो खेलमा यहाँ वातावरणमा घुलमिल हुन गाह्रो भएको थियो । दोस्रो खेलबाट हामीलाई सहज भएको छ । सेमिफाइनलमा वातावरणको बहाना बनाउने ठाउँ नै छैन ।’
६ पटकको रजत पदक विजेता नेपाल फाइनलमा स्थान बनाउन चाहन्छ । यसका लागि नेपालले साविजक विजेता बंगलादेशलाई सेमिफाइनलमा रोक्नु पर्ने हुन्छ । बंगालदेश हाल परिवर्तनको चरणमा रहेको छ । पूराना खेलाडीभन्दा बढी टिममा नयाँ खेलाडी रहेका छन् । जसका कारण लगातार २ पटक उपाधि जितेको जस्तो बलियो बंगलादेशी टिम रहेको छैन । यस विषयमा नेपालका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘बंगलादेश रुपान्तरणको प्रक्रियामा भएको कारणले पहिलाको जस्तो बंगलादेशी टोली छैन । तर यो टिम पनि शारीरिक रुपमा निकै बलियो छ ।’