नयाँ सहर आयोजना निर्माण सुरु भएको डेढ दशक बित्दा यो आयोजनाअन्तर्गत ३४ किलोमिटर मात्र कालोपत्र सडक निर्माण गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गले जोड्ने १० सहर छानेर यसको निर्माण सुरु गरिएको थियो । अहिले सहरको संख्या बढाएर ५४ वटा पुर्याइएको छ । उक्त आयोजनाले बजेट अभावमा गति लिन सकेको छैन ।
बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार फागुन २०८२ सम्म नयाँ सहर आयोजनाअन्तर्गत ५१ किमि सडक ढलान गरिएको छ । १ सय ६८ किलोमिटर ढल र नाला निर्माण गरिएको छ ।
सुरुमा १० वटा सहर बनाउन २० वर्षमा साढे ३ खर्ब लाग्ने सरकारको अनुमान थियो । अहिलेसम्म १० सहरमा ८ अर्ब २९ करोड ९० लाख खर्च भइसकेको छ । बजेटकै कारण काम सुरु भएका सहरमा प्रगति कम देखिएको नयाँ सहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक सुमन सालिकेले बताए । ‘आयोजना पहिल्यै घोषणा गरिए पनि कार्यान्वयनमा ढिला गएको हो,’ उनले भने, ‘बजेट आएर काम सुरु भएको त १० वर्ष त भयो ।’
यसअघि आयोजना मात्र भएको र काम सुरु भइनसकेकाले त्यसको असर अहिले देखिएको सालिकेको भनाइ छ । ‘आर्थिक वर्ष २०७१/०७२ बाट बजेट आएर काम सुरु हुन थालेको हो,’ उनले भने, ‘त्यसभन्दा अघि आयोजना त थियो, बजेट थिएन ।’ आगामी आर्थिक वर्षको बजेटमा अझ मध्यपहाडी राजमार्गअन्तर्गतका १२ सहरलाई प्राथमिकीकरण गरेर काम गरिने उनको भनाइ छ । ‘सबै आयोजनामा बजेट नछरी १२ वटा आयोजनालाई बजेटको व्यवस्थापन गरेर केही वर्षभित्र राम्रै रिजल्ट आउने गरी काम गर्दै छौं,’ उनले भने ।
सडक विभागतर्फ चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ५६ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ । आर्थिक सर्वेक्षणअनुसार फागुन २०८२ सम्म कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ । गत वर्षको सोही अवधिसम्म १९ हजार १ सय ६३ किमि सडक कालोपत्र गरिएको थियो ।
चालु आवको फागुनुसम्म ७ हजार ६ सय २ किलोमिटर ग्राभेल र ८ हजार ७ सय ४८ किमि कच्ची सडक निर्माण भएको छ । यसअनुसार सडकको लम्बाइ ३६ हजार ८ सय ६ किमि पुगेको छ । जब कि असार २०८२ सम्म २० हजार ४३ किमि कालोपत्र, ७ हजार ५ सय ११ किमि ग्राभेल र ८ हजार ६ सय ७२ किमि कच्ची सडकसहित सडकको लम्बाइ ३६ हजार २ सय २६ किमि थियो । फागुनसम्म ७६ किमि कच्ची सडक (नयाँ सडक) निर्माण भएको छ । यस अवधिमा ९१ किमि ग्राभेल, ६३.३ किमि सडकको आवधिक मर्मत र १ सय २ वटा पुलको निर्माण सकिएको छ ।
चालु आर्थिक वर्षको केही महिनायता कालोपत्र सडकको काम प्रभावित बनेको सडक विभागका महानिर्देशक विजय जैसीले जनाए । ‘पश्चिम एसियामा जारी द्वन्द्वका कारण बिटुमिनको मूल्य बढेको र बजारमा अभाव देखिएकाले कालोपत्रको काम हुन सकेको छैन । कहींकतै मात्र फाट्टफुट्ट भएको छ,’ उनले भने, ‘बिटुमिनको चर्को मूल्यकै कारण लक्ष्यअनुसारको कालोपत्रको काम नहुने जोखिम बढेको छ ।’
आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनी बस, ट्रक, माइक्रो बस, कार, मोटरसाइकलसहित २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन् । फागुन २०८२ सम्म यसरी दर्ता हुने सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ । दर्ता भएका सवारी/यातायातका साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारका सिँचाइ आयोजनाअन्तर्गत सतह सिँचाइ १ हजार ४ सय ५० हेक्टर र जलाशय तथा लिफ्ट सिँचाइ १ सय २० हेक्टर गरी १ हजार ५ सय ७० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जसअनुसार २०८२ फागुनसम्म १५ लाख ८७ हजार ९ सय १० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । असार २०८२ सम्म १५ लाख ८६ हजार ३ सय ४० हेक्टर जमिनमा सिँचाई सुविधा विस्तार भएको थियो । मुलुकभर कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टरमध्ये २०८२ फागुनसम्म ४४.६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।
सिँचाइयोग्य जमिन २५ लाख ३६ हजार ३ सय १९ हेक्टरमध्ये फागुन २०८२ सम्म ६२.६१ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । २०८२ असारसम्म कृषियोग्य जमिनको ४४.५९ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.५४ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको थियो । सुरक्षित आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म ९४ हजार ६ सय ३१ फुसका घर (आवास) जस्तापाताले विस्थापन गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
फागुनसम्म कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट छ । यसमध्ये जलविद्युत् जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जाबाट १ सय ४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा उत्पादित १०६.२४ मेगावाट, तापीय (थर्मल प्लान्ट) ५३.४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधिमार्फत ६ मेगावाट बिजुली उत्पादन भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका विद्युत् परियोजनाबाट ६६१.५७ मेगावाट, विद्युत् प्राधिकरणका सहायक कम्पनीमार्फत ७४८.४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट २ हजार ५ सय ८७ मेगावाट गरी फागुन २०८२ सम्म ३ हजार ९ सय ९७ मेगावाट राष्ट्रिय ग्रिडमा जडान भएको छ । वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । सामुदायिक उपभोक्तासमेत विद्युत् उपयोग गर्ने ग्राहकको संख्या २०८२ फागुनसम्म ५८ लाख ५९ हजार पुगेको छ । असार २०८२ सम्म ५७ लाख ८ हजार थियो ।
विभिन्न आयोजना निर्माणबाट आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ६ सय ६६ मेगावाट विद्युत् थप उत्पादन भई नेपालको विद्युत् क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमान छ । चालु आर्थिक वर्षको फागुनसम्म निजी क्षेत्रका जलविद्युत् कम्पनीलाई थप २ हजार ४ सय मेगावाट जडित क्षमता बराबरको १५८ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र दिइएको छ । यससँगै २०८२ फागुनसम्म २ सय २५ आयोजनाको १० हजार ६ सय २९ मेगावाट जडित क्षमता बराबरको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
काठमाडौं उपत्यकाको सार्वजनिक स्थल र सरकारी अस्पतालमा गरेर ३१ वटा वाटर एटीएम जडान गरिएको छ । गत फागुनसम्म काठमाडौं उपत्यकाको सार्वजनिक स्थल, सरकारी अस्पताल लगायतका विभिन्न ३१ स्थानमा वाटर एटीएम जडान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा वर्षात्को पानी संकलनसम्बन्धी कार्यक्रमबाट काठमाडौं उपत्यकाभित्रका थप ३ स्थानमा वर्षात्को पानी संकलन गर्ने प्रविधि जडान गरिएको छ । यसले गर्दा ९ सय जनसंख्यामा खानेपानीको सेवा पुगेको छ ।
उपत्यकाभित्र २ सय ६५ सरकारी विद्यालय, ४९ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४ सय ३ स्थानमा वर्षात्को पानी संकलन प्रविधि जडान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । फागुन २०८२ सम्म ९७ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ ।