राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगकी सदस्य लिली थापा नेतृत्वको समितिले कार्कीले दिएको अभिव्यक्तिका आधारमा उनलाई अनुसन्धान गर्न सिफारिस गरेको हो । कार्कीले प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई आधार बनाउँदै उनले पनि प्रदर्शनलाई उक्साउन भूमिका खेलेको हुन सक्ने भन्दै आयोगले अनुसन्धानका लागि सिफारिस गरेको हो ।
आयोगले कार्कीसहित तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको नाम पनि अनुसन्धान गर्नुपर्ने सूचीमा राखेको छ। उनीहरू पनि जेन-जी आन्दोलनको समयमा सडकमा पुगेर अभिव्यक्ति दिएको भन्दै आयोगले अनुसन्धान गर्न सिफारिस गरेको हो ।
जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्कीको संयोजकत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले गत फागुन २४ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो ।