: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको वैठकको शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिंदै मन्त्री चौधरीले चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको जानकारी गराएकी छिन् । उनले सरकारले लागत साझेदारीका आधारमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको समेत जानकारी गराएकी छिन् । गोदाममा भण्डारण रहेको र नेपालमा आयात हुँदै गरेको गरेर हाल एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।
चालु आर्थिक वर्षको असारसम्म कूल ५ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने समेत मन्त्री चौधरीले जानकारी गराएकी छिन् । उनले यो अहिलेसम्मकै बढी परिमाण समेत हुने दावी गरिन् । मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या, मलको मूल्यमा उच्च वृद्धि भएको समेत मन्त्री चौधरीले बताएकी छिन् ।
यस परिस्थितिमा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी मल आपूर्तिका लागि सम्झौता भइसकेको पनि मन्त्री चौधरीले बताएकी छिन् । उनले अझै एक लाख ८७ हजार मेट्रिक टन रासायनिक मल आउन नसकिरहेको पनि जानकारी गराइन् । यस वर्षको धान रोपाइको समयमा मलको अभाव नहोस भनेर मन्त्रालयको विशेष ध्यानाकर्णष भएको समेत बताइन् । उनले मल आपूर्तिका लागि सम्झौता भएका कम्पनीहरुलाई आपूर्तिमा समस्या नआओस् भनेर पटक–पटक ताकेता समेत गरिरहेको बताइन् ।