: पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले नै राष्ट्रलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनको ३५औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले नेपाली जनता प्रधानमन्त्रीको सम्बोधन सुन्न आतुर रहेको बताए। उनले भने, ‘प्रधानमन्त्रीले राष्ट्रलाई देशको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट दृष्टिकोण दिनुपर्छ। सम्पूर्ण नेपाली जनता त्यो सुन्न आतुर छन्।’
लोकतान्त्रिक व्यवस्थामाथि विश्वभर चुनौती बढिरहेको उल्लेख गर्दै यादवले नेपालमा पनि लोकतान्त्रिक मूल्य र संस्थालाई सुदृढ गर्न आवश्यक रहेको बताए। ‘संसद सरकार, न्यायालय र राष्ट्रपतिको संस्थाबीच समन्वय भएर मात्रै लोकतान्त्रिक प्रणाली सफल हुन्छ,’ उनले भने, ‘संसदीय व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी हो, प्रधानमन्त्री भएको दुई महिना भइसक्यो, प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने, म पूर्वराष्ट्रपति, अहिले नागरिक छु, म आशा गरिरहेको छु कि हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्नुहुन्छ।’
संघर्षका उपलब्धिबारे र मुलुकलाई कता लैजाने भन्नेबारे प्रधानमन्त्रीले सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘प्रधानमन्त्रीको दृष्टिकोण सुन्नका लागि सम्पूर्ण नेपाली जनता आतुर छन्, उहाँको मुखबाट सुन्नुपर्ने, उहाँले देश र संसदलाई अहिलेसम्म सम्बोधन गर्नुभएको छैन। आशा गरौं, हाम्रो गणतन्त्र संस्थागत हुँदै जान्छ। युवा संसद र सरकारमा आएका छन्, यो नेपाली जनताको एक सय वर्षको योगदानको उपलब्धि हो, यसलाई संस्थागत गरेर कसरी अघि बढाउने उहाँहरूले राम्रोसँग सोच्नुहोस्,’ उनले भने।
पूर्वराष्ट्रपति यादवले संविधान समयानुकूल परिमार्जन हुँदै दीर्घकालसम्म कायम रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताए।
यादवले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै नयाँपुस्ताले प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताए। उनले भने, ‘जनताले ठूलो आशाका साथ नयाँ शक्तिलाई समर्थन गरेका छन्। अब यो व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही बाटोमा लैजानुपर्ने जिम्मेवारी उनीहरूको पनि हो।’