मुख्य समाचार
ठेक्का तोडिएको करिब ६ महिनापछि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको नयाँ ठेक्का लगाउने तयारी
ठेक्का तोडिएको करिब ६ महिनापछि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको नयाँ ठेक्का लगाउने तयारी

: ठेक्का तोडिएको करिब ६ महिनापछि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको नयाँ ठेक्का लगाउने तयारी भएको छ। यसै साता नयाँ ठेक्काका लागि टेन्डर आह्वान गर्ने तयारी भइरहेको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ। ‘आयोजनाको ठेक्का प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ र आउँदो सातासम्म यसको प्रक्रिया अगाडि बढ्नेछ।

यसपटक ‘डबल इन्भेलप प्रोसेस’ बाट अगाडि बढ्ने तयारी भइरहेको छ, जसको अन्तिम निर्णय भोलि वा पर्सिभित्र हुँदै छ,’ विभागका महानिर्देशक मित्र बरालले अन्नपूर्णसँग भने।

आयोजना खरिद प्रक्रियामै रहेकाले यकिन लागत नखुलाइए पनि यसको लागतमा खासै थपघट वा भेरिएसन नभएको बताइएको छ। आयोजनाका मुख्य संरचनाहरू (हेडवक्र्स, पावर हाउस, सुरुङ आदि) पुरानै स्वरूपअनुसार हुने भन्दै महानिर्देशक बरालले यसमा पहिलेका समस्याहरूलाई सम्बोधन गर्न सामान्यबाहेक कुनै ठूलो प्राविधिक परिवर्तन नगरिएको बताए। यस प्याकेजका लागि करिब २० अर्ब रुपैयाँको स्रोत सहमति रहेको छ।



सुरुवाती गुरुयोजनाअनुसार यो आयोजना आर्थिक वर्ष २०८२/०८३ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, सुरुङ निर्माण कार्य समयमै सकिए तापनि बाँध, विद्युत् गृह र अन्य संरचना निर्माणमा भएको ढिलाइका कारण समग्र आयोजनाको म्याद एकपटक थप/परिमार्जन गरी आर्थिक वर्ष २०८५/०८६ सम्म पुर्‍याइएको छ। यो ठेक्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र अर्थात् ग्लोबल टेन्डरमार्फत हुनेछ। सूचना प्रकाशन र मूल्यांकनको प्रक्रिया सहज रूपमा अघि बढेमा ठेक्का सम्झौता टुंग्याउन करिब ३ देखि ४ महिना लाग्ने अनुमान रहेको बराल बताउँछन्। निर्माण कार्यका लागि भौगोलिक अनुकूलता र वर्किङ सिजनलाई ध्यानमा राख्दै करिब ४ वर्ष (चार सिजन) को समयसीमा दिने तयारी भइरहेको छ।

नयाँ सरकार गठनसँगै यो आयोजना सरकारको प्रतिबद्धतामा परेको छ। ‘यो सरकारको प्राथमिकतामा परेको राष्ट्रिय गौरव वा महत्त्वपूर्ण आयोजना भएकाले मन्त्रालय र सरकारका तर्फबाट द्रुतमार्गबाट सहजीकरण भइरहेको छ। पूर्वनिर्धारित टाइमलाइनभन्दा केही प्राविधिक र कानुनी उल्झनका कारण सामान्य ढिलाइ जस्तो देखिए पनि, निर्धारण गरिएको समयसीमा भित्रै काम टुंग्याउने गरी तीव्र रूपमा काम भइरहेको छ,’ बरालले भने।

राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत दोस्रो प्याकेज (बाँध र विद्युत्गृह निर्माण) को ठेक्का २०८२ कात्तिक २४ गते (मंसिर ८ गतेबाट औपचारिक रूपमा प्रभावी हुने गरी) तोडिएको थियो। जेन–जी आन्दोलनपछि बनेको सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए।

किन रद्द गरिएको थियो सम्झौता ?
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो प्याकेज निर्माणका लागि पटेल–रमण जेभीसँग २०७९ सालमा औपचारिक सम्झौता भएको थियो। आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायत सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँग ठेक्का सम्झौता गरिएको थियो। आयोजना निर्माण कार्य सम्पन्न गर्नका लागि ५५ महिना (साढे ४ वर्ष) को अवधि निर्धारण गरिएको थियो। सुरुवाती सम्झौताअनुसार यो ठेक्काको काम असार २०८४ (जुलाइ २०२७) भित्र सम्पन्न गरिसक्नुपर्ने थियो।

निर्माण कम्पनीले यो ठेक्काको करसहित १४ अर्ब ८ करोड रुपैयाँ लागतमा पाएको थियो, जुन सरकारको अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम थियो। अत्यन्तै सुस्त कार्यप्रगतिको कारण देखाउँदै करिब ६ महिनाअघि सम्झौता रद्द गरिएको हो। निर्माण अवधि करिब ६१ प्रतिशत (२ वर्षभन्दा बढी समय) सकिँदा समेत आयोजनाको भौतिक प्रगति करिब ११ प्रतिशत मात्रै सीमित थियो। निर्माण व्यवसायीले माघ ०७९ बाट काम सुरु गर्यो‍।

०८४ असारमा काम सक्नुपर्ने बेलासम्म १० प्रतिशत मात्रै काम गर्‍यो। जबकि, ठेकेदार कम्पनीलाई २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको थियो। यस्तै, आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ खन्ने काम २०८१ वैशाखमै सकिएको थियो। तर, पानी डाइभर्ट गर्नका लागि मुख्य संरचना मानिने बाँध र विद्युत्गृहको काम भने अघि बढ्न सकेन। आयोजना कार्यालय, परामर्शदाता र मन्त्रालयले कार्यप्रगति बढाउन तथा काममा सुधार गर्न पटक–पटक निर्देशन र सचेत गराउँदासमेत ठेकेदार कम्पनीले त्यसलाई बेवास्ता गरेको र कामप्रति तदारुकता नदेखाएको विभागको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयु) तथा यसका सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए। उक्त ...
: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको ‘कानेखुसी’ ले संसद अगाडि बढ्न नसक्ने आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको वैठकको दोस्रो चरणमा बोल्दै कांग्रेस सांसद निश्कल संसदको गरिमामाथि प्रश्न उठाएका हुन् । सांसद राईले क्रमभङ्गताले संसदको गरिमा अझ बढाउँछ जस्तो लागे पनि त्यस्तो नभएको टिप्पणी गरे । उनले आफ्नो पार्टीको सांसद गीता स्याङतानलाई फोटो खिचेको निहुँमा ...
: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा उपस्थित हुने भएका छन्। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले एक हप्ताभित्र प्रधानमन्त्री शाह संसदमा उपस्थित हुने जानकारी दिए। 'एक हप्ताभित्र उहाँ संसदमा आउनुहुन्छ,' उनले भने। तर, प्रधानमन्त्री शाहले संसदमा उपस्थितमात्र हुने हुन् वा सम्बोधन पनि गर्ने हुन् भन्ने विषय पार्टी महामन्त्रीसमेत रहेका बुर्लाकोटीले खुलाएनन्। यसैबीच विपक्षी दलका ...
: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म सो प्रसारण लाइन जोडिनेछ । बालाजु सवस्टशेनदेखि सिंहदरबारसम्म जोडिने सो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ ...
: झापामा हावाहुरी र चट्याङले ठूलो क्षति पुर्‍याएको छ । गए राति वर्षासहितको हावाहुरी तथा चट्याङका कारण झापाका विभिन्न स्थानमा घर, कृषि फार्म, उद्योग, विद्युत् संरचना, अन्नबाली तथा सवारीसाधनमा व्यापक क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार जिल्लाका गौरादह, हल्दिबारी, बिर्तामोड, दमक तथा मेचीनगर क्षेत्रमा गरी लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको ...